+
+

आठौं स्पोर्टस् अवार्डमा इन्द्रा मल्ललाई लाइफटाइम अचिभमेन्ट सम्मान

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २३ गते ११:४७

२३ वैशाख, पोखरा । पोखरामा हुने ‘आठौं पोखरा स्पोर्ट्स अवार्ड २०८०’मा लाइफटाइम अचिभमेन्ट अवार्ड एथ्लेटिक्सकी इन्द्रा मल्ललाई अर्पण गरिने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना बर्सेनि गर्दै आएको अवार्डमा एथ्लेटिक्स खेलाडी मल्ल सम्मानित हुन लागेकी हुन् ।

मञ्चका महासचिव राजाराम पौडेलले मल्ललाई वैशाख २८ गते दिउँसो ३ बजेबाट पोखरा सभागृह हलमा सुरु हुने भव्य कार्यक्रममा चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्ला सहित सम्मान अर्पण गरिने जानकारी दिए ।

यसअगाडि मञ्चले यो अवार्डबाट कृष्ण थापा, खड्गबहादुर रानाभाट, डा.वीरेन्द्रसिंह गुरुङ, चित्र बहादुर गुरुङ, आनन्द रञ्जित, गणेशबहादुर भट्टराई र विद्या प्रसाद मर्सानीलाई सम्मान अर्पण गरिसकेको छ ।

अथक इन्द्रा !

४० वर्षदेखि खेलकुदमा जीवन समर्पित गरेकी इन्द्रामा अहिलेपनि उत्तिकै जोश छ । महिला चुलोचौकामा सीमित हुने समयमा पनि उनी खेलकुदमा लागिनन् मात्रै आफ्नो अथक यात्रा जारी राखिन् ।

०२४ सालमा भारतको अम्बला केन्ट पञ्जावमा बुबा स्व. टीकाबहादुर मल्ल र आमा लक्ष्मीकुमारी मल्लको कोखबाट जन्म लिएकी इन्द्रा सानैदेखि खेलकुदप्रति रुचि राख्थिन् । लाहुरे बुबाका कारण भारतमै कक्षा ७ सम्म अध्ययन गरेकी उनी विद्यालयस्तरीय प्रतियोगिताहरुमा भाग लिइरहन्थिन् ।

पछि पुर्ख्यौली थलो स्याङ्जा पुतलीबजार फर्किइन् र त्यहींको कोल्मा बराह माविमा कक्षा ८ बाट अध्ययन गर्न सुरु गरिन् । त्यहाँ पनि उनले विद्यालयमा हुने सानाठूला खेलकुद प्रतियोगिताहरुमा भाग लिन छोडिनन् ।

इन्द्राको बुबा स्व टीकाबहादुर मल्ल भारतीय पल्टनमा काम गर्थे । उनी त्यतिबेला पल्टनमा बक्सिङका नामुद खेलाडी थिए । इन्द्राका बुबामात्र होइन, मामा यामबहादुर शाहीपनि बक्सिङका खेलाडी थिए ।

सानी इन्द्रालाई तिनै बुवा र मामाको खेलाडी जीवनले राम्रै प्रभाव पार्‍यो । फलस्वरुप उनले क्याम्पसमा जीवनमा पनि खेलकुद छोडिनन् । उनले एथ्लेटिक्ससहित भलिबल, बास्केटबल, टेबल टेनिसलगायत खेल पनि खेल्थिन् । तर, विशेष रुचि एथ्लेटिक्समै थियो ।

खास गरेर उनी एक सय मिटर, दुई सय मिटर, चार सय मिटर दौडमा सधैं प्रथम हुन्थिन् । पछि १ हजार ५ सय मिटर, ३ हजार मिटर, ५ हजार मिटर र १० हजार मिटरको धाविका बनिन् ।

खेलकुदका लागि त्यागैत्याग !

जीवन नै खेलकुदका लागि समर्पित गरेकी इन्द्राले खेलकुदका लागि धेरै त्याग गरेको बताउँछिन् । खेल खेल्नकै लागि कहिले पढाइ त्यागिन् त कहिले स्थायी जागिर ।

वि.स.२०५६ सालतिर इन्द्रा एम.एड.अध्ययन गरिरहेकी थिइन् । त्यहीबेला उनलाई भारतमा नेसनल इन्स्टिच्युट अफ स्पोर्टस् (एनआईएस)मा डिप्लोमा गर्ने अवसर आयो । पढाइ र खेलमध्ये एक रोज्नुपर्ने भयो ।

उनी दुविधामा परिनन्, सिंधै खेलकुद रोजिन् ।

त्यतिमात्र होइन, उनले शिक्षिकाको स्थायी जागिर छाडेर खेलकुद राजेको इतिहास पनि छ । ०४० सालदेखि अस्थायी र ०४५ सालदेखि प्राविको स्थायी शिक्षिका बनेकी उनले २०५० सालमा आएर शिक्षिकाको स्थायी जागिर कि खेलकुदमा सहायक प्रशिक्षकको अस्थायी जागिर छान्ने दिन आयो ।

यसमा पनि उनले खेलकुद नै रोजिन् ।

तेस्रो साफका लागि उनी वाल्किङ १० किलोमिटरमा प्रथम हुँदै नेपालबाट छनोट भएकी थिइन् । तर, दुर्भाग्यवश ! अन्तिम समयमा आएर सो स्पर्धा नै रद्द हुन पुग्यो ।

आफ्नो समयकी उम्दा खेलाडी इन्द्राले कयौं दर्जनौं पदक जितेकी छन् भने राष्ट्रिय रेकर्ड पनि कायम गरेकी छन् । चौथो राष्ट्रिय खेलकुद प्रतियोगिताको १० किलोमिटर वाल्किङमा स्वर्ण पदक जितेकी उनले ३२ औं राष्ट्रिय च्याम्पियनसिपमा पनि प्रथम स्थान हासिल गरिन् ।

अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्डसहित वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने मञ्चका अध्यक्ष दीननाथ बरालले जनाए । खेल क्षेत्रमा ऊर्जा थप्न मञ्चले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्ट्स अवार्ड गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?