
२३ वैशाख, काठमाडौं । सिद्धार्थ हस्पिटालिटीको व्यवस्थापनमा सुर्खेतको विरेन्द्रनगरमा सञ्चालन भइरहेको सिद्धार्थ होटल कर्णाली प्रदेशकै पहिलो चारतारे होटल बनेको छ ।
पर्यटन विभागले वीरेन्द्रनगरमा रहेको सिद्धार्थ होटललाई चार तारा होटलमा स्तर वर्गीकरण गरेको हो ।
सिद्धार्थ होटललाई पर्यटन ऐन, २०३५ तथा होटल, लज, रेस्टुराँ, रिसोर्ट, बार तथा पथ प्रदर्शक नियमावली, २०३८ मा व्यवस्था भए अनुसार चार तारा होटलमा स्तर वर्गीकरण गरी यो इजाजतपत्र दिएको विभागले जनाएको छ ।
होटलले यसअघि खाद्य व्यवस्था तथा गुणस्तर विभागबाट उत्तम वर्गको समेत वर्गीकरण पाएको होटलले जनाएको छ । यस होटलमा ४ स्विट, ४५ डिलक्स र १५ वटा स्ट्यान्डर्ड प्रकृतिका कोठा छन् । ४ वटा कन्फ्रेन्स हल, ६ सयभन्दा बढी क्षमताको ब्याङ्क्वेट हल, पुल बार रेस्टुरेन्ट समेत यस होटलमा छन् । फिट्नेस क्लव, स्पा, साउना, स्टिम, जीम, स्विमिङ पुल, ब्युटी पार्लर लगायतका सुविधा समेत होटलमा रहेको कम्पनीले जनाएको छ ।
२०७२ सालदेखि सञ्चालनमा आएको यस होटलमा ७० जनाले प्रत्यक्ष रोजगारी पाइरहेको क्षेत्रीय निर्देशक केशव न्यौपानेले जानकारी दिए ।
२६ वर्षअघि टिकापुरबाट व्यवसाय सुरु भएको सिद्धार्थ हस्पिटालिटीले लक्जरी रिसोर्ट, पाँच तारे होटल र विभिन्न स्ट्यान्डर्डका होटल तथा क्याफे गरी देशैभर सेवा विस्तार गरेको छ ।
पूर्वमा विर्तामोडदेखि पश्चिममा महेन्द्रनगरसम्म फैलिएको यस हस्पिटालिटीले २ हजारभन्दा बढी जनशक्तिलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारी दिइरहेको छ ।
प्रतिक्रिया 4