+
+
निर्देशक दिनेश राउतसँग संवाद :

‘सामाजिक विषय उठाउँदैमा त्यो फिल्म बौद्धिक र गम्भीर भन्ने चाहिं हुँदैन’

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २३ गते १४:४९

काठमाडौं । निर्देशक दिनेश राउतसँग १७ वर्ष लामो फिल्म करिअरको अनुभव छ । ‘आइ एम सरी’बाट निर्देशन थालेका उनको पछिल्लो फिल्म ‘पुजार सार्की’ जेठ १० बाट प्रदर्शन तयारीमा छ । सुरुवाती दिनमा रोमान्टिक फिल्म निर्देशन गरेका राउत पछिल्लो समय गम्भीर सामाजिक यथार्थवादी फिल्म निर्माणमा सक्रिय छन् ।

‘प्रकाश’ र ‘प्रसाद’ उनी निर्देशित चर्चित फिल्म हुन् । ‘सेल्फी किङ’को निर्माताको रुपमा उनले प्रविधि र स्टारडमले ल्याएको अन्तरविरोधको कथा भने ।

उनको आगामी फिल्म ‘पुजार सार्की’ले जातीय विभेदविरुद्धको संघर्षको कथा भन्छ । ४० वर्षअघिको ‘टाइम एण्ड स्पेस’मा भनिएको यो फिल्म समकालीन नेपाली समाजसँग पनि सान्दर्भिक रहेको उनी बताउँछन् । फिल्म, निर्देशन शैली र ‘पुजार सार्की’को सन्दर्भमा रहेर निर्देशक राउतसँग अनलाइनखबरले गरेको कुराकानीको सम्पादित अंश :

पुजार सार्की’को कथावस्तु के छ ?

मन्दिरमा पूजा गर्ने ब्राह्मण कसरी सार्कीमा परिवर्तन हुन्छ भन्ने फिल्म हो खासमा । फिल्ममा तीन मुख्य पात्र छन्- एउटा पुजारी, मेघराज खत्री र मैतबहादुर परियार । यी तीनजनाको यात्राको कथा हो । यी तीन पात्रले बोकेको एउटै एजेण्डा छ– त्यो हो जातीय विभेदविरुद्धको मुद्दा ।

यसको कथा अहिलेको समाज र समयसँग कत्तिको सान्दर्भिक छ ?

हामीले ४० वर्षअघिको समय र समाजको कथा भनेका छौं । त्यो समयदेखि अहिलेसम्म जातीय विभेद समाजमा व्याप्त छ । जातीय विभेदको कारणले समाजमा घटेका घटना थुप्रै छन् । समयानुसार व्यवस्था परिवर्तन भए । संविधानले पनि जातीय विभेदको कुरालाई वर्जित गरेको छ तर अहिलेसम्म पनि समाजमा यो प्रवृत्ति छ । अहिले पनि बनाउन सान्दर्भिक लागेर बनाएका हौं ।

तपाईंले सुरुमा रोमान्टिक फिल्ममा काम गर्नुभयो । प्रकाश र प्रसादमा अन्तरजातीय प्रेम र भौगोलिक विपन्नताको कुरा उठाउनुभयो । यसमा जातीय विभेदविरुद्धको कुरा उठाउनुभएको छ । पैसा कमाउनुपर्छ भन्ने माहोलमा तपाईंले गम्भीर मुद्दामा फिल्म बनाउँदै हुनुहुन्छ, किन ?

दर्शक पनि यही समाजभित्रका मान्छे भएको हिसाबले यही समाजभित्रको चीज र यथार्थ पात्रलाई उतारियो भने दर्शक यी कथा र पात्रसँग जोडिन सक्छन् । आफैंले नभोगेपनि कहीं न कहीं यस्तो कथा देखेको हुन्छ, । आफ्नो लाग्नसक्छ । फिल्म मेरो आफ्नो माध्यम हो । यो माध्यमबाट मैले मलाई चित्त नबुझेको, असन्तुष्टिको कुरालाई पोख्न चाहन्छु । यी कुरालाई मैले चिया पसलमा गफ गरेर, सोसल मिडियामा लेखेर त हुँदैन नि, मैले आफ्नो माध्यम प्रयोग गर्नुपर्छ । देखेको कुरालाई समाजमा भन्नुपर्छ भनेर गरेको हुँ ।

यो कथामा नन–एक्टरलाई लिएर पनि काम गर्न सकिन्थ्यो, तर तपाईंले आफू निकट नाम चलेका कलाकारलाई कास्ट गर्नुभएको छ, किन जरुरी पर्‍यो ?

यदि विषयवस्तु गहन छ, संवेदनशील छ, धेरैभन्दा धेरै दर्शकमाझ पुर्‍याउनुपर्ने छ भने मैले नन–एक्टर वा थिएटरबाट मात्र लिएर काम गर्दा सीमित दर्शकमाझ मात्र पुग्ने भयो । बजार र दर्शकले पनि स्वीकार गरेको कलाकार लिएँ भने बजारीकरणको हिसाबले पनि धेरै दर्शकमा पुग्ने भयो । फिल्म व्यावसायिक कुरा भएकाले आफ्नो विषयवस्तु पनि आउने भइसकेपछि नयाँ बहसको थालनी हुनसक्छ भन्ने हिसाबले उहाँहरुलाई कास्ट गरेका हौं ।

पाईंका अघिल्ला फिल्मको तुलनामा यो फिल्ममा नयाँ पक्ष के छ ?

फिल्मको काम त एकपछि अर्को काम गर्दै जाँदा बुझिने र जानिने कुरा त जहिल्यै रहन्छ । योभन्दा अघि गरेको भन्दा केही उत्कृष्ट र परिपक्व ढंगले गरें कि भन्ने महसुस मलाई छ । जुन खालको विषयवस्तु उठान गरेको छु, त्यो विषयवस्तुलाई मैले कतिसम्म गहनरुपमा भन्न सकें भन्ने कुरा त एउटा जोखिम हो कि जस्तो लाग्छ । मैले आफ्नो बुझाइअनुसार नै बोल्न हो । दर्शकले फिल्म हेरेपछि त्यसलाई कसरी लिनुहुन्छ भन्ने कुरा पक्कै पनि ‘रिस्क फ्याक्टर’ हो ।

पछिल्लो समय समाजका कथावस्तु समावेश भएका र गम्भीर फिल्म मात्र राम्रा हुन्छन् भन्ने कतिपयको सोच छ । यसबारे तपाईंको धारणा के छ ?

कस्तो कथा उठायौं भन्दा पनि कति परिपक्व ढंगले त्यसलाई भन्न सक्छौं भन्ने ठूला कुरा हो । समाजको कथा र मुद्दालाई उठायो भने त्यो राम्रो, बलियो, गम्भीर र बौद्धिक फिल्म हुने हो भन्ने चाहिं हुँदैन । जुनसुकै विषयलाई उठाएपनि त्यसलाई परिपक्व ढंगमा कसरी भनिएको छ भन्ने कुरा महत्वपूर्ण हो । अहिले सामाजिक यथार्थवादी कथा भनियो भने त्यो गम्भीर फिल्ममेकर हुन्छ भन्ने चाहिं होइन ।

तपाईं रोमान्टिक फिल्मबाट एकाएक सामाजिक यथार्थवादी फिल्मतिर सोझिनुभयो । फिल्मलाई बुझ्ने तपाईंको सोचमा आएको परिवर्तन हो कि ट्रेन्डको दबाब हो ?

म यसलाई आफ्नो बुझाइको ‘ग्रोथ’ भन्छु । फिल्ममा आउने बेला सुरुमा मलाई एउटा खाले फिल्म मनपर्थ्यो । म कुन खालका फिल्म रुचाउँछु भन्ने कुराले पनि निर्देशित गर्ने रहेछ । मलाई सुरुको चरणमा रोमान्टिक र सांगीतिक प्रेमकथाका फिल्म हेर्न मनपर्थ्यो । मलाई मनपर्थ्यो भने त मैले गर्दा पनि त्यस्तै गर्थें । पछि क्रमशः ती खालका फिल्ममा आफैंलाई रुचि भएन । आफैंलाई हेर्न रुचि छैन भने बनाउन कसरी रुचिकर हुनसक्छ ?

हिजोका दिनमा पनि मैले रोमान्टिक जनराका फिल्म गर्थें, तीभित्र पनि पात्रबीचको भावनाको कुरा थिए । सामाजिक कथावस्तुका फिल्ममा पनि पात्रमा इमोसनकै कुरा हुन्छ । हिजोको दिनमा केटा–केटीको सम्बन्धको प्रेमको भावनाको कुरा आउँथे भने आजको दिनमा श्रीमान श्रीमतीको भावनाको कुरा आउँछ । आमा र छोराको भावनाको कुरा छ । साथीभाइको भावनाको कुरा होला । भोलिका दिनमा आफ्नै काम परिपक्व नलागेपछि यही खालका फिल्ममा मेरो रुचि नहोला । त्यतिबेलाको परिस्थिति फरक हुनसक्छ ।

तपाईं कथा भन्न वा बेच्न रुचाउनुहुन्छ ?

म कथा भन्न रुचाउँछु । त्यही भएर हरेक फिल्म मेरो आफ्नो शैलीको हुन्छ । मेरो भन्ने शैली र कथा कत्तिको बिक्रीयोग्य छ भन्ने कुराले मेरो हरेक फिल्मको अनुपात होला । यसका लागि मैले आफ्नो शैलीलाई परिवर्तन गर्ने पनि हुनसक्छ ।

तपाईंलाई कस्ता कथामा काम गर्न मन छ ?

म एउटा फिल्म गरुञ्जेल अब कस्तो फिल्म कहिले गर्छु भनेर निर्णय गरेको हुँदिन । सोचेको पनि हुदिँन । कुनै खास जनरा भन्दा पनि कथा के आउँछ र त्यो कथाले मलाई कत्तिको तान्न सक्छ भनेर भोलि निर्णय गर्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?