+

यी ६ रोगमा उपयोगी हुन्छ सिस्नु

२०८१ वैशाख  २४ गते ७:०० २०८१ वैशाख २४ गते ७:००
यी ६ रोगमा उपयोगी हुन्छ सिस्नु

सिस्नुलाई अंग्रेजीमा ‘युटिका डिऐका’ स्टिङिङ नेटल भनिन्छ । किनभने यसमा हुने रौंदार काँडाको स्पर्शले बिच्छीले टोकेझैं छालामा पीडा हुन्छ ।

नेसनल लाइब्रेरी अफ मेडिसिनका अनुसार सिस्नु युरोपेली देशरुमा १५ औं शताब्दीतिर नै पाइएको थियो । १९ औं शताब्दीमा भने जर्मनी र अस्ट्रियामा कपडाको कच्चा पदार्थको रुपमा यसको खेती गरेको पाइएको छ ।

पहिले सिस्नुलाई गरिबको खान्कीको रुपमा लिइन्थ्यो । यो टिप्न गाह्रो र पकाउन पनि झन्झट हुने भएकाले मध्यम र उच्च वर्गको रोजाइमा पर्दैन थियो । तर अहिले सिस्नुको महत्त्व वैज्ञानिक रुपमा समेत पुष्टि हुन थालेको छ । त्यसैले पछिल्ला  दिनमा सिस्नु धनीले पनि औषधि सम्झेर खोजी खोजी खान थालेका छन् ।

यसमा हुने मसिनो झुस फर्मिक अम्लले पोल्ने (जलन) वा हिस्टामाइनका कारण छाला सुन्निने गर्छ । यसको सोही बेफाइदाको कारण पहिले पहिले यातना दिन तथा सजाय दिन यसको प्रयोग गरिन्थ्यो । सिस्नुले पोल्ने भएकाले पनि यसको सेवन कम भएको हो । तर पानीमा उमालेपछि ती तत्त्वहरू नास भएर जान्छन् ।

सिस्नुमा भिटामिन ए, भिटामिन सी, भिटामिन डी, आइरन, पोटासियम, म्यागानिज, क्याल्सियम जस्ता पौष्टिक तत्त्व हुन्छ । यसमा भएको पोषक तत्त्व र औषधीय गुणले मानव स्वास्थ्यमा यसले अनेक फाइदा पुर्‍याउँछ ।

मधुमेहमा फाइदाजनक

टाइप २ मधुमेहमा सिस्नुको सेवन फाइदाजनक हुन्छ । यसमा ‘एन्टि–हाइपरग्लाइसेमिक’ एजेन्टहरू हुन्छन्, जसले ब्लड सुगरलाई नियन्त्रण गर्छ । बेलाबेलामा सिस्नुको सुप बनाउने, सिस्नुको धुलोलाई दालमा हालेर खाने वा तरकारीको रुपमा प्रयोग गर्नाले मधुमेह नियन्त्रण गर्न सकिन्छ ।

घाउ चोट छिटो निको पार्छ

सिस्नुमा हुने ‘हाइड्रोअल्कोहोलिक एक्स्ट्र्याक्ट’ले घाउ निको पार्न मद्दत गर्छ । यसमा एन्टि–इन्फ्लेमेटरी र एन्टि–ब्याक्टेरियल गुण पनि हुन्छ, जसले घाउहरू छिटो निको पार्नमा फाइदाजनक हुन्छ ।

उच्च रक्तचाप नियन्त्रण गर्छ

हिजोआज उच्च रक्तचापको समस्या सामान्य भइसकेको छ, यस्तो अवस्थामा पनि चिकित्सकको सल्लाह लिएर सिस्नुको सेवन गर्न सकिन्छ । सिस्नुमा पाइने एन्टि–हाइपरटेन्सिभ गुणहरूले रक्तचाप कम गर्न पनि मद्दत गर्छ । जसकारण उच्च रक्तचापको समस्यालाई कम गर्न सकिन्छ ।

पाचनसम्बन्धी समस्यामा पनि उपयोगी 

सिस्नुले पेटको स्वास्थ्यलाई पनि कायम राख्न मद्दत गर्छ ।  यसले पाचन प्रक्रियालाई ठीकसँग काम गर्न मद्दत गर्छ । साथै गलत खाने बानीका कारण हुने एसिडिटीको समस्यालाई हटाउन पनि सिस्नु उपयोगी हुन्छ । यसमा पाइने एन्टी अल्सर गुणले अल्सरको समस्यालाई कम गर्न पनि मद्दत गर्छ ।

हाडजोर्नीको समस्याबाट जोगाउँछ

यसमा क्याल्सियम पनि हुन्छ, जसले हड्डीलाई मजबुत बनाउने र ओस्टियोपोरोसिस रोगको जोखिम कम गर्छ । सिस्नुले शरीरमा क्याल्सियमको क्षयलाई रोक्छ र हड्डीहरू खोक्रो हुनबाट रोक्छ । साथै जोर्नी दुख्ने समस्याबाट राहत पाउन पनि सिस्नुको प्रयोग गर्न सकिन्छ । सिस्नुको एन्टि–इन्फ्लेमेटरी गुणले हड्डीको दुखाइ र सुन्निने समस्या कम गर्छ ।

मिर्गौला स्वस्थ राख्छ

मिर्गौलासम्बन्धी समस्या, पिसाबनलीको संक्रमण र मिर्गौलाको पत्थरीलाई पनि सिस्नु उपयोगी हुन्छ । यसले रगत शुद्धीकरण बढाउन, क्रिएटिनिन स्तर घटाउन मदत गर्छ । यसको सेवनले शरीरमा रहेको अतिरिक्त नुन पिसाबसँगै बाहिर निस्कन्छ । त्यसैले मिर्गौलासम्बन्धी समस्यामा पनि सिस्नुको सेवन उपयोगी हुन्छ ।

ध्यान दिनुपर्ने कुरा

लो ब्लड प्रेसरको समस्या भएका व्यक्तिले यसको सेवन गर्नु हुँदैन । यसमा ‘एन्टि–हाइपरटेन्सि व’अर्थात् उच्च रक्तचाप नियन्त्रण गर्ने गुण हुन्छ, त्यसैले यसको सेवनले प्रेसर झन् कम हुनसक्छ ।

यसले एलर्जी वा छालामा दाग आउने समस्या निम्त्याउन सक्छ । त्यसैले यसलाई छुँदा वा धुँदा हातमा पञ्जा लगाउनुपर्छ ।

अहिले बजारमा सिस्नुको पाउडर सजिलै उपलब्ध छ । यसलाई सुप, तरकारीको रुपमा वा दालमा मिसाएर  प्रयोग गर्न सकिन्छ ।

भूपाल बानियाँ सिस्नु स्वास्थ्य
भूपाल बानियाँ
लेखक
भूपाल बानियाँ
पोषणविद्

बानियाँ हाल वीरेन्द्र प्रहरी अस्पतालमा पोषण विभाग प्रमुखको रुपमा कार्यरत छन् । उनले क्लिनिकल न्यूट्रिसन र पोषणमा बीएस्सी र न्युट्रिसन र डाइटेटिक्समा एमएस्सी गरेका छन् । उनी पोषण तथा आहार विशेषज्ञ संघको अध्यक्षसमेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

अचानक चक्कर आउनु कस्तो स्वास्थ्य समस्याको संकेत हो ?

अचानक चक्कर आउनु कस्तो स्वास्थ्य समस्याको संकेत हो ?