+
+

डढेलो लगाउनेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २३ गते १८:५९

२३ वैशाख, काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले डढेलो लगाउनेको खोजी गरी तत्काल कारबाही गर्न निर्देशन दिएका छन् ।

गृह मन्त्रालयमा आइतबार भएको ‘डढेलो र आगोलागी सम्बन्धी आपत्कालीन छलफल’मा आगलागीका ९० प्रतिशत घटना मानवीय कारणले हुने बताउँदै आगो लगाउनेलाई कानूनअनुसार कारबाही गर्न निर्देशन दिए ।

‘केही मान्छेका कारण आगलागीले वन र बस्ती सखाप भइरहेको छ । आगलागीले विपद्कै रुप लिइसक्यो । तर, आगो लगाउनेको अक्सर पहिचान हुँदैन । पहिचान भएका पनि कानून मातहत आएका छैनन् होला । वनमा आगो लगाउनु अपराध हो । अपराध गर्नेलाई कानूनअनुसार कारबाही हुनुपर्छ । त्यसतर्फ गम्भीर र सक्रिय भएर लाग्नुहोला’ मन्त्री लामिछानेले भने ।

आगो लगाउनेलाई कारबाही र आगो लगाउनेको सूचना दिनेलाई पुरस्कृत गर्नुपर्ने मन्त्री लामिछानेको भनाइ थियो । उनले आगो लगाउने व्यक्तिबारे सूचना भए स्थानीय सरकार, जनप्रतिनिधि, स्थानीय प्रशासन, नजिकको प्रहरी कार्यालयलगायतलाई सूचना दिन अनुरोध पनि गरेका थिए ।

छलफलमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले १० बुँदे कार्ययोजना प्रस्तुत गर्दै ‘एककीतृ कमाण्ड सेन्टर’ स्थापना आवश्यक रहेको औंल्याएका थिए ।

दुई महिनायता आगोलागीका घटनामा परी ५० जनाको ज्यान गएको, १४० जना घाइते भएको र एक हजारभन्दा बढि घर पूर्णरुपमा नष्ट भएको प्राधिकरणले जनाएको छ ।

वैशाख २१ गते बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २२ औं बैठकले पारित गरेको ‘विपद्बाट प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि–२०८१’ अनुसार आगलागी पीडितले पनि अस्थायी आवास निर्माणका लागि दुई किस्तामा गरी ५० हजार रुपैयाँ अनुदान पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?