+
+

सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौं : अर्थमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २३ गते १७:०२

२३ वैशाख, काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सरकार निजी क्षेत्रमैत्री रहेको पुष्टि भइसकेको दाबी गरेका छन् ।

राजस्व परामर्श समिति र निजी क्षेत्रका छाता संगठनहरूबीच आगामी बजेटबारे मन्त्रालयमा भएको अन्तरक्रियामा आइतबार मन्त्री पुनले पछिल्लो समय सरकारले निजी क्षेत्रमैत्री वातावरण निर्माण गरेको दाबी गरे ।

लगानी अनुकूल वातावरण निर्माण गर्न अध्यादेशमार्फत विभिन्न ८ वटा कानुनमा गरिएको सुधार तथा लगानी सम्मेलनमा निजी क्षेत्रको सक्रिय सहभागिताले सरकार निजी क्षेत्रमैत्री रहेको पुष्टि हुने उनको भनाइ छ ।

मन्त्री पुनले अर्थतन्त्रमा विद्यमान शिथिलता अन्त्य गर्न राज्यले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने र निजी क्षेत्रले राज्यसँग हातेमालो गरेर अघि बढ्ने वातावरण निर्माण गर्नेमा उद्योगी व्यवसायीलाई आश्वस्त पारे ।

‘लगानी सम्मेलनमा उद्घाटनदेखि छलफलका सबै बन्द सेसन र समापनसम्म निजी क्षेत्रलाई प्रस्तुत गरेका छौं । स्वदेशी र विदेशी लगानीकर्तालाई लक्षित गरेर ८ वटा कानूनमा भएको संशोधनले सकारात्मक वातावरण बनेको छ’, उनले भने, ‘मुखले भनेर होइन दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौं ।’

प्रधानमन्त्रीले उत्पादन–उत्पादकत्व वृद्धि गर्ने र राजस्व बढाउने उपायबारे वस्तुगत रुपमा काम गर्न निर्देशन दिएको उनले स्मरण गरे ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बारम्बार आगामी बजेटमा सरकार आफैंले र निजी क्षेत्रसँगको सहकार्यमा उत्पादन र उत्पादकत्व वृद्धिका कार्यक्रमलाई प्राथमिकतामा राख्न आफूलाई दिशानिर्देश गरिरहेको उनको भनाइ छ ।

अर्थतन्त्रमा राम्रो योगदान गरिरहेको, उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने तथा देशलाई अगाडि बढाउने नीतिमा परिवर्तन नगरिने उनले बताए । राम्रो नीति निरन्तरताका लागि मन्त्री र सचिवका पछि लागेर समय खेर नफाल्न उनले सुझाव दिए ।

उनले करका दर हेरफेर गर्दा यो कारणले बढाएको वा घटाएको बारे उल्लेख गरिने उनले बताए । फरक प्रसंगमा मन्त्री पुनले लगानी सम्मेलन भव्य रुपले सम्पन्न भएको बताए ।

लगानी सम्मेलनमा सरकार र प्रतिपक्षी दलका नेताबाट लगानी मैत्री वातावरणबारे व्यक्त समान धारणाले आर्थिक नीतिमा सिंगो देश एकै ठाउँ रहेको सन्देश गएको उल्लेख गरे ।

छलफलमा नेपला उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवाल, चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालसहित राष्ट्रिय उद्योग व्यापार संघ, नेपाल उद्योग व्यापार महासंघका पदाधिकारी र प्रतिनिधि सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?