+
+

मान्छेलाई रोगी बनाउने प्रदूषित हावा

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०८१ वैशाख २३ गते १९:२७

२३ वैशाख, काठमाडौं । केही हप्तायता आँखाले प्रष्टै देख्ने र शरीरले तत्कालै महसुस गर्ने गरी वायू प्रदूषण बढेको छ ।

काठमाडौं लगायत प्रमुख शहरमा धुवाँधुलो त पहिल्यैदेखि थियो, देशभर डढेलो लाग्दा, हावा नचल्दा र पानी नपर्दा वायुमण्डलमा अत्यधिक धुवाधुलोले सास फेर्न नै समस्या भएको थियो ।

दुई हप्तायता धेरै मानिस आँखा पोल्ने, घाँटी खसखसाउने, टाउको दुख्ने र रुघाखोकीको लक्षण लिएर अस्पताल पुगिरहेका छन् । धुवाधुलोका कारण कतिपय दीर्घरोगी त आईसीयूमै राखेर उपचार गर्नुपर्ने अवस्थामा पुगेका चिकित्सकहरु बताउँछन् ।

त्रिवि शिक्षण अस्पतालमा कार्यरत छाती रोग विशेषज्ञ डा. निरज बमका अनुसार पछिल्ला दिनमा श्वासप्रश्वाससँग सम्बन्धित बिरामी अत्यधिक बढिरहेका छन् । उनका अनुसार बहिरंग सेवामा दैनिक सेवा लिन आउने सरदर २५० बिरामीमध्ये आधा भन्दा बढी वायु प्रदूषणबाट निम्तिएको समस्याले अस्पताल पुगेका छन् ।

‘ओपीडी, इमर्जेन्सी र आईसीयू श्वासप्रश्वाससम्बन्धी दम र निमोनियाजस्ता रोगका बिरामीले भरिएका छन्’, डा. बमले अनलाइनखबरसँग भने, ‘दीर्घरोग नभएका स्वस्थ मानिसमा पनि श्वास फेर्न गाह्रो हुने, रुघाखोकी र कफसहितको लक्षण देखिनुले हावा अत्यधिक प्रदूषित छ भन्ने प्रष्ट हुन्छ ।’

छाती तथा सघन उपचार रोग विशेषज्ञ डा. राजु पंगेनीका अनुसार श्वास फेर्न गाह्रो हुने, नाक बन्द हुने, घाँटी खसखस गर्ने, खोकी लाग्ने, कफ आउने लगायतका समस्या लिएर आउने बिरामी धेरै छन् ।

उनीकहाँ आइपुग्ने दुई तिहाइभन्दा बढी बिरामी वायू प्रदुषणको असर लिएर आएका छन् । ‘ओपीडीमा मात्रै होइन, आकस्मिक तथा आईसीयूमा पनि बिरामीको चाप बढ्दो छ । कतिपयमा अक्सिजन कम हुने, निमोनिया देखिने, श्वास फेर्न गाह्रो भएर आईसीयूमा भर्ना गरिराख्नुपरेको छ’, पंगेनीले भने ।

पंगेनीका अनुसार वायु प्रदूषणको असर दीर्घरोगी वा ज्येष्ठ नागरिकमा मात्रै देखिएको छैन ।

उनको अनुभवमा यसवर्ष वायु प्रदूषणको असर अत्यधिक छ जसका कारण स्वस्थ व्यक्तिमा पनि श्वासप्रश्वाससँग सम्बन्धित समस्या देखिएको छ । ‘ओपीडीमा आउने सरदर ६० जनामध्ये २०–२५ जना युवा छन् । जसलाई श्वासप्रश्वास सम्बन्धित समस्या देखिएको छ’, डा. पंगेनीले भने, ‘कतिपय स्वस्थ मानिस पनि भर्ना भएर नै उपचार गराइराख्नुपरेको छ ।’

डा. पंगेनीका अनुसार वायु प्रदूषणको असरका कारण रुघाखोकी लागेर आएका मानिसमा औषधिले समेत काम नगर्ने अवस्था बनेको छ ।

सबै अंगमा असर

काठमाडौंमा वायु प्रदूषण अचानक बढेको होइन र प्रदूषणका कणहरू एक दुई दिनयता आकाशमा जम्मा भएका पनि होइनन् । पछिल्लो समय त काठमाडौंको हावामा वरपरका जंगलमा लागेको डढेलोको धुँवा पनि मिसिइरहेको छ ।

विज्ञका अनुसार लामो समयदेखि पानी नपरेका कारणले वायुमण्डल सुख्खा छ । यस्तो अवस्थामा धुलोका कणहरु अत्यधिक हुन्छन् ।  काठमाडौं उपत्यका कचौराजस्तो भएकाले धुलोधुँवा सहजै निस्किएर जान पाएको छैन ।

छाती रोग विशेषज्ञ डा. पंगेनीका अनुसार वायु प्रदूषण स्वास्थ्यका दृष्टिले खतरनाक अवस्था हो । अर्थात, वायु प्रदूषणले मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर गरिरहेको छ । यसले मानव शरीरमा असर नपुर्‍याउने कुनै त्यस्तो अंग छैन ।

‘वायु प्रदूषण साइलेन्ट किलर हो, यो देखिँदैन । तर, यसले शरीरका प्रत्येक अंगलाई असर पारिरहेको छ’, डा. पंगेनी भन्छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राखेको कृत्रिम फोक्सोले पनि काठमाडौंको वायु प्रदूषणको अवस्थाबारे जानकारी दिन्छ । वायु प्रदूषण घटाउन चेतना अभिवृद्धि गर्ने उद्देश्यसहित २०७९ चैत २४ गते मन्त्रालयले यूएसआईडी र डब्लूएचओको सहकार्यमा मन्त्रालय परिसरमा कृत्रिम फोक्सो जडान गरेको थियो ।

मन्त्रालयले राखेको १५ दिनमै उक्त कृत्रिम फोक्सो नचिनिने गरी कालो भएपछि त्यसलाई हटाइएको थियो ।

आइतबार काठमाडौं विश्वकै दोस्रो प्रदूषित सहरको रुपमा सूचीकृत भएको छ । एयर क्वालिटी इन्डेक्सको आइतबारको तथ्यांक अनुसार समग्र वायुको गुणस्तर सूचकाङ्क (एक्यूआई)  काठमाडौंको १७७ पुगेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार एयर क्वालिटी इन्डेक्स (एक्यूआई) ५० भन्दा बढी रहेको वातावरण मानव स्वास्थ्यका सामान्य मानिन्छ । त्यसभन्दा माथि १५० सम्मलाई श्वासप्रश्वाससम्बन्धी रोग भएका व्यक्ति, वृद्धवृद्धा, बालबालिका, किशोरकिशोरीका लागि अस्वस्थ मानिन्छ ।

त्यस्तै, २०० सम्मलाई अस्वस्थ, त्यसभन्दा माथि ३०० सम्मलाई हानिकारक र ३०० भन्दा माथिलाई जोखिमयुक्त मानिएको छ । यो स्तरको प्रदूषणमा प्रतिघनमिटर १९५ माइक्रोग्राम ‘पीएम २.५’ हुन्छ ।

हावामा हुने १० माइक्रोमिटरभन्दा साना धूलो वा धूवाँका कणलाई ‘पीएम २.५’ भनिन्छ । त्यो भनेको कपालभन्दा पाँच गुणा सानो कण हो । ‘२ माइक्रोग्राम भन्दा साना धुलो, वा धुँवाका कणहरू सिधै रगतको माध्यमबाट मुटु वा मिर्गौलासम्म पुग्छन्’, डा. पंगेनीले भने, ‘वायु प्रदूषणले असर नपुर्‍याउने कुनै त्यस्तो अंग छैन ।’

घरभित्र र बाहिरको वायु प्रदूषणका कारण प्रत्येक वर्ष विश्वमा ७० लाख मानिसको मृत्यु हुने डब्लूएचओको तथ्यांक छ ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार नेपालमा वायु प्रदूषणबाट बर्षेनी ४२ हजार जनाको मृत्यु हुने गरेको छ । जसमध्ये १९ प्रतिशत पाँच बर्षमुनिका बालबालिका र २७ प्रतिशत ७० वर्षभन्दा माथिका मानिस छन् । वायु प्रदुषणका कारण नेपालीको आयू ४.१ प्रतिशतले घटाइरहेको उक्त तथ्यांकमा उल्लेख छ ।

दीर्घकालीन फोक्सोको रोग (सीओपीडी) नेपालमा हुने मृत्युको ठूलो कारणमध्ये एक हो । मन्त्रालयको तथ्यांक अनुसार सीओपीडी भएका ६६ प्रतिशतको मृत्यु हुन्छ ।

‘जमिनको सतहको केही मिटर माथि नै लेयर बनाएर बसेको प्रदूषित हावाबाट हामीले श्वास फेरिरहेका छौं । जुन हावा हाम्रो सिधै फोक्सोमा प्रवेश गरिरहेको छ । जसले अल्पकालीन तथा दीर्घकालीन समयसम्म फोक्सोलाई असर गर्छ’, त्रिवि शिक्षण अस्पतालका छातीरोग विशेषज्ञ डा. बमले थपे ।

चुरोटको धुँवा जत्तिकै घातक काठमाडौंको हावा

डा. बमका अनुसार प्रदूषित हावामा रहेका कणहरु श्वासनली, फोक्सो हुँदै रगतसम्म पुग्छ र शरीरभरि फैलिन्छ ।

पीएम २.५ स्वास्थ्यका लागि खराब मानिन्छ । त्यसका साथै निकोफिन, क्याटमियम, नाइट्रोजन डाइअक्साइड, सल्फर डाइअक्साइड जस्ता क्यान्सरजन्य पदार्थहरू समेत रहेका हुन्छन् ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजु  हावामा भएका मसिना धुलोको कण पीएम २.५ र अन्य विभिन्न सूक्ष्म कण स्वास्थ्यका लागि हानिकारक छ । हानिकारक पदार्थहरू रगतमा पुगेपछि रगतलाई कडा बनाइदिन्छन् । जसका कारण विभिन्न अंगलाई असर गर्छ ।

प्रदूषणले श्वासप्रश्वाससम्बन्धी स्वास्थ्य समस्याका साथै हृदयघात, मस्तिष्कघात, आँखा, उच्च रक्तचाप, छालासम्बन्धी रोग र क्यान्सर समेत निम्त्याउने कोजुले बताए ।

‘वायु प्रदूषणका कारण नाक पोल्ने, नाक सुख्खा हुने, घाँटी खसखसाउने तथा आँखामा असर तत्काल हुने हुन्छ’, डा. कोजुले भन्छन्, ‘वायु प्रदूषणमा शरीरलाई हानी गर्ने विभिन्न तत्व हुन्छन्  । जसले  फोक्सो, रक्तनली, मुटुमा नराम्रो असर पारिरहेको छ ।’

तर यी असर आजको–भोलि भने देखिँदैनन् । उनका अनुसार हावामा मिसिएको दूषित कणले साइलेन्ट किलरको रुपमा ज्यान लिइरहेको हुन्छ । ‘वायु प्रदूषणले एकैचौटि निसासिएर मानिस मर्दैन । विस्तारै साइलेन्ट किलरको मानिसलाई मारिरहेको छ’, डा. कोजुले भने, ‘वायु प्रदूषणले आयूलाई क्रमशः घटाउँदै लगेको छ ।’

डा. बमका अनुसार वायु प्रदूषणले मस्तिष्कघात र हृदयघातको समेतसम्भावना बढाइदिन्छ । ‘वायू प्रदुषणले प्रत्यक्ष रुपमा फोक्सोमा असर गरेको देखिएपनि हृदयघात हुने, मस्तिष्कघात तथा मानसिक समस्या पनि ल्याउने गर्छ । त्यस्तै,  कपाल झर्ने, छाला चाउरी पर्ने, आँखामा समस्या तथा पाचन प्रणालीमा समेत असर पार्ने हुन्छ’, डा. बमले थपे ।

फोक्सो र सघन उपचार विशेषज्ञ डा. पंगेनीका अनुसार हावामा रहेको दूषित कणले रगतमा पुगेर ‘रियाक्सन’ गर्छ । जसका कारण दीर्घरोगीमा रोग बल्झिन्छ भने कतिपयलाई नयाँ रोग समेत लाग्ने गर्छ ।

पहिले दम रोग धुमपान गर्ने मान्छेमा मात्र हुने भनिन्थ्यो । हिजोआज वायु प्रदूषणका कारण स्वस्थ उमेरका मानिस तथा कहिल्यै धुमपान नै नगरेका मानिसहरुमा पनि फोक्सोको क्यान्सर र दम लगायतका समस्या देखिन थालेको छ । विश्व स्वास्थ्य संगठनले सास फेर्नका लागि मानेको स्वच्छ हावाभन्दा नेपालको हावा धेरै खराब छ ।

चुरोटको धुवाँले मानव शरीरलाई हानी गरेजस्तै वायु प्रदूषणमा पनि सयौं हानिकारक ग्यास, केमिकल र धुलोका साना कण सँगसँगै सल्फरडाइअक्साइड, कार्बनमोनोअक्साइड, ओजन, नाइट्रोजन अक्साइड लगायत विभिन्न हानिकारक ग्यास हुन्छ ।

‘वायु प्रदूषणमा भएको यी विभिन्न हानिकारक तत्वहरुले श्वासनलीमा असर गर्ने, फोक्सोमा असर गर्ने र शरीरको सम्पूर्ण अंगमा चुरोट खाने मान्छेको जस्तै असर गर्छ’, डा. पंगेनी भन्छन्, ‘अहिलेको हावामा सास फेर्नु भनेको दैनिक ५ भन्दा खिल्ली चुरोट खाए बराबर हो ।’

छाती रोग विशेषज्ञ डा. बम अनुसार अहिलको वायु प्रदूषणले धुमपान गरिरहेका मानिसको सरह नै असर गरिरहेको छ । ‘जीवनभर धुमपान नगरेको मानिसमा पनि फोक्सो, पाचन प्रणाली तथा घाँटीको क्यान्सर देखिएको छ । यसको प्रमुख कारण नै वायु प्रदूषण हो’, डा. बमले थपे ।

वायु प्रदूषणको मात्रा बढी भएमा त्यसले रोगसँग लड्ने क्षमता कम भएको मानिसलाई बढी असर गर्छ ।

जस्तै पाँच वर्षभन्दा मुनिका बालबालिका, ६५ वर्ष नाघेका वृद्धवृद्धा, दम, एलर्जी, दीर्घरोगी जोकोहीलाई पनि वायु प्रदूषणले असर गर्नसक्छ । सँगसँगै प्रदूषणका कारण खोक्न सक्ने क्षमता कम हुन्छ । वृद्धवृद्धालाई खोकेर खकार निकाल्न नसक्ने समेत अवस्थामा पु‍¥याउँछ ।

यस्तै वायु प्रदूषणले खुला स्थानमा लामो समय काम गर्नेलाई बढी असर गर्छ ।  विशेष गरेर घर बाहिर खेल्न मन पराउने बालबालिका, ड्राइभर, प्रहरी तथा कलकारखानामा काम गर्ने मानिसमा वायु प्रदूषणले छिटो असर गरिरहेको डा. पंगेनी सुनाउँछन् ।

विज्ञका अनुसार वायु प्रदूषणको जोखिमबाट बच्न घरबाहिर हिंडडुल गर्दा मास्कको प्रयोग गर्ने, मानवबस्तीको बीचमा उद्योग र कलकारखाना नखोल्ने, पुराना सवारीसाधन हटाउने र नयाँ सवारीसाधनको चेकजाँच गरेर अनुमति प्राप्त सवारी साधन मात्र सञ्चालनमा ल्याउने गर्नुपर्छ ।

यस्तै इन्धनको रूपमा दाउरा, कोइलाको सट्टा, गोबरग्यास, विद्युत शक्ति र सौर्य ऊर्जाको प्रयोगमा जोड दिने, पूरा शरीर ढाक्ने खालका कपडा लगाएर हिंड्ने, बाहिर हिंड्दा छाता, क्यापको प्रयोग गर्ने आदि गर्नुपर्छ ।

लेखकको बारेमा
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?