+

नेकोस कर्पोरेट सुपर सिक्सेस सुरू, एनआईसी एसियाको दोहोरो जित

२०८१ वैशाख  २३ गते १९:५९ २०८१ वैशाख २३ गते १९:५९
नेकोस कर्पोरेट सुपर सिक्सेस सुरू, एनआईसी एसियाको दोहोरो जित

२३ वैशाख, काठमाडौं । सातौं संस्करणको नेकोस कर्पोरेट सुपर सिक्सेस २०२४ मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरू भएको छ ।

प्रतियोगिता अन्तर्गत पहिलो दिन लिग चरणका ८ वटा खेल सम्पन्न भएका छन् ।

जसमा एनआईसी एसिया बैंक, आईसीएफसी फाइनान्स, सूर्य नेपाल, राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ्रे बैंक, सिप्रदी ट्रेडिङ्, एनसेल लेजेन्ड्स र सुबिसु विजयी भएका छन् ।
एनआईसी एसियालाई दुई वटा खेलमा जित दर्ता गर्दा प्राइम कमर्सियल बैंक दुवै खेलमा पराजित हुन पुग्यो ।

आज सम्पन्न पहिलो खेलमा एनआईसी एसिया बैंकले क्लाउड फ्याक्ट्रीलाई १ रनले पराजित गर्‍यो । एनआईसी एसियाले दिएको ८० रनको लक्ष्य पछ्याएको क्लाउड फ्याक्ट्रीले निर्धारित ५ ओभरमा २ विकेट गुमाएर ७८ रन मात्र बनाउन सक्यो । एनआईसी एसियाको लागि अमर रावलले सर्वाधिक ४८ रन योगदान दिए ।

दोस्रो खेलमा आईसीएफसी फाइनान्सले जगदम्बा ग्रुपलाई ५ रनले पराजित गर्‍यो । ८० रनको लक्ष्य पछ्याएको जगदम्बाले निर्धारित ५ ओभरमा ७४ रनमा सबै विकेट गुमायो ।

आईसीएफसीको लागि अरविन्द रानाले ३१ रन, सुवास भण्डारीले २६ रन बनाए भने सुरज तिमिल्सिना र संजोक गुरुङले १/१ विकेट लिए ।

तेस्रो खेलमा सूर्य नेपालले आइएमई ग्रुपलाई ११ रनले पराजित गर्‍यो । ९२ रनको लक्ष्य पछ्याएको आइएमईले निर्धारित ५ ओभरमा ८० रन मात्र बनाउन सक्यो । सूर्य नेपालको लागि अमित पाठकले २६ रन योगदान दिए भने बलिङमा विकास शर्मा र प्रकाश पौडेलले १/१ विकेट लिए ।

चौथो खेलमा राष्ट्रिय वाणिज्य बैंकले एनसेल इलाइट्सलाई १३ रनले पराजित गर्‍यो । राष्ट्रिय वाणिज्यले दिएको ९० रनको लक्ष्य पछ्याउने क्रममा एनसेलले निर्धारित ५ ओभरमा ७६ रन बनाउन सक्यो । राष्ट्रिय वाणिज्यको लागि विवेक श्रेष्ठले ३४ रन, महेश ताम्राकारले २५ रन योगदान दिए ।

पाँचौ खेलमा माछापुच्छ्रे बैंकले प्राइम बैंकलाई ४ विकेटले पराजित गर्‍यो । प्राइम बैंकले दिएको ९४ रनको लक्ष्य पछ्याएको माछापुच्छ्रेले अन्तिम बलमा निशेष केसीले छक्का प्रहार गर्दा जित्यो । मामाछापुच्छ्रेका लागि सृजन सुवेदीले ३६ रन, निशेष केसीले २४ रन बनाए भने बिभव जोशी र दिल्बिज भण्डारीले १/१ विकेट लिए ।

छैठौं खेलमा सिप्रदी ट्रेडिङ्ले कुमारी बैंकलाई १४ रनले पराजित गर्‍यो । सिप्रदीले दिएको ९७ रनको लक्ष्य पछ्याएको कुमारले ८२ रन मात्र बनायो । सिप्रदीको लागी दिपेश श्रेष्ठले ३२ रन बनाए भने प्रल्लव श्रेष्ठले १ विकेट लिए ।

सातौं खेलमा एनसेल लेजेन्ड्सले नेपाल बैंकलाई २३ रनले पराजित गर्‍यो । १०८ रनको विशाल लक्ष्य पछ्याएको नेपाल बैंकले ८४ रन मात्र बनायो । एनसेल लेजेन्ड्सको लागि अनिल भण्डारीले ३२ रन बनाए भने प्रितम श्रेष्ठले १ विकेट लिए ।

आठौं खेलमा सुबिसुले एनसेल इलाइट्सलाई ५ विकेटले पराजित गर्‍यो । एनसेल इलाइट्सले दिएको ८८ रनको लक्ष्य सुबिसुले ४.३ ओभरमा विकेट नगुमाई भेटायो । सुबिसुको लागि दमन चन्द र प्रदिप मल्लले समान २३ रन बनाए भने बलिङमा प्रदिप मल्लले २ तथा निरन्जन परियारले १ विकेट लिए ।

नवौं तथा अन्तिम खेलमा एनआईसी एसिया बैंकले प्राइम कमर्सियल बैंकलाई ३ रनले पराजित गर्‍यो । ८३ रनको लक्ष्य पाएको प्राइम बैंकले ७९ रन मात्र बनाउन सक्यो ।

एनआईसी एसियाको लागि अमर रावलले २८ रन तथा संजय गिरिले २२ रन बनाए भने बलिङमा सञ्जय सिंह धामीले २ तथा प्रविन कार्कीले १ विकेट लिए ।

प्रतियोगिता अन्तर्गत भोलि, सोमबार पनि लिग चरणका १२ वटा खेल हुनेछन् । भोलिको खेलपछि क्वाटरफाइनल पुग्ने ८ टिमको टुंगो लाग्नेछ ।

तीन दिन चल्ने प्रतियोगिताको उद्घाटन नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री भानुभक्त ढकालले गरेका थिए । कार्यक्रममा नेपाल क्रिकेट संघका उपाध्यक्ष रोशन सिंह, नेपाल खेलकुद महासंघका महासचिव धर्मबहादुर लामा तथा हरिनारायण रौनियार, आयोजक एसएस इभेन्ट्सका निर्देशक सुमित रौनियार र प्रतियोगिता निर्देशक रविन जोशीको उपस्थिति रहेको थियो ।

१५ कर्पोरेट टिम सहभागी प्रतियोगितामा सहभागी टिमलाई ४ समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा माछापुच्छ्रे बैंक, क्लाउड फ्याक्ट्री, एनआईसी एसिया बैंक र प्राइम बैंक तथा समूह ‘बी’ मा आईसीएफसी फाइनान्स, जगदम्बा ग्रुप, सिप्रदी र कुमारी बैंक छन् ।

समूह ‘सी’ मा सूर्य नेपाल, आइएमई ग्रुप, नेपाल बैंक र एनसेल लिजेन्ड्स तथा समूह ‘डी’ मा एनसेल इलाइट्स र सुबिसु गरी तीन टोलीले मात्र प्रतिस्पर्धा गर्नेछन् । प्रत्येक समूहबाट शीर्ष दुई टोलीले क्वाटरफाइनलमा स्थान बनाउने छन् । प्रतियोगिता लिगकम नकआउटका आधारमा सञ्चालन हुँदैछ ।

कर्पोरेट सुपर सिक्सेस
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय