+
+

सत्ता जोगाउन सत्तारुढ दल नै फुटाए ओली, प्रचण्ड र रविले

गठबन्धन भत्काउन खोज्दा आफ्नै दल जोगाउन सकेनन् उपेन्द्र यादवले, संकटको लहरो अन्यत्र पनि सर्ने सम्भावना देखिन्छ ।

बसन्त बस्नेत बसन्त बस्नेत
२०८१ वैशाख २३ गते २२:२७
Photo Credit : फाइल तस्वीर : राजन काफ्ले

२३ वैशाख, काठमाडौं । २०८१ को नयाँ वर्ष नलाग्दै माधव नेपालले प्रधानमन्त्री प्रचण्डसँग सत्ताको बार्गेनिङ गर्न थालेका थिए । आम रूपमा प्रभावशाली नरहे पनि सत्ता–राजनीतिका कमजोर खेलाडी होइनन्, एकीकृत समाजवादी अध्यक्ष नेपाल । पुरानो गठबन्धन भत्किएसँगै प्रधानमन्त्रीको आलोपालो सपना यसै पनि अलपत्र परेकै थियो ।

१० सिटमात्रै सांसद संख्या रहेका नेपालले अरू १२८ भन्दा बढी अर्थात प्रतिनिधि सभाको बहुमत सदस्य संख्या १३८ मा चार–पाँच सांसद बढ्ता नै देखिने गरी सत्ता गठबन्धनभित्र आफ्नो ‘हैसियत’ दाबी गर्न थालेका थिए । ‘हामी गठबन्धनमै छौं, तर मनमा चैन छैन, कुन दिन के हुने हो थाहा छैन,’ अघिल्लो साता चितवनमा उनी आफैंले सम्भावित संकट र सम्भावनाको छनक दिएका थिए ।

रोचक के छ भने प्रतिनिधि सभामा १० सिटमात्रै रहेका नेपाललाई सहजै सघाउन तयार भएका थिए हाल प्रचण्ड सरकारमा उपप्रधानमन्त्री रहेका उपेन्द्र यादवले । जसपा नेपालका अध्यक्ष यादव, जसको सांसद संख्या नेपालको भन्दा बढ्ता अर्थात १२ थियो ।

‘थियो’ किन भनियो भने त्यो संख्या अब छैन ।

जसपाभित्र उपेन्द्र यादवको सेपमा परिरहेका बहुमत सांसदले विद्रोह गरेसँगै उनी नेपालको एकीकृत समाजवादी भन्दामात्रै होइन, उनका प्रतिस्पर्धी सीके राउतको जनमत पार्टीभन्दा पनि एक सिट कम अर्थात जम्मा पाँच सांसदका नेतामा सीमित हुन पुगेका छन् ।

तीन परिघटना एकै साथ भएका छन् । एक, यादव आफ्नो संसदीय राजनीतिक करिअरमा सर्वाधिक कमजोर घुम्तीमा आइपुगेका छन् । प्रचण्ड नेतृत्वको सत्ता जोगाउन यादव नेतृत्वको सत्तारुढ दल नै विभाजित हुन पुगेको छ ।

दुई, नयाँ गठबन्धन निर्माणसँगै ओली नजिकै आइपुगेर पनि नेपाल फेरि टाढिने सम्भावना बढेको छ । सुदुरपश्चिम प्रदेश सरकारबाट सुरु भएको खटपट काठमाडाैंको गठबन्धनसम्मै विस्तारित भएको छ ।

तीन, १२ वर्षअघि पहिचानको मुद्दामा ओलीलगायत एमाले नेतासँग टाढिंदै संघीय समाजवादी पार्टी खोलेका अशोक राई घुमाउरो बाटो हुँदै निकटवर्ती बन्न आइपुगेका छन् । वामपन्थ, समाजवाद इत्यादिका नाममा राजनीतिक ध्रुवीकरण बढ्दै जाँदा भोलिको सम्भावना जे पनि हुन सक्छ ।

आज उपेन्द्र यादवकै कुरा गरौं, जसले आफू अमेरिका भ्रमणमा रहेका बेला पार्टी फुटको सामना गर्नुपर्‍यो । उनले दुई वर्षअघि आफ्नो दलबाट फुटेका महन्थ ठाकुर, राजेन्द्र महतो लगायतले लोसपा बनाउँदा पनि यत्रो संकट सामना गर्नुपरेको थिएन ।

पार्टी महाधिवेशनको मुखमा उनी कमजोर बन्न पुगेका छन् । यसको पहिलो असर सत्ता गठबन्धनमा परेको जस्तो देखिए पनि खास मूल्य मधेश प्रदेशको सरकारले चुकाउनुपर्नेछ । मधेशका मुख्यमन्त्री तथा जसपा संसदीय दलका नेता सरोजकुमार यादव यति बेला आफू पक्षका सांसदसँग बैठक गरिरहेका छन् ।

उपेन्द्र यादवको झैं माधव नेपालको दलमा देखिने पहिरो त आइसकेको छैन । तर उनी संकटको सन्निकट रहेको उच्च स्रोत बताउँछ । सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत दिन गरेको ढिलासुस्ती देखिने कारण रहे पनि नदेखिने अरू फ्याक्टरसमेत रहेको भन्दै एमाले नेताहरू ‘केही दिन कुर्न’ संकेत गरिरहेका छन् ।

आइतबार एमाले अध्यक्ष केपी ओलीको बलियो समर्थनमा, अनि रास्वपा सभापति रवि लामिछानेको साथमा प्रधानमन्त्री प्रचण्डले माधव–उपेन्द्रको योजनामा तुषारपातमात्रै गरिदिएनन्, स्वयं उनीहरूको दलभित्र उथलपुथल पैदा गर्न सुरु गरेका छन् ।

प्रतिपक्षमा रहेको संसदको ठूलो दल कांग्रेसको समर्थनमा अघि बढेका यी स–साना ‘सत्तारुढ दलका नेताहरू’ ले गठबन्धन फुटाउन खोज्दा ठूलै मूल्य चुकाउनुपरेको छ ।

एमालेका एक उच्च नेताले अनलाइनखबरसँगको अनौपचारिक कुराकानीमा कटाक्ष गरे, ‘नचाहिंदो सपना पाल्ने हुँदा उहाँहरुले भएको सानोतिनो शक्ति पनि गुमाउनुपरेको छ । अरू दुई–तीन दिन कुर्नुस् । चित्र स्पष्ट हुन्छ ।’ उनले त्यो चित्रलाई मूर्त रूपमा खुलाउन इन्कार गरे ।

आइतबार प्रचण्ड, ओली र रास्वपा सभापति तथा गृहमन्त्री रवि लामिछानेबीच बसेको बैठकले हुर्किंदो परिस्थितिको विश्लेषण गर्दै प्रतिरक्षाको रणनीति बनाएको थियो ।

स्रोतका अनुसार ओलीले राष्ट्रिय स्वार्थ जोगाउनका लागि बनेको गठबन्धन टुट्नुभन्दा सानातिना पार्टी फुट्नु ठीक भन्दै आफ्ना तर्कहरू दिएका थिए । ‘प्रचण्ड–ओली–रविसहितको यो समीकरण चल्न त चलेकै थियो, तर आजबाट चाहिं भत्किँदैन भन्ने ग्यारेन्टी नै भयो,’ माओवादीका एक उच्च नेताले दाबी गरे ।

तीन शीर्ष नेताको बैठकमा ओलीले एमालेको ७९ सिटको निर्णायक साथमा माओवादीको ३२, रास्वपाको २१, जसपाबाट फुटेको नयाँ पार्टीको ७ सहित केही स्वतन्त्र सांसदको समेत साथ रहने प्रत्याभूति दिलाएका थिए ।

उनले जनमोर्चाले कांग्रेसलाई साथ दिए पनि नेमकिपा समर्थनमा वा तटस्थ बस्दा बन्न सक्ने परिस्थिति समेतको मसिनो विश्लेषण गरेका थिए । रेशम चौधरी र रञ्जिता श्रेष्ठ चौधरीको झगडामा फसेको नाउपा बेगर नै बहुमत अर्थात कम्तीमा १४० सिट नाघ्ने ओलीको विश्लेषणपछि प्रचण्ड ढुक्क भएका थिए ।

यादव अमेरिका यात्रामा रहेका बेला वरिष्ठ नेता अशोक राई सहितका सात सांसदले आफूहरूसँग वैधानिकता रहेको दाबी गर्दै निर्वाचन आयोग गुहारेका हुन् । उनीहरूले यादवले पार्टी कब्जा गर्न लागेको आरोप लगाउँदै सरकार ढाल्ने प्रयासविरुद्ध एक भएको दाबी गरेका छन् ।

माओवादीका ती नेताले नयाँ दल गठनमाथि संवैधानिक प्रश्नहरू छन् नि भन्ने जिज्ञासामा त्यस्तो प्रश्न सामना गर्नु नपर्ने दाबी गरे । त्यसबारे स्पष्ट चाहिं गरेनन् ।

सत्ता गठबन्धनका नेताहरूले उपेन्द्र यादवले तुरुन्तै सत्ता गठबन्धन ढाल्न गरेको प्रयास भने आश्चर्यलाग्दो भनी प्रतिक्रिया दिएका छन् ।

जसपा प्रवक्ता मनीष सुमनले चाहिं यादव सत्ता ढाल्ने खेलमा हुँदै नभएको जिकिर गरेका छन् । ‘अहिलेको सत्ता गठबन्धनअन्तर्गत बनेको बलियो उपप्रधानमन्त्री हो हाम्रो पार्टी अध्यक्ष, उहाँले नै गठबन्धन फुटाउने कुनै प्रश्न हुन सक्दैन’, सुमनले भने, ‘जेठ २८ मा हुने पार्टी महाविधेशनमा पनि नेतृत्व नपाउने सम्भावना देखेपछि त्यो समूहले पार्टी फुटाएको हो ।’

स्वयं प्रधानमन्त्री प्रचण्ड, अनि एमाले अध्यक्ष ओलीका कुरा सुन्ने हो भने जसपा प्रवक्ता सुमनको दाबी पुष्टि हुँदैन । प्रचण्डले माओवादी संसदीय दल बैठकमा शनिबार नयाँ गठबन्धन भत्काउन पूरै कोसिस भइरहेको खुलाएका थिए ।

उनले भनेका थिए, ‘प्रमुख प्रतिपक्षी भएपछि कांग्रेसले सत्ता भत्काउन लाग्नु अनौठो भएन, तर सत्ता गठबन्धनभित्रैका साथीहरू पनि के कसो हो भन्नेमा लाग्नुभएको छ । मैले यस्तो प्रवृत्ति किन भइरहन्छ बुझ्न सकेको छैन । साथीहरू सतर्क बस्नुहोला ।’

शुक्रबार एमाले अध्यक्ष केपी ओलीले नवलपुरमा पार्टी अधिवेशन उद्घाटन गर्दै नयाँ समीकरण कुन परिस्थितिमा बनेको हो र त्यसलाई भत्काउन कसरी कोसिस भइरहेको छ भन्ने चर्चा गरेका थिए । उनले नाम नलिए पनि एकीकृत समाजवादी र जसपातिर संकेत गरेका थिए ।

जसपाभित्र अध्यक्ष यादवलाई लामो समययता साथ दिंदै आएका नेता अशोक राई, राजेन्द्र श्रेष्ठ, प्रदीप यादव, इस्तियाक राई लगायत नै उनको विरोधमा उभिएका छन् ।

वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडी स्वयं नै यादवको विरोधमा उभिंदै नयाँ दल दर्ता क्रममा निर्वाचन आयोग पुगेको दृश्य रोचक थियो । ‘अध्यक्ष आफैं उपप्रधानमन्त्री रहेर पनि सरकार ढाल्न लागेको थाहा पाएपछि हामीले कदम उठाउनै पर्‍यो’, मन्त्री साहले निर्वाचन आयोग परिसरमा सन्चारकर्मीसँग बोले ।

एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले आफूहरू गठबन्धनमा निश्चित असन्तुष्टिहरूसहित रहे पनि नयाँ योजनामा नरहेको दाबी गरे । उनले उपेन्द्र यादवले गलत मुभ लिएको समेत दाबी गरे ।

‘आज जे–जे भयो, कसरी भयो सबै थाहा भएन, तर हाम्रो बारेमा अरूले चिन्ता गर्नुपरेन,’ पाण्डेले भने, ‘गठबन्धनभित्र असन्तुष्टि चरम रूपमा थियो । तर समाधान खोज्ने तरिकाबारे विचार पुगेन कि ?’

नेताहरूको छनक सुन्ने हो भने एमाले–माओवादी–रास्वपालगायतको नयाँ समीकरणमा हलचल ल्याउन खोज्दा साना पार्टीहरुले अरू परकम्प बेहोर्न तयार हुनुपर्ने देखिन्छ । एमाले र रास्वपा स्रोतका अनुसार संसदको बजेट अधिवेशनका बेला संसदमा खास दृश्य देखिन सक्छ ।

लेखकको बारेमा
बसन्त बस्नेत

बस्नेत अनलाइनखबरका सम्पादक हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?