+

पोखरा स्पोर्टस अवार्डमा सहारा क्लबलाई उत्कृष्ट खेल क्लबबाट सम्मान

२०८१ वैशाख  २४ गते ९:१३ २०८१ वैशाख २४ गते ९:१३
पोखरा स्पोर्टस अवार्डमा सहारा क्लबलाई उत्कृष्ट खेल क्लबबाट सम्मान

२४ वैशाख, पोखरा । आठौं पोखरा स्पोर्टस् अवार्डमा यस वर्ष सर्वोत्कृष्ट खेल क्लबबाट सहारा क्लब पोखरालाई सम्मान गरिने भएको छ । आठौं संस्करणसम्म आइपुग्दा यो विधाअन्तर्गत अवार्ड पाउने सहारा पहिलो क्लब बन्न पुगेको छ ।

छैटौं सस्करणसम्म यो विधामा खेल संघलाई मात्र अवार्ड प्रदान गरिदै आएकोमा सातौं संस्करणबाट खेल संघ वा क्लबमध्येबाट उत्कृष्ट छान्ने व्यवस्था गरिएको थियो । अवार्ड पाउन सफल सहारा क्लबको स्थापना २०५५ भदौ ३० गते पोखरामा भएको हो ।

०५६ मा पृथ्वीचोकमा सार्वजनिक शौचालय निर्माण गरेर सामाजिक कार्यको सुरुआत गरेको क्लबले ०५७ मा सहारा कप क्लबस्तरीय लिग कम नकआउट फुटबल प्रतियोगिता सञ्चालन गरेको थियो ।

०५८ सालमा ड्रिम प्रोजेक्टको रुपमा फुटबल एकेडेमी सञ्चालन गर्‍यो । एकेडेमीका लागि ०६३ सालमा पोखरा १७ दोबिल्लामा २६ रोपनी जग्गा खरिद गरेर २०६९ सालमा फुटबल मैदानसँगै भवन बनाएको थियो ।

अहिले सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी मार्फत क्लबले अनाथ तथा असाहय बालकलाई पालनपोषणका साथमा फुटबल समेत सिकाउँदै आइरहेको छ । फुटबल खेलको विकासमा योगदान पुर्‍याएको भन्दै २०६५ सालमा फिफाले सहारा एकेडेमीको डकुमेन्ट्रीसमेत बनाएको थियो ।

जुन डकुमेन्ट्री फिफा फुटबल अन्र्तगत विश्वको अग्र स्थानमा परेपछि बीबीसी, इएसपीएन, स्टार स्पोर्टस् , टेन स्पोर्टसले समेत प्रसारण गरेका थिए । यसबाट समेत क्लबको चर्चा विश्वभर फैलिएको थियो ।

२०५८ सालमा क्याराभान गोल्डकप फुटबल प्रतियोगिता आयोजना गरेको क्लबले त्यसपछि प्रत्येक वर्ष ‘आहारारा गोल्डकप’ प्रतियोगिता आयोजना गदै आएको छ । मोफसलकै चर्चित फुटबल प्रतियोगिता बनेको आहारारा २३ औं संस्करण पुगिसकेको छ ।

खेलकुद पत्रकार मञ्चले आयोजना गर्दै आएको अवार्ड वितरण कार्यक्रम वैशाख २८ गते शुक्रबार दिउँसो ३ बजेबाट पोखरा सभागृह हल हुनेछ ।

अवार्ड कार्यक्रममा वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लबसँगै, वर्ष उत्कृष्ट प्रशिक्षक, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने मञ्चका महासचिव राजाराम पौडेलले जनाए ।

खेल क्षेत्रमा ऊर्जा थप्न मञ्चले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्ट्स अवार्ड गर्दै आएको छ ।

आहारारा गोल्डकप सहारा क्लब
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय