
२४ वैशाख, काठमाडौं । राइड सेयरिङ एप इनड्राइभले आजदेखि औपचारिक रूपमा नेपालमा सेवा सुरू गरेको छ ।
करिब ३ वर्ष सेवा दिइसकेपछि इनड्राइभले औपचारिक रूपमा कम्पनीमा दर्ता भएर सेवा दिन थालेको हो ।
कम्पनीले औपचारिक सेवा दिन थालेसँगै चालकबाट कमिसन लिन थालेको छ । यसअघि चालकबाट कमिसन नलिने कम्पनीले आजदेखि १० प्रतिशत कमिसन लिने इनड्राइभ नेपालकी निर्देशक रिता पोखरेलले जानकारी दिइन् ।
उनका अनुसार इनड्राइभले काठमाडौंका साथै पोखरा र चितवनमा सेवा सुरू गरेको छ । छिट्टै अन्य सहरमा सेवा सुरू गर्नुका साथै कुरियर र कार्गो सेवा पनि थाल्ने कम्पनीले जनाएको छ ।
यस्तै इनड्राइभले काठमाडौंमा ट्याक्सी, मोटरसाइकल, डेलिभरी, एक शहरदेखि अर्को शहर सेवाहरू प्रदान गर्ने जनाएको छ । यका साथै इनड्राइभ चढ्ने यात्रु र चालक दुवैले एक अर्काको रेटिङ र उनीहरूले गरेका यात्राका आधारमा कोसँग यात्रा गर्ने भनेर छान्न सक्नेछन् ।
यात्रुले सवारीको समयमा एपमा लाइभ राइडिङ विवरण सेयर गर्न मिल्ने र सेभ आवर सोल्स बटनको समेत सुविधा रहेको कम्पनीले जनाएको छ । यतिमात्रै नभएर अप्रत्याशित परिस्थिति आइपरेमा यात्रुले चाँडै सहयोग पनि लिन सक्ने कम्पनीले जनाएको छ ।
इनड्राइभले यात्रुका लागि बीमाको व्यवस्थाका लागि पनि प्रक्रिया अघि बढाइसकेको जानकारी दिएको छ । कार्यक्रममा इनड्राइभको एसिया प्यासिफिक कम्युनिकेसन्स प्रमुख पवितनन्दा आनन्दले आफूहरूका लागि नेपालको बजार अत्यन्तै महत्वपूर्ण भएको बताइन् ।
उनले भनिन्, ‘ हामीलाई नेपालको बजार अत्यन्तै राम्रो लागेको छ । त्यसकारण यहाँ हामीले अन्तर सहर सेवा, डेलिभरी सेवा, मोटरसाइकल र ट्याक्सी सेवामा अफिस नै स्थापना गरेका हौं। साथी यात्रुहरूको लागि पनि बीमाको प्रक्रिया अगाडि बढाइसकेका छौं। ‘ उनले नेपालीहरूलाई इनड्राइभले उद्यमीको रूपमा स्थापना गर्न समेत सहयोग पुग्ने दाबी गरिन् ।
दर्ता बिनै चलेपछि ट्राफिक प्रहरीले पछिल्लो समयमा इनड्राइभका राइडरहरूलाई रोक्ने र कारबाही गर्ने क्रम तीव्र बनाएको थियो ।
नेपालमा राइड सेयरिङलाई वैधानिकता दिनुपर्ने माग उठेको साढे ७ वर्ष बितिसकेको छ । पहिलो पटक २०७३ पुसमा नेपाली कम्पनी टुटलले मोटरसाइकल र ट्याक्सीमार्फत ‘राइड सेयरिङ’ सेवा सुरू गरेको थियो ।
हालसम्म संघीय ऐनमा निजी सवारीले भाडा उठाएर यात्रु बोक्न पाउन व्यवस्था गरिएको छैन । तर, पनि सरकारले प्रविधिको प्रयोग भन्दै ‘राइड सेयरिङ’ सेवालाई प्रतिबन्ध लगाएको छैन ।
प्रतिक्रिया 4