
२४ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले खुलामञ्च सम्याउन सुरु गरेको छ । महानगरले खुलामञ्च सम्याउन लेभलिङ र ग्रेडिङको काम थालेको हो ।
खुलामञ्चलाई खेलमैदान बनाउने तयारीपछि महानगरको चर्को आलोचना हुँदै आएको थियो । आलोचनापछि महानगरले खेल मैदान र खुला स्थान दुवै हुने गरी काम गर्न लागेको दाबी गर्दै आएको छ ।
खुलामञ्चको जमिन सतह बराबर गर्न पूर्वाधार कम्पनीसँग सम्झौता समेत गरिसकेको छ । महानगर स्रोतका अनुसार करिब ११ लाखमा सम्झौता भएको छ ।
सम्झौताअनुसार कम्पनीले सोमबारदेखि काम सुरु गरेको महानगरका सार्वजनिक निर्माण विभाग प्रमुख सुरज शाक्यले जानकारी दिए ।
खुलामञ्च २३ हजार ४१५ वर्गमिटर (४६ रोपनी १ दाम) क्षेत्रमा फैलिएको छ । मञ्चको टुँडिखेलतर्फ २२० मिटर लामो छ भने रत्नपार्कतर्फ १९० मिटर छ । चौडाइमा प्राधिकरणतर्फ करिब ११० मिटर छ भने वीर अस्पतालतर्फ ११७ मिटर छ ।
सार्वजनिक निर्माण विभागका प्रमुख शाक्यकाअनुसार जेठ मसान्तभित्र काम सकिनेछ । यसपछि बर्खाको पानी भेल भएर नबग्ने विश्वास महानगरको छ ।
महानगरले खुलामञ्चमा रहेको सबै भौतिक संरचना हटाएर गत माघमा दैनिक ५० जना जनशक्ति परिचालन गरेर ढुंगा टिपेको थियो ।
काठमाडौं टावर निर्माण थालिएपछि त्यहाँ भएको बसपार्क खुलामञ्चको रत्नपार्कतर्फ खण्डमा बारेर बसपार्क सञ्चालन गरिएको थियो ।
२०७२ सालको महाभूकम्पपछि वीर अस्पताल र दरबार हाइस्कुल पुनर्निर्माणका लागि निर्माण सामग्री राख्ने तथा जनशक्ति बस्ने ठाउँका रूपमा विकास गरिएको थियो ।
महानगरले खुलामञ्च सर्वसाधरणका लागि खुला गर्ने भन्दै खेल मैदान बनाउने तयारी गरेपछि ‘मुक्त टुँडिखेल’ लगायत अभियान्ताहरुले विरोध जनाएको थिए ।
विरोधपछि खुलामञ्चमा कुनै पनि भौतिक संरचना निर्माण नगरी खेल्न र बस्न मिल्ने गरी चउर निर्माण अघि बढाउने स्पष्टीकरण मेयर बालेन साहले दिएका थिए ।
महानगरले मौलिक दुबो राप्ने भनेको छ । तर अस्थायी गोलपोस्ट राख्ने योजना भने कायमै रहेको एक कर्मचारी बताउँछन् ।
‘अहिले सम्याएर मुख्यतः पानी बग्न नदिने र खेल्दा पनि सजिलो होस् भनेर पनि हो । नट एन्ड बोल्ट सिस्टमको गोलपोस्ट राखेर खेल मैदान बनाउने योजना हटेको छैन । बिहान बेलुका खेलकुद हुन्छ, दिउँसो खुला रुपमा छोड्ने योजना छ,’ महानगरका एक कर्मचारीले भने ।
प्रतिक्रिया 4