
काठमाडौं । गायिका ज्योति मगरको सांगीतिक कार्यक्रममा ढुंगा प्रहार भएपछि स्थिति तनावग्रस्त बनेको छ । वैशाख २२ गते जुम्लामा आयोजित कार्यक्रममा ज्योतिले प्रस्तुति दिंदै गर्दा ढुंगा प्रहार भएको जनाइएको छ ।
ज्योतिले पनि १० हजारको भीडमाझ आफूले प्रस्तुति दिंदा उक्त घटना भएको जनाएकी छन् । आफूले गीत गाउँदै गर्दा दर्शक नाच्न र झुम्न थालेपछि त्यहाँ रहेका बच्चा र महिला च्यापिने परिस्थिति आएको उनको फेसबुक स्टाटसमा उल्लेख छ ।
भीडमा घुसेर प्रहरीले लाठीचार्ज गर्न थालेपछि केही युवकले ढुंगा प्रहार गरेको ज्योतिले लेखेकी छन् । आधा घण्टा म्युजिक अफ गरेर माहोल साम्य बनेपछि आफूले पुनः गीत गाएर कार्यक्रम सकेको उनले उल्लेख गरेकी छन् ।
दर्शकले ढुंगा हानेर लखेटेको भन्दै सामाजिक सञ्जालमा आएका खबरलाई ज्योतिले आफूलाई घृणा गर्नेले फैलाएको भ्रम बताएकी छन् । ‘यदि ममाथि ढुंगामुढा प्रहार भएको भए म खुसी नै हुन्थें । बिना दर्शकको खाली चौरमा गीत गाउनु पो अपमान हो । १० हजार बढी दर्शकले पैसा तिरेर मलाई हेर्न आउँछन् भने म खुसी खुसीले ढुंगा खाइदिने हो,’ उनले भनेकी छन् ।
ज्योतिले सामाजिक सञ्जालमा जुम्लाको उक्त दृश्यको भिडियो पनि सेयर गरेकी छन् ।
प्रतिक्रिया 4