
२४ वैशाख, काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले बढीभन्दा बढी महिलालाई उद्यमी बनाउने उपायबारे आफूले सोचिरहेको बताएका छन् ।
आगामी आर्थिक वर्षको बजेटबारे महिला उद्यमीसँगको अन्तरक्रियामा उनले यस्तो बताएका हुन् । सोमबार मन्त्रालयमा उनले महिला उद्यमी महासंघका पदाधिकारीसँग छलफल गरेका हुन् ।
कार्यक्रममा महासंघ अध्यक्ष एवम् सञ्चार उद्यमी शोभा ज्ञवाली, डा. माला खरेल, अभिलाषा पौडेललगायतले महिला उद्यम प्रवर्द्धनका लागि बजेटमा समेट्नुपर्ने विषयबारे सुझाव दिए ।
कार्यक्रममा अर्थमन्त्री पुनले महिलाको आर्थिक अवस्था बलियो नभएसम्म मुलुकको अर्थतन्त्र सबल नहुने बताए ।
बजेट निर्माण गर्दा महिला उद्यमी लक्षित सहुलियतपूर्ण व्यवस्था गर्ने सोचमा आफू रहेको उनको भनाइ थियो ।
बढीभन्दा बढी महिलालाई कसरी उद्यमी बनाउन सकिएला भन्नेबारे आफूलाई सुझाव दिन उनले आग्रह गरे ।
‘महिलाको आर्थिक अवस्था राम्रो भए छोरीहरूले अनिवार्य गुणस्तरीय शिक्षा पाउने अवस्था बन्छ । राम्रो शिक्षा भएपछि छोरीहरू आफैं आत्मनिर्भर बन्छन्,’ अर्थमन्त्री पुनले भने, ‘छोरीहरू आर्थिक रूपले अघि आउँदामात्र राजनीति, प्रशासन, सामाजिक सेवा सबैतिर महिला अगाडि आउने वातावरण बन्छ ।’
मन्त्री पुनले मुलुकको समग्र विकास र आर्थिक समुन्नतिका लागि महिला आर्थिक रूपले बलियो हुनुपर्ने अनिवार्य सर्त रहेको उल्लेख गरे ।
मन्त्री पुनले महिलाका नाममा पास गर्दा घरजग्गा रजिस्ट्रेसनमा शुल्क छुट दिने नीतिका कारण २७ प्रतिशत महिला सम्पत्तिको मालिक भएको बताए । २७ प्रतिशत महिलासँग सम्पत्ति भएकाले व्यवसाय गर्दा बैंकले ऋण पत्याउने अवस्था भएको उनको भनाइ छ ।
अभिभावकमा समेत सम्पत्तिको हक राख्ने भएकाले पढाउनुपर्छ, छोराछोरी बराबर हो भन्ने धारणा विकास भएको उनले बताए ।
पुरुषलाई सम्पत्ति धितो राखेर व्यवसाय गर्छु भन्ने अवस्था भएको भन्दै उनले कमै मात्र छोरीको हातमा सम्पत्ति भएकाले ऋण लिएर व्यवसाय गर्ने अवस्था अझै नभएको बताए ।
‘यो वर्षको बजेटमा हजारौं छोरीलाई कसरी उद्यमी बनाउन सकिन्छ भन्ने विषयमा सोचिरहेको छु,’ उनले भने ।
प्रतिक्रिया 4