+
+

सहकारीको खोल ओढेर बदमासी गर्नेलाई कारबाही हुन्छ : रजिस्ट्रार

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २५ गते १४:४४
फाइल तस्वीर

२५ वैशाख, काठमाडौं । सहकारी विभागका रजिस्ट्रार पिताम्बर घिमिरेले सहकारीको खोल ओढेर बदमासी गर्नेलाई कानुनी कारबाही गरेरै छाड्ने बताएका छन् ।

उनले सहकारीको प्रभावकारी नियमनका लागि वैशाख मसान्तभित्रै ऐनको मस्यौदा सार्वजनिक गर्ने बताए । अब सहकारीलाई देखाएर गलत गर्नेलाई कारबाही गरेरै छाड्ने उनले चेतावनी दिए ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) ले आयोजना गरेको कार्यक्रममा उनले भने, ‘जनताको बचत जे सर्तमा राखेका थियौं, सोही सर्त बमोजिम फिर्ता गर्नु हाम्रो दायित्व हो ।  त्यो दायित्व राज्यको पनि हो । बचत फिर्ता गर्न सकेनौं भने ठूलो समस्या सिर्जना हुन्छ । सहकारीप्रतिको विश्वास टुट्छ, त्यसैले बचत फिर्ताका लागि पहल गर्नुपर्छ ।’

अहिले सहकारीमा प्रणालीगत र गैरप्रणाली दुवै समस्या रहेको उनले बताए । सहकारी ऐन, मूल्य र मान्यताका अनुसार सहकारीमा समस्या नआउनु पर्ने भएपनि कसरी यो समस्या आयो भन्नेमा सबै केन्द्रित भएर भएर अगाडि बढ्नु पर्ने उनको भनाइ छ ।

‘सबैले कमजोरी स्वीकार गर्नुपर्छ । नियामक निकायको कमजोरीले समस्या आयो भनिएको छ,’ उनले भने, ‘त्यसमा केही सत्यता भए पनि समस्या सिर्जना कसरी भयो भन्ने विषयको मनन् गर्नुपर्छ ।’

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष ओमदेवी मल्लले सहकारीमा सदस्यले पनि आफ्नो भूमिका निर्वाह नगर्नु समस्या सिर्जनाको एउटा कारण रहेको बताइन् । उनले सहकारीसँगै सहकारीका सदस्यले पनि सहकारको अपनत्व महसुस गर्नुपर्ने बताइन् ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले आफू बिरामी भएर भारत गएको समयमा भागेको भनेर गलत प्रचार भएको गुनासो गरे ।

उनले आफ्नो महत्वपूर्ण समय सहकारीमै बिताएको र सहकारीको समस्या समाधानका लागि काम गरिरहने बताउँदै आफूमाथि राजनीति भएको गुनासो पोखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?