
काठमाडौं । चार मिनेट २१ सेकेण्ड लामो ‘पुजार सार्की’को ट्रेलरले दर्शकलाई दुई प्रश्न गर्छ । पहिलो– के शास्त्र पढे बाहुन भइन्छ ? , दोस्रो– के व्यवस्था बदलिएर जातीय छुवाछूत हटेको हो ?
यसअघि ‘प्रसाद’ र ‘प्रकाश’बाट जातीय विभेद र भौगोलिक विपन्नताको मुद्दा उठाएका दिनेश राउतले यो निर्देशकीय फिचरमा पनि जातीय विभेदकै मुद्दालाई प्रश्न गरेका छन् ।
पञ्चायत अन्त्य भएर बहुदल आएको ४० वर्षअघिको राजनीतिक पृष्ठभूमिमा भनिएको ‘पुजार सार्की’को कथाले दर्शकलाई त्यो कालखण्डमा लैजान्छ, जतिबेला केही कम्युनिस्ट र क्रान्तिकारी जातीय विभेदविरुद्ध आफ्नो जात ‘झार्न’ समेत तयार थिए ।
ट्रेलरले फिल्मको कथावस्तु र चरित्रबारे महत्वपूर्ण प्रकाश पार्छ । आर्यन सिग्देल पुजारको रोलमा छन् । प्रदीप खड्का मैतबहादुर नामक दलित युवकको भूमिकामा छन् । पल शाह क्रान्तिकारी र प्रगतिशील विचार राख्ने सोच भएका पात्र । अञ्जना बराइलीले दलित युवती र परीक्षा लिम्बूले कथित उपल्लो जातको भूमिका चित्रण गरेका छन् ।
फिल्मको कथा अन्तरजातीय सम्बन्धको जटिलता वरपर घुम्छ । मन्दिरको पुजारी आर्यन मैयाँ (अञ्जना बराइली)लाई मन पराउँछ । ऊ विवाहका लागि आफ्नो जातबाट ‘झर्न’ समेत तयार छ । ऊ भन्छ- ‘ब्राह्मण जात होइन, व्यवहार हो ।’ शास्त्र पढे बाहुन भइन्छ भन्दै ऊ शास्त्र पढ्न मैतेलाई प्रेरित गर्छ ।
मैते गौमाया (परीक्षा)लाई मन पराउँछ । राति राति भेट्न जान्छ । शास्त्र पढेर बाहुन हुने अनि विवाह गर्ने उसको लक्ष्य छ । गौमाया र मैयाँलाई आफ्नो अधिकार प्रयोग गरेर मैते र पुजारीसँग विवाह गर्न पल शाहको पात्रले आग्रह गर्छ । यसपछि कथाले नयाँ मोड लिन्छ । गाउँले र उनीहरुको परिवारसँग यी दुईको रस्साकस्सी चल्छ ।
अन्तरजातीय प्रेम गर्न खोजेका दुई युवकलाई गाउँलेले लखेट्छन् । के यी दुई पात्रले जातीय विभेदको पर्खाल तोडेर विवाह गर्लान् ? यहाँनेर प्रेमको जित हुन्छ कि कथित जातीय व्यवस्थाको ? ‘पुजार सार्की’को कथा यही वरपर घुम्छ । पोखराको सराङकोट नजिकको कास्कीकोट गाउँमा खिचिएको यो फिल्मलाई विकास सुवेदीले लेखेका हुन् ।
ट्रेलर रिलिज गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा निर्देशक राउतले अहिले पनि जातीय विभेद र वर्ण व्यवस्था विद्यमान भएकाले यो समयमा फिल्म निर्माण गर्नु सान्दर्भिक हुने बताएका थिए । किङ्डम नेटवर्कको ब्यानरमा यो फिल्मलाई सुवास भुसालले निर्माण गरेका हुन् ।
‘पुजार सार्की’ फिल्म जेठ १० गतेबाट प्रदर्शन तयारीमा छ ।
प्रतिक्रिया 4