
२५ वैशाख, जनकपुरधाम । धनुषाको कमला नगरपालिका–६ मरानका ७५ वर्षका सतिलाल पासवान ४ महिनादेखि खरबुजा कुर्न कमला नदीको बगरमै बास बसिरहेका छन् ।
बगरको करिब तीन कठ्ठा जग्गामा खरबुजा लगाएका उनले लौका, करेला र खिरी पनि खेती गरेका छन् । उनको खेतमा अरु किसानहरुको तुलनामा खरबुजा केही सप्रेका छन् । तर सतिलाल खुशी हुन सकेका छैनन् । कारण हो वैशाखको तेस्रो सातासम्म खरबुजा बिक्री भएको छैन ।
‘पोहोर यो बेलासम्म आधाभन्दा बढी खरबुजा बेचिसकेका हुन्थ्यौं । तर यसपालि खडेरीले फल ढिलो लाग्यो । सोचेजस्तो आम्दानी हुन्नजस्तो छ’, सतिलाल भन्छन् ।
सतिलालले कमलाको बगरमा खरबुजा खेती गर्न थालेको ५० वर्ष भइसक्यो । ४/५ महिना बगरमै बसेर खरबुजाको हेरचाह गर्ने उनले १२ जनाको परिवारको खर्चको ठूलो हिस्सा खरबुजा बेचेकै आम्दानीले पुर्याउँथे ।
प्रतिकठ्ठा २०० रुपैयाँका दरले जग्गा भाडामा लिएका उनले खरबुजा फलाउन माघ महिनादेखि दिनरात मिहिनेत गरेका छन् । तर अहिलेसम्म सोचेजस्तो खरबुजा बिक्री नहुँदा घाटा हुने हो कि भन्ने चिन्तामा परेका छन् ।
‘वर्षको ४/५ महिनाको खर्च बगरकै खरबुजा खेतीबाट चल्छ । यस वर्ष धेरै लगानी र मिहिनेत छ, तर सोँचे जस्तो फल छैन । त्यसमा पनि ढिलो गरी फल्यो’, सतिलाल भन्छन् ।
सतिलालका छिमेकी रामलोचन पासवानले पनि तीन कठ्ठामा खरबुजा खेती गरेका छन् । तर, उनको बारीको खरबुजा यसवर्ष गत वर्षको जस्तो सप्रिएको छैन ।
‘पहिला समयमा पानी पर्दा खेती सप्रिन्थ्यो । उत्पादन राम्रो हुन्थ्यो । यसपटक त लगानी डुब्ने स्थिति छ । हेर्नुस् पानी नपरेर कस्तो भएको छ, फल पनि राम्रो लागेन’, रामलोचनले खेती देखाउँदै गुनासो गरे ।
उनका अनुसार छेउमै कमला नदी भए पनि आफ्नो दमकल (पानी तान्ने मेसिन) नहुँदा घण्टाको ३०० रुपैयाँ तिरेर सिँचाइ गर्नुपर्छ । बलौटे माटो भएकाले छिटो छिटो सिँचाइ गर्नुपर्दा धेरै खर्च लाग्छ ।
‘सरकारले हामी जस्तो किसानको लागि खेतमा ट्युबेल, सानो दमकल, समयमा मलखादको व्यवस्था गरिदिएको भए यस्तो हुने थिएन’, उनी भन्छन् ।
सतिलालकै छिमेकी महेन्द्र पासवानले पाँच कठ्ठामा खरबुजा लगाएका छन् । खेती लगाउँदा उनको करिब ८ हजार रुपैयाँ खर्च भएको छ । उनी खरबुजा रेखदेख गर्न चार महिनादेखि छाप्रो बनाएर कमलाकै बगरमा छन् ।
‘समयमा पानी नपरेर खेती सपे्रन’, महेन्द्र भन्छन्, ‘अघिल्लो वर्ष यतिबेला राम्रो आम्दानी भएको थियो । यसपालिको खेती खडेरीले खायो ।’
गत वर्ष उनले पाँच कठामा १० क्वीन्टल खरबुजा फलाएका थिए, यसबाट ५० हजार रुपैयाँ भन्दा बढी आम्दानी गरेका थिए । घरखर्च चलाउन उनलाई खरबुजा खेतीको सिजन बाहेक अरु बेला मजदुरी गर्नुपर्छ ।
सरकारले दमकल र मलखादको व्यवस्था गरे धेरै खरबुजा लगाएर वर्षभरिकै घरखर्च निकाल्न सकिने महेन्द्र बताउँछन् । तर सरकारले आफूहरुको समस्या नबुझिदिएको महेन्द्र गुनासो गर्छन् ।
विपन्न आर्थिक अवस्थाका धेरै परिवारले कमला नदी किनारमा खरबुजा खेती गरेका छन् । उनीहरुको जीवन निर्वाहको ठूलो आधार यही खरबुजा खेती नै हो ।
सिँचाइ र मलखादको उचित व्यवस्था नभएको र यस वर्ष लामो खडेरी पनि परेकाले कतिपय किसानले खरबुजा खेती नै छाडेका छन् । यो वर्ष पनि धेरै किसानले खडेरीको कारण खेती छाडेको स्थानीय रामविलास पासवान बताउँछन् ।
‘म जस्तो धेरै किसानको यो बगर ठूलो सहारा बन्छ । तर खडेरीका कारण धेरैले खेती छाड्दै गएका छन्’, रामविलाल भन्छन् ।
स्थानीय किसान तनुकलाल पासवान सरकारले सानो दमकल वा ट्युबेल र मलखाद व्यवस्था गरिदिने हो भने खरबुजा खेती गर्नेहरुलाई धेरै राहत हुने थियो ।
‘सरकार स्वदेशमा रोजगारी दिन सक्दैन । खेती गर्दा सहयोग गर्दैन । जहाँतहाँ सरकारै सरकार छ, तर सहयोग केही छैन’, उनले भने ।
गर्मी बढेसंगै बजारमा खरबुजाको माग बढेको छ । अहिले मधेशका बजारमा प्रति किलो ४० देखि ५० रुपैयाँको दरले खरबुजा बिक्री हुने गरेको छ । किसानहरुका अनुसार खरबुजा राम्रो सप्रिए एक कठ्ठाबाट १० हजार रुपैयाँ भन्दा बढी आम्दानी हुन्छ ।
सरकारले खरबुजा खेतीमा सहयोग गरे कमला नदीको बगरमा सयौं हेक्टर जग्गामा खरबुजा, खिरी, करेला, लौका, फर्सी फलाएर आम्दानी गर्न सकिने किसानहरु बताउँछन् ।
प्रतिक्रिया 4