+

भ्रूण पनि भण्डारण गरेर आफूले चाहेको बेला बच्चा जन्माउन सकिन्छ (भिडियो)

२०८१ वैशाख  २६ गते ७:३० २०८१ वैशाख २६ गते ७:३०
भ्रूण पनि भण्डारण गरेर आफूले चाहेको बेला बच्चा जन्माउन सकिन्छ (भिडियो)

भर्खरै मात्र धेरैजनाले दाम्पत्य जीवन सुरु गरिसकेका छन् । त्यसैले उनीहरुको निम्ति सरोकारको विषय हुनसक्छ, निःसन्तानपन ।

निःसन्तानपन कस्तो स्थितिलाई भन्ने ? त्यसका कारण के हुनसक्छ ? यदि सन्तान जन्मिएन भने के गर्ने ? के आईभिएफ विधिबाट यो सबै सम्भव हुन्छ रु यो कस्तो विधि हो ? स्वभाविक रुपमा जाग्ने प्रश्न हुन् यी ।

त्यसो त अहिले ढिलो विवाह गर्ने प्रवृत्ति व्यापक छ । यस्तो स्थितिमा गर्भधान गर्न कुनै कठिनाइ हुन्छ ? ३५ वा ४० बर्ष उमेरपछि गर्भधान गर्नु परेमा के गर्ने  ?

यी सम्पूर्ण कुरालाई सरल भाषामा बुझौं ।

निःसन्तानपन के हो ?

कुनै पनि दम्पतीले सन्तानको योजना बनाएका छन् । त्यस अनुरुप कुनै गर्भनिरोधक साधन प्रयोग नगरी नियमित यौन सम्पर्क गरेका छन् र एक वर्षसम्म पनि यो क्रम जारी छ । तर, गर्भ रहेन भने त्यस्तो स्थितlलाई निःसन्तानपन भनिन्छ ।

के कारणले यस्तो हुन्छ ?

यसको एउटा मात्र कारण छैन । र, यसमा एकजना मात्र जिम्मेवार छैनन् ।

महिलाको हकमा भन्ने हो भने, डिम्ब निष्कासन हुन नसक्नु वा त्यसको वृद्धिविकास हुन नसक्नु एउटा कारण हो । डिम्बवाहिनी नलीमा अवरोध, पाठेघरमा पटकपटक संक्रमण, वंशानुगत समस्या र ढिलो विवाह जस्ता थुप्रै कारण छन् ।

पुरुषको हकमा शुक्रकिटको संख्यामा कमी हुनु, कमसल गुणस्तरको हुनु जस्ता कारणले निःसन्तानपनको समस्या ल्याउँछ ।

वैदेशिक रोजगार पनि अहिले निःसन्तानपनको एउटा मुख्य कारण बनेको छ । खाडी मुलुकको चर्को गर्मीमा काम गर्दा वीर्यको गुणस्तरमा कमी आउँछ ।

अहिले विभिन्न हिसाबले परिपक्क भएर मात्र विवाह गर्ने प्रवृत्ति छ । पहिले जस्तो २०-२२ वर्ष पुगेपछि विवाहका लागि हतार गरिंदैन । आरामले ३०-३२ पछि विवाह गरिन्छ । यसको असर हुन्छ, गर्भाधानमा । खासगरी महिलाको हकमा ३५ वर्ष पार गरेपछि गर्भाधानमा समस्या आउन सक्छ ।

निःसन्तानपन भए के गर्ने त ?

निःसन्तान दम्पतीका लागि अहिले वरदान हो, आइभिएफ । बोलीचालीको भाषामा यसलाई ‘टेस्ट ट्युब बेबी’ भन्ने गरेका छन् ।

आईभिएफ के हो ?

यो एक किसिमको गर्भधारण गराउने कृत्रिम प्रविधि हो । यसको केही प्रचलित विधि छन् ।

जस्तो कुनै महिलामा डिम्वको समस्या हुनसक्छ । यस्तो अवस्थामा महिनावारी भएको दोस्रो दिनदेखि हर्मोनयुक्त सुइ दिइन्छ । यसले डिम्बको वृद्धि विकास राम्ररी हुन्छ । परिपक्व डिम्ब सानो विधिमार्फत् निकालेर प्रयोगशालामा उनको पुरुष पार्टनरको शुक्रकिटसँग मिलन गराइन्छ ।

डिम्ब र शुक्रकिटको मिलनबाट निषेचन प्रक्रिया गराईन्छ । उक्त निषेचित डिम्ब महिलाको गर्भाशयमा राखिन्छ । यही प्रक्रियालाई आईभिएफ भनिन्छ ।

महिलाको डिम्ब भण्डारण

एकल महिला छन् । अर्थात् विवाह भएको छैन । चाँडै विवाह गर्ने कुनै योजना पनि छैन । यसको अलावा महिलाले केमो लिनुपर्ने अवस्था आयो वा डिम्बाशयमा दखल पुग्ने कुनै परिस्थिति आउनु अगाडि त्यस्ता महिलाको डिम्बलाई भण्डारण (फ्रिज) गरेर राख्न सकिन्छ । जसलाई एग फ्रिजिङ भनिन्छ । पछि विवाह भएपछि वा उपचार सम्पन्न भएपछि सोही डिम्बलाई श्रीमानको शुक्रकिटसँग मिलन गराएर भ्रूणमा विकास गर्न सकिन्छ ।

यसरी संकलित डिम्बलाई आफ्नो आवश्यकता वा इच्छा अनुसार १०-१५ वर्षसम्म भण्डारण गरेर राख्न सकिन्छ । आफूलाई बच्चा जन्माउन मन लागेपछि गर्भधारण गर्न सकिन्छ ।

पुरुषको वीर्य भण्डार

पुरुषले पनि आफ्नो वीर्यलाई भण्डारण गर्न गर्न सक्छन् । यो कुन स्थितिमा जरुरी हुनसक्छ भने कुनै पुरुष वैदेशिक रोजगारीमा जानु छ वा सन्तानको तुरुन्त योजना छैन भने ।

पछि सोही वीर्य प्रयोग गरी आफ्नी श्रीमतीको डिम्बमा निषेचन गराएर भ्रूण विकास गर्न सकिन्छ ।

निषेचित डिम्ब पनि भण्डारण

प्रविधिले दिएको यो एक उच्चतम सुविधा हो । यदि कुनै दम्पतीले तुरुन्त सन्तानको योजना बनाएका छैनन् भने उनीहरुले आफ्नो डिम्ब र शुक्रकिटबाट निषेचन गराएर त्यसलाई भण्डारण गर्न सक्छन् । यसलाई उनीहरुले आफ्नो अनुकुलता अनुसार चाहेको बेला पाठेघरमा प्रतिष्ठापन गराएर गर्भधान गराउन सक्छन् ।

यसले के फाइदा हुन्छ भने उनीहरुले आफ्नो उमेर छँदै स्वस्थ डिम्ब र गुणस्तरिय शुक्रकिटबाट भ्रूण विकास गर्न सक्छन् ।

डिम्ब भण्डारण गरेको छ भने पनि त्यसलाई निकालेको केही घण्टामा शुक्रकिट इन्जेक्ट गरेर त्यसलाई निषेचित गराएर ५ देखि ७ दिनमा तयार भएको भ्रूण वा निषेचित डिम्बलाई उपयोगमा ल्याउन सकिन्छ ।

यस दम्पतीले चाहेको बेला गर्भधान गर्न सकिन्छ । यसका लागि महिलालाई केही औषधि खान दिइन्छ, जसले पाठेघर राम्ररी तयार हुन्छ । त्यसरी तयार पारिएको पाठेघरमा लगेर निषेचित डिम्ब राखिन्छ । त्यसपछि प्राकृतिक रुपमा भ्रूणलाई आमाको पाठेघरमा विकास हुन दिइन्छ ।

डिम्ब दान

महिलाहरुको उमेर बढी भएमा वा कतिपय शारीरिक समस्या भएमा डिम्बको गुणस्तर कमसल हुनसक्छ । यस्तो अवस्थामा गर्भधान गर्दा पछि बच्चाको स्वस्थ्य राम्रो नहुन सक्छ । त्यसैले बच्चा स्वस्थ हुनका लागि डिम्ब एकदमै राम्रो हुन जरुरी छ ।

पुरुषको शुक्रकिट कमसल भएको अवस्थामा जसरी वीर्य दान गराउन सकिन्छ, त्यसैगरी महिलाको डिम्ब राम्रो नभएमा अरु कुनै महिलाबाट स्वस्थ डिम्ब दान लिन सकिन्छ ।

यसरी अरु महिलाबाट लिएको डिम्बलाई आफ्नो श्रीमानको शुक्रकिटसँग निषेचन गराउन सकिन्छ । अनि त्यसलाई आफ्नै गर्भाशयमा लगेर हुर्काउन सकिन्छ ।

कसले गर्न सक्छ डिम्ब वा शुक्रकिट दान ?

कुनै महिलाको डिम्ब कमसल छ वा डिम्ब उत्पादन भएको छैन भने पनि गर्भाधान हुँदैन । यसैगरी महिलाको उमेर बढी छ भने उनको डिम्बको गुणस्तर राम्रो नहुन सक्छ । यी अवस्थाहरुमा अरु कुनै महिलाको डिम्ब दान लिन सकिन्छ ।

खासगरी ३० बर्ष उमेर पुरा नगरेको, स्वस्थ, कुनै पनि समस्या नभएका महिलाबाट डिम्ब दान लिन सकिन्छ । यसैगरी महिला र पुरुष दुवैमा समस्या छ । अर्थात् महिलाको डिम्ब र पुरुषको शुक्रकिट पनि कमसल भएमा अरु पुरुष र महिलाको डिम्ब र शुक्रकिट दान लिन सकिन्छ ।

डिम्ब र शुक्रकिट किन स्वस्थ हुन जरुरी छ ?

मानसिक र शारीरिक रुपले स्वस्थ बच्चा जन्माउनका लागि आमाको डिम्ब र बुवाको शुक्रकिट पनि गुणस्तरिय हुन जरुरी छ ।

तर, कतिपय कारणले महिलाको डिम्ब र पुरुषको शुक्रकिट गुणस्तरहीन हुन सक्छ । वा त्यस्तो उत्पादन नहुन पनि सक्छ । यस्तो अवस्थामा गर्भाधान गर्नै नसकिने हुन्छ ।

कुनैपनि महिलाले आफू जन्मिदा नै निश्चित डिम्बको भण्डार लिएर जन्मिएका हुन्छन् । उनको उमेर २८-२९ वर्षसम्म हुँदा उक्त डिम्बको संख्या र गुणस्तर कायम रहन्छ । तर, जति उमेर बढ्दै जान्छ, उक्त डिम्बको गुणस्तर र संख्या घट्दै जान्छ ।

पुरुषको हकमा पनि यस्तै हुन्छ । एउटा निश्चित उमेरसम्म उनको शुक्रकिटको संख्या र गुणस्तर राम्रो हुन्छ । उमेर ढल्कँदै गएपछि भने त्यसमा ह्रास आउँछ ।

(डा. श्रेष्ठ प्रसूति तथा स्त्रीरोग एवं प्रजनन् विशेषज्ञ हुन् । उनी वात्सल्य नेचुरल आईभीएफमा कार्यरत छिन् ।)

प्रसूति तथा स्त्रीरोग एवं प्रजनन रोग
लेखक
डा. लता श्रेष्ठ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?