+

तिर्खा लाग्दा पानी पिउने कि जुस ?

२०८१ वैशाख  २६ गते १३:४२ २०८१ वैशाख २६ गते १३:४२
तिर्खा लाग्दा पानी पिउने कि जुस ?

गर्मीमा शरीरबाट पसिना धेरै निस्किने भएकाले छिनछिनमा तिर्खा लागिरहेको हुन्छ । त्यसैले जाडोयामको तुलनामा गर्मीमा पानीको कमी महसुस भइरहन्छ, जसलाई डिहाइड्रेसन भनिन्छ ।

टाउको दुख्नु, ओठ, मुख सुक्नु, थकान र शरीर गल्नु, चक्कर लागेजस्तो हुनु, खानामा अरुचि हुनु, छाला सुक्खा हुनु, तातो र रातो हुनु, मुटुको धड्कन बढ्नु, ब्लड प्रेसर घट्नु जस्ता लक्षण पानीको कमीले देखिन्छन् । यस्तो अवस्थामा शरीरमा पानीको कमी भएको बुझ्न सकिन्छ । शरीरलाई हाइड्रेसन अर्थात् पानीको कमी हुन नदिन पानी पिइरहनुपर्छ ।

तिर्खा लाग्दा पानी भन्दा उत्कृष्ट कुरा अरु हुँदैन । किनभने यसमा जिरो क्यालोरी हुन्छ । कतिपयले तिर्खा लाग्दा पानीको सट्टा सोडा, जुस वा कोल्ड ड्रिंक्स पिउने गर्छन् । तर त्यसले शरीरलाई पानीले जति हाइड्रेट गर्दैन । त्यसैले सबैले बुझ्नुपर्ने कुरा पानीको विकल्प जुस होइन । वास्तवमा पानीको विकल्प भन्ने नै हुँदैन ।

पानीको सट्टा कहिलेकाहीं तरकारी वा फलफूलको जुस जस्तै सुन्तलाको जुस, काँक्रो जुसलगायत मौसमी फलफूलको ताजा जुस पिउनु फाइदाजनक हुन्छ । तर यसो भन्दैमा पानीको सट्टा दिनदिनै फलफूल जुस मात्र पिउने गर्नुहुँदैन । यसले शरीरमा नकारात्मक असर गर्छ ।

कसरी गर्छ ?

फलफूलको जुस, कोल्ड ड्रिंक्स, क्यान जुस, सोडाजस्ता पेयपदार्थमा चिनी र क्यालोरीको मात्रा उच्च हुन्छ । जसले गर्दा यसले अत्यधिक सेवनले रगतमा चिनीको मात्रा बढाउने जोखिम हुन्छ भने क्यालोरीका कारण मोटोपनको जोखिम हुन्छ । त्यस्तै खानामा रुचि घट्ने, दाँत बिग्रिने, मधुमेह, हार्मोन गडबडी जस्ता समस्या हुनसक्छ । पाचन प्रक्रियामा समस्या भएर कब्जियत तथा अन्य पेटसम्बन्धी समस्या हुने सम्भावना हुन्छ । त्यस्तै उच्च रक्तचापको कारण मुटुसम्बन्धी समस्या हुनसक्छ ।

धेरै तिर्खा कसलाई लाग्छ ?

गर्भवती, स्तनपान गराइरहेका महिला, घाममा बसेर काम गर्ने व्यक्ति, शारीरिक श्रम गर्नुपर्ने व्यक्ति र बिरामी भएको अवस्थामा धेरै तिर्खा लाग्छ । जसकारण उनीहरुले अन्य व्यक्तिले भन्दा बढी पानी पिउनुपर्छ । एक स्वस्थ मानिसले दिनमा छदेखि आठ गिलास अर्थात् दैनिक दुईदेखि तीन लिटर पानी पिउनुपर्छ । अन्यले तीनदेखि चार लिटरसम्म पनि पिउनुपर्छ ।

के पिउने, के नपिउने ?

संसारमा पानीभन्दा स्वस्थ र सस्तो पेय पदार्थ केही पनि छैन । तर पनि कहिलेकाहीं तिर्खा लाग्दा पानीको सट्टा दूध, ताजा फलफूलको जुस, नरिवलको पानी, जीवनजल, भेजिटेबल जुस दिनमा एक-दुई गिलाससम्म पिउन सकिन्छ । यसले शरीरलाई डिहाइड्रेसनको समस्याबाट जोगाउन मद्दत गर्छ । तर जुस खानुभन्दा पहिला कुन जुसमा कति चिनीको मात्रा छ भनेर मापन गरेर पिउन सके अझ लाभदायक हुन्छ ।

त्यस्तै बजारमा पाइने प्याकेजिङ कोल्ड ड्रिंक, सोडा, प्याकेजिङ फलफूलको जुस सकेसम्म खानुहुँदैन । किनभने यसमा हाइ सुगर, हाइ क्यालोरी र लामो समय टिकाउन विभिन्न केमिकल र रंग मिसाइएको हुन्छ, जसले शरीरमा नकारात्मक असर गर्छ ।

जुस तिर्खा पानी प्रा. डा. लोचन कार्की
प्रा.डा. लोचन कार्की
लेखक
प्रा.डा. लोचन कार्की
जनरल फिजिसियन 

मेडिकल काउन्सिल दर्ता नम्बर : ४६८७ एमबीबीएस, एमडी, पोस्ट ग्राजुएसन इन एभिएसन मेडिसिन वीर अस्पताल, फ्रन्टलाइन अस्पताल, हिमाल अस्पतालमा कार्यरत, नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय