
२६ वैशाख, जनकपुरधाम । बुधबार दिउँसो १ बजेतिर जिल्ला प्रशासन कार्यालय धनुषाको कोठा नम्बर १५ को प्रतिलिपि शाखामा चारवटै झ्याल बाहिर सेवाग्राहीको भिड थियो । त्यही भिडमा झ्याल बाहिर उभिरहेकी थिइन्, रेखादेवी यादव ।
धनुषा नगरपालिका–२ की रेखादेवी नागरिकताको प्रतिलिपि निकाल्न आएकी थिइन् । कर्मचारीले अभिलेख खोजेर दिन्छन् कि भन्ने पर्खाइमा रेखासँगै उनका श्रीमान वीरेन्द्र यादव पनि सँगै थिए ।
यादव दम्पती नागरिकता प्रतिलिपिका लागि एक महिनादेखि नै यसरी धपेडी लगाउँदा लगाउँदा थकित भइसकेका छन् ।
‘श्रीमती रेखाको नागरिकता प्रतिलिपिका लागि होली पर्व अघि नै निवेदन पेश गरेको थिएँ । अहिलेसम्म ७, ८ दिन आइसके । तर, यो मिलेन त्यो मिलेन भन्दै कर्मचारीहरु यतादेखि उता पठाउँछन्’, वीरेन्द्रले गुनासो गरे ।
जिल्ला प्रशासनमा कर्मचारीको पारा देखेर वीरेन्द्र वाक्क दिक्क भइसकेका छन् । निराश हुँदै भन्छन्, ‘हेर्नुस् यो कोठामा अभिलेख खोज्ने कर्मचारी छैन । केवल टाइम दिएर कुराउँछन् । यो त एकदिनको काम हो । तर कहिले प्रतिलिपि बन्छ, ठेगान छैन ।’
वीरन्द्रलाई वैदेशिक रोजगारमा जान भिसा आइसकेको छ । अगामी मे २० तारिखमा उड्नुअघि राष्ट्रिय परिचयपत्र बनाउनैपर्ने बाध्यता उनको छ । जसका लागि श्रीमती रेखाको नागरिकता पनि आवश्यक परेको छ ।
रेखाको नागरिकता पहिल्यै हराइसकेकाले त्यसकै प्रतिलिपि निकाल्न उनीहरु जिल्ला प्रशासन कार्यालयको चक्कर लगाइरहेका छन् ।
त्यस कोठाको उत्तरतर्फको अर्को झ्याल बाहिरबाट प्रतिलिपिकै लागि उभिएका थिए, मिथिला विहारी नगरपालिका–८, कचुरीका राकेशकुमार गिरी । वैशाख १७ गते प्रतिलिपिका लागि कागजात पेश गरेका राकेशलाई निरन्तर धपेडी लगाउँदै छन् ।
कोठा नं. १५ का कार्यालय सहयोगी नवल यादवले अभिलेखका ३, ४ पटक समय दिइसकेका छन् । तर, आउँदा ‘अझै भेटाएको छैन’ भनेर पन्छिने गरेको राकेशको गुनासो छ ।
‘अस्ति सोमबार आउँदा ४ बजेको समय दिनुभयो । ४ बजे पुग्दा भोलि आउनु भन्नु भयो । हिजो आउँदा आजको समय दिनुभयो । तर, आज आउँदा कोठामै हुनुहुन्न । यताबाट उत्ता उत्ताबाट उत्ता कर्मचारीहरु पठाउनु हुन्छ’, राकेश थकित सुनिन्छन्, ‘पीडित भइसकेको छु ।’
त्यही बीचमा कार्यालय सहयोगी कोठाभित्र छिरे । सेवाग्राहीहरु कार्यालय सहयोगीलाई ‘सर… सर…’ भन्दै गुहारे । उनले कुनै प्रतिक्रिया नदिइकनै त्यहाँबाट फेरि बाहिरिए ।
त्यही कोठाको दक्षिण तर्फको झ्याल बाहिर उभेका धनुषाको धनौजी गाउँपालिका–२ का रामसागर भगत धनुषाधामका वीरेन्द्रजस्तै पीडित थिए । श्रीमती सोनम देवीको प्रतिलिपि लिन वैशाख १८ गतेदेखि उनी निरन्तर जिल्ला प्रशासन धाइरहेका छन् ।
‘वैशाख १८ गते नै प्रतिलिपिको लागि कागजात पेश गरेको थिएँ । त्यसबेलादेखि दुबैजना आउजाउ गरिरहेको छु’, रामसागरले गुनासो गरे, ‘घरी यता घरी उता पठाउँछन् । अब यहाँ भन्छ अभिलेखै भेटिरहेको छैन । पीडित भइसकेको छु ।’
कोठा नम्बर १५ मा सेवाग्राहीले कागजात पेश गरेपछि अभिलेख खोजेर दिन अर्को दिनको समय दिने गरिएको छ । कोठा नंं १५ बस्ने एक कर्मचारीका अनुसार अभिलेख खोज्ने एकजना मात्र कार्यालय सहयोगी छन् ।
केही दिनअघिसम्म त्यसमा काम गर्ने अर्का कार्यालय सहयोगी हटाइएपछि अभिलेख खोज्न समय लाग्ने भन्दै त्यहाँ पुगेका सेवाग्राहीलाई अर्को दिनको समय दिने गरिएको छ ।
तर, भनेको समयमा भने अभिलेख नखोज्ने फेरि आलटाल गर्ने गरिएको सेवाग्राही धनुषाको बटेश्वर गाउँपालिकाकी सुशीला कुमारी महतोको गुनासो छ ।
जिल्ला प्रशासन कार्यालय धनुषामा आउने प्रायः सेवाग्राहीको समस्या गुनासो उनीहरुको भन्दा भिन्न हुन्न । सानो कामको लागि हप्तौं धाउनु पर्दा सेवाग्राही वाक्क दिक्क छन् । सेवाग्राहीको चाप पनि कम हुन्न ।
कार्यालयका एक अधिकृतले अनलाइन प्रणालीअनुसार नागरिकताको प्रतिलिपि दिनुपर्ने भएकाले प्रक्रिया पूरा गर्न लामो समय लाग्ने बताए ।
प्रमुख जिल्ला अधिकारी रामुराज कडेरीयाले जनशक्ति अभाव र सेवाग्राहीको अत्यधिक चापले सेवाप्रवाहमा कठिनाइ हुने गरेको बताए ।
‘जनशक्तिको अभाव छ । वर्षौं पहिलेको दरबन्दी अनुसार कर्मचारी छ । तर, मधेश प्रदेशकै राजधानी भएकाले सेवाग्राहीको संख्या अत्यधिक बढेको छ’, कडरियाले भने, ‘कागजात भेरिफाइ नगरी हतारमा काम गरे त्रुटि हुन सक्छ । त्यस कारण अलि असहज भएको हो ।’
उनले छिटोछरिता सेवा प्रवाहको लागि जिल्लाको अन्य ठाउँमा इलाका प्रशासन कार्यालयको आवश्यक्ता रहेको बताए । अहिले जिल्लामा यदुकोहामा मात्र इलाका प्रशासन कार्यालय छ । ढल्केबरमा इलाका प्रशासन राख्ने कुरा लामो समयदेखि चलेपनि अहिलेसम्म हुन सकेको छैन । कडेरीयाले सेवा प्रवाह सहज गर्ने प्रयास गरिरहेको बताए ।
प्रतिक्रिया 4