+
+

सरकारलाई उपेन्द्रको सकसपूर्ण समर्थन

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २६ गते २०:४८
जसपा नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा उपेन्द्र यादव ।

२६ वैशाख, काठमाडौं । अमेरिकाबाट काठमाडौं फर्केको भोलिपल्टै उपप्रधानमन्त्री उपेन्द्र यादव मंगलबार बिहान प्रधानमन्त्री निवास गए ।

एमालेसहितको नयाँ सत्ता गठबन्धनलाई नेतृत्व गरिरहेका प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बसेर ‘परिस्थितिलाई स्पष्ट पार्ने’ काम भएको उनको भनाइ थियो ।

नेपालको राजनीति अहिले यस्तो चरणमा प्रवेश गरेको छ, जहाँ आफ्नै साझेदारले साझेदारीप्रति आफ्नो प्रतिवद्धताबारे छिनछिनमा स्पष्ट पार्नु परिरहन्छ । यादवले प्रधानमन्त्रीसँग त्यही कोणबाट कुरा भएको अनलाइनखबरसँग सुनाएका थिए ।

प्रधानमन्त्रीले पनि ‘फुट्नु राम्रो होइन, मिल्नुस्’ भनी आफूलाई सल्लाह दिएको यादवले बताएका थिए । तर यति सरसल्लाहले उनलाई पुग्नेवाला थिएन । प्रतिनिधिसभामा १२ सिट सांसद रहेको जसपा नेपाल फुटाउँदै अशोक राई, राजेन्द्र श्रेष्ठ लगायतले जसपा गठन गरेपछि यादवले त्यसबारे आफ्नो धारणा राख्न बुधबार पत्रकार सम्मेलन गरे ।

उनले राई, श्रेष्ठलगायतलाई आफू विदेशमा रहेका बेला पार्टी चलाउनुस् भनेको, तर उल्टै विभाजन गरेको भन्दै गुनासो गरे । सकिन्छ भने अझै पनि फर्कन आह्वान गर्छु भनी फकाउन खोजे ।

समग्र पत्रकार सम्मेलनमा यादवको प्रस्तुति सुन्दा उनी रक्षात्मक रहेको बुझ्न कठिन थिएन । तर एउटा प्रश्नमा भने यादवले आफ्नो भावभंगी बदले । त्यो प्रश्न सरकारलाई दिइआएको समर्थनबारेमा थियो ।

प्रचण्ड मन्त्रिपरिषद्का एक उपप्रधानमन्त्री तथा अहिलेको सत्ता समीकरणका साझेदारलाई नै लक्षित गरेर यो प्रश्न सोधिनु आफैंमा रोचक थियो । त्यसउपर यादवले जवाफ दिए, ‘हाम्रो समर्थनमा फेरबदल भएको छैन, तर बाँकी कोर्स कसरी जान्छ भन्ने त, अब एक हातले ताली बज्दैन । उहाँहरु स्टेकहोल्डरहरुले (प्रचण्ड र सत्ता साझेदार) के गर्नुहुन्छ भन्ने उहाँहरुतर्फको कुरा हो ।’

यादवको भनाइको सार खिच्दा ‘परिस्थितिलाई स्पष्ट पार्ने’ प्रयास मंगलबार सम्पूर्ण रुपमा सफल भएको थिएन भन्ने बुझिन्छ । त्यसैले यादवले यो पनि थपे, ‘तर यसो गर्नुभयो भने (हामीलाई हटाउनुभयो भने) राजनीतिक अस्थिरताको जिम्मेवारी, बर्बादीको जिम्मेवारी पनि लिनुपर्ने हुन्छ । हामी अस्थिरताका कारक होइनौं ।’

यादवले स्पष्ट पारे कि आफू यो गठबन्धनमा अझै पनि रहन चाहँदाचाहँदै हट्ने, हटाइने स्थिति आयो भने नयाँ सरकार निर्माणको कोर्समा उनी लाग्न सक्छन् ।

त्यस्तो अवस्थामा उत्पन्न हुने अस्थिरताको जिम्मा चाहिँ उनले लिने छैनन् । बरु त्यो जिम्मा प्रधानमन्त्री र अरु नेताले लिनुपर्ने यादवको बोलीको आशय थियो ।

अध्यक्ष यादवले आसन्न महाधिवेशनलाई लक्षित गर्दै पार्टी फुटाइएको जिकिर गर्दै आएका छन्, जबकि प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी ओलीलगायतको आशंकाचाहिँ यादवसमेतको पहलमा सत्ता गठबन्धन टुटाउन लागेको भन्ने छ ।

एमाले र माओवादीका नेताहरु, अनि स्वयं जसपा नेपाल विभाजन गर्ने नेताहरुले यस्तो जिकिर गर्दै आएका सन्दर्भमा यादवले ‘एक हातले ताली नबज्ने’ संशय र चेतावनीपूर्ण भाव प्रसारण गरेका हुन् ।

प्रचण्ड–ओलीका दुःख आफ्नै प्रकारका छन् । एकातिर उनीहरुलाई संसदको न्यूनतम बहुमत कायम राख्न साना दलहरुलाई सँगै राखिराख्नुपर्ने बाध्यता छ । अर्कातिर ‘एक फुटेर दुई’ बनेका दुवै जसपा सरकारलाई समर्थन दिन व्यग्र छन् ।

जसपा नेपाल फुटेर बनेको जसपाका संघीय परिषद अध्यक्ष राजेन्द्र श्रेष्ठ भन्छन्, ‘सरकारमा रहनु वा नरहनु उहाँहरुको (उपेन्द्र पक्ष) को कुरा हो, कसलाई सरकारमा लिने वा कसलाई नलिने भन्ने भन्ने कुरा चाहिँ प्रधानमन्त्रीको ।’

श्रेष्ठसँगको कुराकानीबाट स्पष्ट हुन्थ्यो कि दुवै जसपा एकैसाथ प्रचण्ड मन्त्रिपरिषद्मा नरहन सक्छन् । उच्च स्रोतका अनुसार प्रचण्ड आफैं भने यादवलाई किनारा लगाएर मधेशमा उनका प्रतिस्पर्धी सीके राउतलाई लिन चाहन्छन् । मधेशमा उदाएको नयाँ क्षेत्रीय शक्ति अर्थात् जनमत पार्टीसँग ६ सिट छ ।

उता एकीकृत समाजवादी अध्यक्ष माधव नेपालले मंगलबार पार्टीको बैठक राखेर आफूहरु अझै प्रचण्ड सरकारकै समर्थनमा रहेको जिकिर गरेका थिए । यति बेला नेपाल र यादवको भूमिकालाई लिएर गठबन्धनमा पूरापूर संशय छ । प्रतिपक्षी कांग्रेसले उनीहरुभित्र खेल्न खोजेको बुझाइसहित कदम चाल्नुपर्ने बताउने एमाले र माओवादी नेता अब भने गठबन्धन सुरक्षित मोडमा आइपुगेको बुझाइमा छन् ।

बारामा उपचुनावको घुमाउरो बाटो हुँदो ढिलोगरी संसदमा प्रवेश गरेका जसपा नेपाल अध्यक्ष यादव सरकारमा रहिराख्ने अवसर गुमाउन तयार देखिँदैनन् ।

एमालेको बलियो धाप पाएको प्रचण्ड सरकार तत्काललाई ढल्न असम्भवप्रायः रहेको निष्कर्षमा यादव पुग्न थालेको निकटस्थहरु सुनाउँछन् । सम्भवतः अहिलेको भन्दा ठूलो अफर पाएर उनी नयाँ विकल्पमा जान चाहेकाले अहिलेको परिस्थिति आएको पार्टी विभाजन गर्ने नेताहरुको दाबी छ ।

‘उहाँको पार्टी संगठन हाँक्ने कार्यशैलीसँग हाम्रो चर्को विमति छँदै थियो’, जसपाका एक नेताले भने, ‘तर त्यो भन्दा ठूलो प्रश्न चाहिँ राजनीतिक भइदियो । उहाँले कोर्स बदल्ने एकल निर्णय लाद्न खोज्दा त्यसको जवाफ पनि राजनीतिक स्तरबाटै दिनुपर्ने थियो, विभाजन त्यसैकारण भयो ।’

ती नेताले सबै बबण्डरको तयारी गरिसक्दा पनि प्रचण्डकै सरकारमा रहिराख्ने नैतिक आधार पेश गर्न यादवलाई चुनौती पनि दिए ।

‘अहिले माधवजी र उपेन्द्रजीसँग प्रचण्डजी डराउने स्थिति छ, अनि प्रचण्डजी र ओलीजीसँग उहाँहरु डराउने’, विगतमा यादवसँग लामो सहकार्य गरेका एक मधेशकेन्द्रित दलका नेताले सुनाए, ‘उपेन्द्रजीको कार्यशैली र अपारदर्शिताले उहाँलाई कहाँदेखि कहाँसम्म ल्याइपुर्‍यायो !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?