२७ वैशाख, काठमाडौं । हरकोही मान्छे उमेर ६० पुग्न थालेपछि विस्तारै आफ्नो सक्रिय जीवनबाट विश्राम लिन खोज्छ ।
जीवनभर आफ्ना लागि होस् या आफ्नाका लागि काँधमा बोकिहिंडेको गह्रौं भारी बिसाउन खोज्छ र बाँच्न चाहन्छ– एउटा सुखद ‘रिटायर्ड’ जिन्दगी !
तर, सबैको जीवनमा एउटै कथा, पटकथा कहाँ लेखिएको हुन्छ र ?
यो रौतहटका जोगा चौधरीको जीवन कथा हो, जो ६२ वर्षको उमेरमा काठमाडौंको व्यस्त सडकमा निस्किएका छन्, पठाओ राइडर बनेर । मुखमा माड लगाउनुपर्ने दैनन्दिनको बाध्यताले मात्र होइन । यतिबेला उनी सडकमा छन्, एउटा बाबु हुनुको कर्तव्य बोधले ।
काठमाडौंका शहरमा यात्रु बोकेर कुद्ने हजारौं राइडरमध्ये जोगा त्यस्ता राइडर हुन्, जो छोरीको उच्च शिक्षा पूरा गर्ने सपनाले बुढ्यौलीमा पनि जागा छन् ।
०००
जोगा जन्मे–हुर्के रौतहटमा । त्यहीं घरगृहस्थी गरे र जागिर पनि । रौतहटमा उनी एउटा लुब्रिकेन्टको कम्पनीमा मार्केटिङकोे काम गर्थे । त्यो बेला नेपाली बजारमा भर्खरै लुब्रिकेन्टको बजार विस्तार हुँदैथियो । उनी लुब्रिकेन्टको प्रचारप्रचार र बिक्री वितरण गर्न फिल्डमा दौडिए । मोटरसाइकल कुदाउँदै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पुगे ।
‘कामकै सिलसिलामा लुब्रिकेन्ट बेच्दै म देशका थुप्रै ठाउँ पुगें’ उनी भन्छन्, ‘त्यहीबेला मैले मोटरसाइकल कुदाउन राम्रोसँग पाएँ ।’ लुब्रिकेन्ट कम्पनीमा उनले करिब ३६ वर्ष काम गरे ।
मध्यमवर्गीय जोगाको परिवार अभावकै बीच पनि ठिकठाक चल्दै थियो । तर, सन्तान भने समयमै हुन सकेनन् । उमेर ४० पुग्दा मात्र छोरी जन्मिइन् । ‘ढिलै भए पनि सन्तानका रुपमा छोरी जन्मिइन्’ जोगा सुनाउँछन्, ‘ढिलो जन्मेकाले उसलाई हुर्काउँदा हाम्रो उमेर धेरै बितिसकेको थियो ।’
मुस्किलले पाएकी छोरी जोगाको परिवारका लगि प्यारो हुने नै भइन् । शिक्षाको महत्व राम्रैसँग बुझेका उनले छोरीलाई जसरी पनि उच्च शिक्षा दिन चाहन्थे ।
रौतहटमै छोरीलाई राम्रो शिक्षा दिन सम्भव थिएन । त्यसमाथि उनको ठाउँमा छोरीलाई मनखुसी पढाउने चलनै थिएन । गृहजिल्लामा धेरै अडिन सकेनन्, ९ वर्षअघि छोरी पढाउन उनी परिवारसहित काठमाडौं हान्निए ।
…अनि बने पठाओ राइडर
रौतहटबाट काठमाडौं त आए तर काठमाडौं पनि सोचे जस्तो सजिलो कहाँ हुन्थ्यो र ? त्यसमाथि छोरी पढाउनुपर्ने, परिवार पाल्नुपर्ने । जेनतेन उनले छोरीलाई होटल म्यानेजमेन्टमा भर्ना गरिदिए ।
त्यसपछि भने उनलाई जागिर खोज्नुपर्ने भयो । तर उमेर ढल्किसकेको थियो । केही समय लुब्रिकेन्टकै कम्पनीहरुमा पनि काम गरे । तर, धेरै चल्न सकेनन् । केही बन्द भए, केही आफैंले छोडे ।
त्यसपछि उनी जागिर खोज्दै हिंड्न थाले । तर भर्भराउँदो युवाले नै जागिरका लागि भौंतारिरहेको यो शहरमा उनलाई कोही किन पत्याओस् ? ‘उमेरकै कारण देखाएर धेरैले जागिर दिन मानेनन् । ६०/६२ वर्ष पुगेको मान्छे किन जागिर गर्नु भनेर उल्टै सम्झाउँथें’, उनले भने ।
उनी थाकेनन्, जागिर खोज्दै हिंडिरहे । जागिर नखाए छोरीलाई उच्च शिक्षा पढाउने सपना अधुरै हुनेथियो । भलै, बुढ्यौलीले कपाल काँस फुले झैं फुलिसकेका थिए, गाला चाउरिसकेको थियो । यद्यपि, उनीभित्रको इच्छाशक्ति र अठोट कमजोर भइसकेको थिएन ।
एकदिन उनले पठाओ चलाउन सकिन्छ भन्ने थाहा पाए । त्यसमा उमेरको रोकावट थिएन । आखिर उनीसँग मोटरसाइकल कुदाएको राम्रै अनुभव थियो । हातमा सीप थियो अनि मनभित्र हिम्मत ।
उनले ऋण काढेर एउटा सस्तोमा सेकेन्ड ह्यान्ड स्कुटर किने अनि बने पठाओ राइडर । सुरुमा उनले पठाओमा फुड राइडरका रूपमा काम थालेका थिए । ‘साइकलमा खाना बोकेर पुर्याउँदै हिंडें । त्यसपछि विस्तारै पठाओ चलाउन सुरु गरें’, उनले भने ।
‘दैनिक आठ घण्टा राइडिङ’
हरेक दिन उनी बिहानै ६ बजे उठ्छन् । र, छोरीलाई कलेजसम्म पुर्याउँछन् । १० बजेदेखि पठाओ कुदाउँदै उनी काठमाडौं उपत्यका भित्र चक्कर काटिरहेका हुन्छन् ।
‘काठमाडौं, ललितपुर र भक्तपुर गरी तीन जिल्ला घुमिसक्छु । बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म पठाओ चलाउँछु । कहिले त ९ बजेसम्म पनि दौडिन भ्याउँछु’, उनी भन्छन् ।
६२ वर्षमा पठाओ चलाएको देख्नेहरु अचम्म मान्छन् र सोध्छन् – यो उमेरमा पनि पठाओ कसरी चलाउन सकेको ? तर जब उनी स्कुटर लिएर सडकमा निस्कन्छन्, तब निर्धक्क रूपमा स्कुटर चलाउन थाल्छन् । यात्रुहरु पनि सुरक्षित महसुस गर्छन् ।
‘मैले चलाएको देखेर दंग पर्छन्, कतिले कसरी यसरी चलाउन सक्नुहुन्छ भनेर सोध्छन्’ उनले भने, ‘कोही–कोही त खुसी हुँदै २–४ पैसा बढी पनि दिन्छन् ।’ यसरी दैनिक ८ घण्टा कुदाउँदा इन्धन लगायत सबै खर्च कटाएर दिनको एक हजारसम्म बचत हुने उनी बताउँछन् ।
सुरु–सुरुमा दैनिक लामो समयसम्म मोटरसाइकल कुदाउँदा अप्ठ्यारो हुन्थ्यो । छाती दुख्ने, हात खुट्टा दुख्ने हुन्थ्यो । जसै उनी चलाउँदै जान थाले, बानी पर्दै जान थाल्यो । ‘बिहान पनि कहिलेकाहीं हात दुखे झैं हुन्छ’ उनले भने, ‘जब मोटरसाइकल लिएर कुदाउन थाल्छु, सबै दुखाइ हराइहाल्छ ।’
तैपनि उमेर ढल्केपछि लामो समयसम्म सवारी चलाउन युवाकाल झैं सजिलो नहुने उनी सुनाउँछन् ।
अहिले उनी पठाओबाट आएको पैसाले जसोतसो घर खर्च र छोरीलाई पढाइरहेका छन् । त्यसैमाथि छोरीको पढाइ खर्च महँगो छ । अहिले उनकी छोरी होटल म्यानेजमेन्ट चौथो सेमेस्टरमा पढ्छिन् । ‘अहिले कमाइरहेको पैसाले पुगिरहेको छैन । जेनतेन छोरीलाई पढाइरा’छु । कापी कलम किन्नसम्म पुगेको छ’, उनी भन्छन् ।
जीवनको उत्तरार्धमा आइपुगेका जोगालाई अरू चाह छैन, केवल बाबु हुनुको कर्तव्य राम्रोसँग पूरा गर्न पाए हुन्थ्यो भन्ने मात्र छ । छोरी आफ्नो खुट्टामा नउभिएसम्म आफूले दु:खजिलो गरेर भए पनि उच्च शिक्षा दिने उनले संकल्प लिएका छन् ।
बढ्दो उमेरसँगै उनलाई बुढ्यौलीले थिच्दैछ । पाखुरामा उहिले जस्तो तागत छैन । तर, छोरी प्रतिको जिम्मेवारीले कमजोर हुन दिएका छैनन् । छोरीलाई पढाउनुपर्छ भन्ने चेतनाले नै त हो, उनमा यो तागत भरिरहेको ।
‘छोरी पनि छोरा सरह नै सक्षम छन् । उनीहरुलाई पढाउनुपर्छ, विश्वास गर्नुपर्छ र साथ दिनुपर्छ’ भन्छन्, ‘उसलाई पीएचडी नगराएसम्म म रोकिनेवाला छैन । जुन दिन छोरीलाई पढाएर सकिन्छ, त्यसदिन बल्ल रिटायर्ड जिन्दगी बाँच्नेछु ।’
फोटो /भिडियो : शंकर गिरी, चन्द्रबहादुर आले/अनलाइनखबर
प्रतिक्रिया 4