
२७ वैशाख, काठमाडौं । ललितपुर जावलाखेलमा स्नान कक्ष (नुहाउने कोठा ) सहित अत्याधुनिक सार्वजनिक शौचालय निर्माण भएको छ ।
बिहीबारबाट शौचालय प्रयोगका लागि खुला गरिएको हो । ललितपुर महानगरपालिकाले एरोसान सस्टेनेबल स्यानिटेसनसँग सहकार्य गरी उक्त शौचालय बनाएको मेयर चिरीबाबु महर्जनले बताए ।
महानगरले अपांगमैत्री, महिलामैत्री, बालबालिका र ज्येष्ठ नागरिकमैत्री तथा वातावरणमैत्री शौचालय निर्माण गरेको हो । महानगरका अनुसार शौचालयमा स्यानिटरी प्याड, शिशुलाई स्तनपान गराउन छुट्टै ठाउँको व्यवस्था छ । एरोसानले महानगरको मंगलबजार, पाटनढोका र जावलाखेल गरी तीन ठाउँमा अत्याधुनिक सार्वजनिक शौचालय बनाएको हो ।
मेयर महर्जनले ललितपुरका अन्य स्थानमा शौचालयहरू सफा भएको बताए । ‘शौचालय भन्ने बित्तिकै फोहोर र गन्हाउँछ भन्ने आमधारणालाई हाम्रोमा भएका शौचालयले चिरेको छ,’ उनले भने, ‘शौचालय नजिकै बसेर चिया खान सकिने गरी निर्माण भएका छन् ।’
बंगलादेशको सार्वजनिक शौचालय अवलोकनपछि सार्वजनिक शौचालयमा स्नान कक्ष राख्न महानगरले प्रत्येक वडामा बनाउँदै गरेको शौचालयको डिजाइनमा थोरै परिवर्तन गरी स्नानकक्ष थप गरेको उनले बताए ।
वडा नम्बर ४ का अध्यक्ष सन्तोष खड्काले जनघनत्वको अत्यधिक चाप भएको ठाउँमा सार्वजनिक शौचालय निर्माण हुँदा नागरिक लाभान्वित हुने बताए ।
‘जावलाखेलमा चिडियाखाना भएर पनि होला, यस वडामा भएकाले शौचालय खोज्दै आउने धेरै हुन्छन्,’ उनले भने, ‘भोटो देखाउने जात्राका बेला तीन–चारवटा मोबाइल शौचालय हुँदा पनि पर्याप्त हँदैन । ’
एरोसान अध्यक्ष सोनी श्रेष्ठले शौचालय निर्माण र सुरुवात मात्रै ठूलो कुरा नभएको भन्दै सञ्चालन महत्त्वपूर्ण भएको बताइन् ।
एक वडा एक शौचालय
महानगरका अनुसार लगनखेलमा पनि जावलाखेल, मंगलबजार र पाटनढोकामा भएको जस्तै सार्वजनिक शौचालय आवश्यक छ । लगनखेलनमा अत्याधुनिक शौचालय निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) भइरहको मेयर महर्जनले बताए । उनले छिट््टै त्यहाँ सुविधासम्पन्न सार्वजनिक शौचालय निर्माण सुरु हुने बताए ।
ललितपुर महानगरले ‘एक वडा एक सार्वजनिक शौचालय’ को नीतिअनुसार सातवटा वडामा सार्वजनिक शौचालय निर्माण गरिरहेको छ । वडा नम्बर ८, ९, २, १०, २४, २५ र २७ मा सार्वजनिक शौचालय निर्माण भइरहेको छ ।
महानगरका इन्जिनियरका अनुसार वडा नम्बर ८, ९, २४, १० र २ मा बनेका शौचालय ‘फिनिसिङ’ को काम भइरहेको छ । २५ र २७ मा लेआउट र स्ट्रक्चरको काम भइरहेको छ ।
प्रतिक्रिया 4