२८ वैशाख, काठमाडौं । गोरखा पोल ब्रेकर्स संघ नेपालको आयोजनामा आगामी सोमबार चौथो अन्तर्राष्ट्रिय पोलब्रेक च्याम्पियनसिप आयोजना हुने भएको छ ।
नेपाल र भारतका ४ टिमको सहभागिता रहने प्रतियोगिता वैशाख ३० गते त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा हुने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
प्रतियोगिता नकआउटका आधारमा खेलाइने आयोजकले जनाएको छ ।
प्रतियोगितामा पहिलो र दोस्रो स्थान हासिल गर्ने टिमलाई ट्रफी र प्रमाण पत्र प्रदान गरिने छ ।
नेपालमा धेरै खेल खेलिंदै आए पनि नेपाली माटोमा आफ्नै अन्तर्राष्ट्रिय स्तरको नीति नियममा खेल गराउने लक्ष्यसहित पोलब्रेक खेल २०७४ देखि खेलाउन थालिएको संघका अध्यक्ष उद्धव नारायण श्रेष्ठले जानकारी दिए ।
यो खेल फुटबल र फुटसल जस्तै देखिन्छ । यसमा ३–३ खेलाडीले खेल्छन् र मैदानमा राखिएको पोललाई ढाल्छन् ।
यस खेलको सम्पूर्ण नियम, बल तथा पोलको संरचना, ढाँचा, तौल तथा डिजाइन सबै आफैंले तयार गरेर खेलाउन सुरु गरिएको श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठले हाल विभिन्न जिल्लामा शाखाको गठनसमेत गरिसकेको र अन्तर्राष्ट्रियस्तरमा छिमेकी राष्ट्र भारतको पुणेमा सन् २०२३ मा गोरखा पोलब्रेकर्स एसोसियसन भारतको रूपमा दर्ता भएको समेत जानकारी दिए ।
यस संघले नेपाल र भारतमा विभिन्न समयमा नकआउट तथा मैत्रीपूर्ण खेलको आयोजना समेत सम्पन्न गरिसकेको र नेपालका विभिन्न क्लब तथा विद्यालयमा समेत खेलाउँदै आएको छ ।
भविष्यमा यस खेलबाट नेपालको पर्यटनमा टेवा पुर्याउने उद्देश्यसमेत रहेको संघका अध्यक्ष श्रेष्ठले बताए ।
प्रतिक्रिया 4