
२८ वैशाख, काठमाडौं । पहिचान र संस्कृतिका जानकारका बीचमा एउटा भनाइ चर्चित छ, ‘भाषा हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए चिनारी नै हराउँछ ।’
पूर्वतिर पहिचानको आन्दोलनले उचाइँ लिइरहेको बेला काठमाडौंको मण्डला थियटरमा किराती समुदायको आत्मविश्वास र जीवनदर्शन उतारिएको नाटक ‘बाखाम्मा: मुन्दुममा मान्छे’ प्रदर्शन भइरहेको छ ।
किरात संस्कृतिबारे थप बुझ्न र अध्ययन गर्न प्रेरणा दिने उक्त नाटकमा कलाकारको मिहिनेत र प्रस्तुति भव्य छ । थियटर व्यवस्थापन पनि त्यत्तिकै शानदार । तर ठाउँ-ठाउँमा भाषा र पृष्ठभूमि, परिवेश बुझ्न अलि अप्ठ्यारो हुन्छ ।
सहज बनाउने कसरी ? हामी फर्कनुपर्छ आफ्नो भाषा, संस्कृति र पहिचानको खोजीतर्फ । यही प्रयास गरेका छन् नाटकका लेखक राजन मुकारुङ र निर्देशक तथा परिकल्पनाकार किरण चाम्लिङले ।
त्यसैले त किरातहरूले सुन्दै आएको कथा नाटकीय प्रस्तुतिमा मज्जाले बुझ्न सकिन्छ । छिटपुट भाषिक समस्या भए पनि पूरै नाटक हेरिसक्दा भाव बुझिन्छ ।
नयाँ पुस्ता आफ्नो पहिचान र संस्कृतिप्रति बेखबर हुँदैछ । यो नाटकले किरात संस्कार र संस्कृति र यससँग जोडिएका मिथहरूलाई सुन्दर र सशक्त ढंगले सम्झाउँछ ।
दर्शकलाई नाटकले साल्पा सिलिचुङको सांस्कृतिक यात्रामा हिंडाउँछ । माया-पिरतीका आदिम कथाहरू सुनाउँछ । विवाहलाई तत्कालीन समाजले सामाजिक-सांस्कृतिक वैधता प्राप्त गर्ने माध्यमको रूपमा कसरी स्थापित गरेको थियो ? प्रेम-धोका, विश्वास-अविश्वासका कथाहरू भन्छ ।
कथाका लेखक राजन मुकारुङकै शब्दमा आदिवासी (रैथाने) संस्कृति, ज्ञान वा सभ्यताको विकासका क्रममा सृजना भएको सांस्कृतिक सौन्दर्य, अनुभव, ज्ञान र सांस्कृतिक सौन्दर्यलाई इमान्दारीपूर्वक खोज्ने र बुझ्ने नाटकको लक्ष्य धेरै हदसम्म सफल छ ।
वैशाख १४ गतेदेखि थापागाउँस्थित मण्डला थियटरमा नियमित मञ्चन भइरहेको नाटकमा किरातहरूको उत्पत्तिको कथालाई सुन्दर ढंगले प्रस्तुत गरिएको छ ।
किरात राई समुदायमा साल्पा सिलिचुङमा नै संसारमा पहिलो मानिस उत्पन्न भएको हो भन्ने मुन्दुमको कथा नाटकमा देखाउन खोजिएको छ । उक्त समुदायमा जन्मिएदेखि मृत्युसम्म जुनसुकै कर्म गर्दा पनि मुन्दुम कथाहरू भन्नुपर्ने हुन्छ ।
भाषा र संस्कृति भुल्दै गएका किरात समुदायकै नयाँ पुस्ताकै लागि पनि बाखाम्मा त्यति प्रचलित नाम होइन । तर उक्त संस्कृतिमा त्यति कम महत्वको नाम भने हुँदै होइन । मुन्दुम ग्रन्थमा निराकार सृष्टिकर्ता रुमुहाङ (पारुहाङ) ले खरानी र माटोलाई शीतमा मुछेर बनाएको आकृतिका रूपमा बाखाम्माको व्याख्या गरिएको छ ।
किरातहरू आफूलाई नेपाली समाजमै लामो सभ्यता बाँची आएको समुदाय मान्छन् । नाटकमा बाखाम्मा पात्र मार्फत् सिंगो समुदायको आत्मविश्वास र जीवनदर्शनलाई सफलतापूर्वक प्रस्तुत गरिएको छ ।
नाटकमा धेरै कलाकारलाई उतारिएको छ । व्यवस्थापकीय दृष्टिकोणले निकै महत्त्व दिइएको छ । सिनेमाटोग्राफी, संगीत हुँदै सेट डिजाइनसम्म उत्कृष्ट छ । नाटक हेरिरहँदा पूर्वको कुनै जिल्लामा साकेला र उधौलीको मौसममा झुमिरहेझै महसुस हुन्छ ।
लोकप्रिय मोडल एलिसा राईले देवी सुम्निमाको भूमिका बेजोडले निर्वाह गरेकी छन् भने पारुहाङको चरित्र अनिल सुब्बाले निर्वाह गरेका छन् । बेदना राई लगायत अन्य कलाकारहरूको जीवन्त अभिनय उत्तिकै अब्बल छ ।
समाजले बिर्संदै गएको मिथलाई रंगमञ्चमा जीवन्त उतार्नु सहज काम होइन, तर अप्ठ्यारो कथालाई पनि संवादहरूमा थप मेहनत गर्दा अझ सरल ढंगले कथा भन्न सकिन्थ्यो कि भन्ने चाहिं महसुस हुन्छ ।
नाटकले हरेक दर्शकलाई प्रकृतितर्फ फर्कन प्रेरित गर्छ । प्रकृतिलाई प्रेम गर्न सिकाउँछ । ठूला जंगलमा हजारौं जंगली जनावर बस्छन् । ती सबै सफासुग्घर छन् । तर जहाँ मान्छे बस्छ, त्यहाँ फोहोर छ र अनेकौं समस्या पनि छन् । सर्वश्रेष्ठ भनिने मानिस आज किन समस्याले घेरिएको छ र प्रकृति विनाशको कारण बनिरहेको छ ?
नाटकमा यही प्रश्न र सन्देश फरक कथा, संवाद र उदाहरणमार्फत आम मानिसलाई सोधिएको छ ।
विविधता नेपाली समाजको सम्पत्ति हो । तर विविधतालाई समस्या मान्ने शासकीय सोचले हाम्रा धेरै उन्नत संस्कृतिहरू पश्चिमी डाँडातिरको घाम भइरहेका छन् । यसलाई सम्पत्ति, शक्ति र गौरवकै रूपमा जोगाइरहन यस्ता हजारौं नाटकहरू बन्नुपर्छ र एउटा समुदायको विश्वासमाथि बनाइएको यो सुन्दर नाटक लाखौं दर्शकहरूले पटकपटक हेरिरहनुपर्छ । तब न यस्ता सुन्दर प्रयासहरू पटकपटक भइरहनेछन् ।
तस्वीरहरू : आर्यन धिमाल/अनलाइनखबर
प्रतिक्रिया 4