+
+

चिनियाँ राष्ट्रपतिको ५ दिने युरोप भ्रमणमा के के भयो ?

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २९ गते १३:१४

२९ वैशाख, काठमाडौं । चिनियाँ  राष्ट्रपति सी जिनपिङको फ्रान्सबाट सुरु भएको युरोप भ्रमण सर्बिया हुँदै हंगेरी पुगेर समाप्त भएको छ ।

युरोप भ्रमणका क्रममा उनले बहुध्रुवीय विश्व, विश्व व्यापार लगानी र रूस- युक्रेन युद्धबारे छलफल गरेको अलजजिराले उल्लेख गरेको छ ।

फ्रान्स, सर्बिया र हंगेरी तीन राष्ट्रका लागि सीको भ्रमण विशेष महत्व र प्रतिकात्मक किसिमको थियो । फ्रान्स र चीनको कुटनीतिक सम्बन्ध स्थापित भएको ६० औँ वर्षगाठको अवसरमा सी फ्रान्स पुगे । हंगेरीसँग कुटनीतिक सम्बन्ध स्थापना भएको ७५ औँ वर्षगाँठको अवसर थियो भने सर्बियामा नेटोले चिनियाँ दूतावासमा हमला गरेको २५ औं वर्ष पुगेको थियो ।

अमेरिकाको प्रभाव कम भइरहेको र युरोपसँग आफ्नो छवि धुमिल भइरहेको अवस्थामा युरोपेलीसँग सम्बन्ध सुधार र विस्तारका लागि सी भ्रमणमा गएको विश्लेषकहरु बताउँछन् ।

उनको भ्रमणमा युरोपेली आयोगले व्यापारको विभिन्न आयाम, मानवअधिकार लगायतका विषयमा छलफल गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यममा समाचार छ । युरोपमा विशेषगरी चीनले विद्युतीय सवारीसाधनमा दिएको अनुदानका कारण युरोपका उत्पादनमा पर्ने असरबारे विशेष छलफल भएको थियो ।

व्यापार र युद्धबारे भएन कुनै सहमति

फ्रान्सेली समकक्षी इम्मानुयल म्याक्रोँले सीसँग युरोपसँगको व्यापारिक असन्तुलन कम गर्ने विषयमा छलफल गरेका थिए । युरोप र चीनबीचको व्यापार घाटा २९२ अर्ब युरो छ । यस विषयलाई प्राथामिकतामा राखेर छलफल भएपनि कुनै सहमति भने बन्न सकेन । यस्तै, रूस युक्रेन युद्धपछि युरोपलाई परेको असर र पुटिनसँग सीको सम्बन्धको आयाम प्रयोग गर्दै युद्धविरामको पहलबारे छलफल भएपनि यसमा कुनै सहमति भएन । फ्रान्स र चीन दुबैले ग्रीष्मकालीन ओलम्पिकलाई मध्यनजर गर्दै युद्धविराम गर्नुपर्ने भन्दै संयुक्त विज्ञप्ति भने निकालेका थिए ।

सीले यसै महिनाभित्र पुटिनसँग आफूले संवाद गर्ने जानकारी भने गराएको अलजजिरामा समाचार छ । सीले पुटिनलाई बेइजिङमा स्वागत गर्न लागेका छन् ।

सर्बिया र हंगेरीमा विस्तारित आर्थिक छाप

फ्रान्सको तुलनामा सर्बिया र हंगेरीमा सीको भ्रमण आर्थिक र राजनीतिक कोणमा अझ बढी महत्वको भयो । पूर्वी र मध्य युरोपमा  चिनियाँ लगानी विस्तारका दृष्टिकोणले यो भ्रमण महत्वपूर्ण रहेको हो । सर्बियाले सीले अघि सारेको साझा भविष्यसहितको विश्व समुदाय संकल्पमा साझेदारीको सहमति गर्‍यो ।

दुई मुलुकबीच भएको स्वतन्त्र व्यापार सम्झौता १ जुलाइ देखि कार्यान्वयनमा आउने भएको छ । नयाँ हवाइ अड्डादेखि चीनले रेल्वेमा सहयोग गर्नेसम्मको सहमति भएको छ ।

यता हंगेरीमा चीनले यातायात र उर्जामा लगानी गर्ने भएको छ । हंगेरी र सर्बियाका राजधानीलाई जोड्नका लागि २.१ अर्ब डलर सहयोग गर्ने प्रतिवद्धता चीनले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?