
३० वैशाख, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सहकारी ठगीविरुद्ध संसदसँगै सडक संघर्ष पनि गर्नुपर्ने बताएका छन् ।
आइतबार काठमाडौंको नयाँ बानेश्वरमा नेपाल शिक्षक संघको स्थापना दिवसको कार्यक्रममा उनले गाउँका गरिव जनता सहकारी ठगबाट पीडित रहेकाले जनस्तरमै सडक संघर्षको आवश्यकता रहेको बताए ।
सरकार आफैं सहकारी ठगी गर्नेहरुको संरक्षणमा लागेको भन्दै नेता महरले भने, ‘यस्तो अवस्थामा पीडितलाई न्याय दिन कांग्रेसले सदनसँगै जनताको माझमा रहेर सडक संघर्ष गर्नुपर्छ । ७७ वटै जिल्लामा संघर्षका कार्यक्रम अगाडि बढाउनु पर्छ।’
यस्तै नेता महरले सहकारी ठगीको अभियोग खेपिरहेका कुनै एक मन्त्रीका कारण संसदलाई अनिर्णयको बन्दी बनाउनु आपत्तिको विषय भएको बताए । सहकारी ठगीको आरोप लागेका उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेलाई जोगाउन सिंगो सरकार लाग्नु र संसदलाई अनिर्णयको बन्दी बनाउनु लज्जाको विषय भएको उनको भनाइ छ ।
सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि आफ्ना नेताहरु पनि तानिन सक्ने हुनाले सहकारी ठगीमा छानबिन समिति बनाउन डराइरहेको नेता महरले टिप्पणी गरे ।
प्रतिक्रिया 4