+
+

विदेशी मुद्रा सञ्चितिले १५ महिना वस्तु आयात धान्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३० गते १४:०७

३० वैशाख, काठमाडौं । आयात संकुचन तथा रेमिट्यान्समा भएको वृद्धि तथा सेवा क्षेत्रमा समेत देखिएको सकारात्मक प्रभावले विदेशी विनिमय सञ्चिति लगातार बढ्दै गएको छ ।

चालु आर्थिक वर्ष (आव) २०८०/८१ को नौ महिना (साउन–चैत) मा विदेशी विनिमय सञ्चिति २४.२ प्रतिशतले बढेर १९ खर्ब नाघेको छ ।

२०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति चैत मसान्तमा १९ खर्ब ११ अर्ब ८६ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले चालु आव चैत मसान्तसम्मको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन मार्फत उक्त तथ्यांक सार्वजनिक गरेको हो ।

चैत मसान्तमा अमेरिकी डलरमा विदेशी विनियम सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा चैत मसान्तमा २२.७ प्रतिशतले बढेर १४ अर्ब ३६ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति १६ खर्ब ८८ अर्ब २१ करोड र बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २ खर्ब २३ अर्ब ६५ करोड छ ।

२०८० चैत मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.६ प्रतिशत छ ।

आयात अहिलेकै अवस्थामा भए बैंकिङ प्रणालीमा भएको विदेशी विनियम सञ्चितिले १५ महिनाको आयात धान्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।

रेमिट्यान्समा लगातार देखिएको वृद्धि र सेवा निर्यातमा समेत सुधार तथा पर्यटक आवागन बढेको अवस्थामा आयात वृद्धि भए पनि तत्कालका लागि विदेशी विनिमयमा कुनै दबाबको अवस्था छैन ।

चालु आव नौ महिनाको आयात आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १५ महिनाको वस्तु आयात र १२.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने केन्द्रीय बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?