
३० वैशाख, काठमाडौं । मनसुन सुरु नहुँदै परेको पानीले रूपन्देहीको बुटवल डुबानमा परेको छ ।
विद्यालय, सरकारी कार्यालय, बजार क्षेत्रका घरका पहिलो तला जलमग्न भएका छन् । हिलो र नालीको फोहोरले बजार दुर्गन्धित भएको छ । जताततै हिलाम्य हुँदा हिंड्डुल गर्नसमेत मुस्किल भएको छ । कतिपय विद्यालयले त आज पढाइ नै बन्द गरेका छन् ।
प्रि–मनसुन समयमै परेको पानीले बुटवल किन डुबानमा पर्यो होला ? त्यहाँ कति पानी परेको थियो ? हामीले यो प्रश्न जल तथा मौसम विज्ञान विभागका मौसमविद्हरूलाई सोधेका थियौं ।
जल तथा मौसम विज्ञान विभागका अनुसार रूपन्देहीको भैरहवा विमानस्थल, लुम्बिनी, तिलोत्तमा लगायतका क्षेत्रमा वर्षा मापन केन्द्रहरू छन् । त्यहाँको रेकर्ड हेर्दा तिलोत्तमामा गत १२ घण्टाको अवधिमा भारी वर्षा भएको रेकर्ड छ । भैरहवा र लुम्बिनीमा भने मध्यम खालको वर्षा भएको छ ।
गत १२ घण्टाको अवधिमा तिलोत्तमामा मात्रै ५५ मिलिमिटर वर्षा मापन भएको छ । यो भनेको भारी वर्षा हो । यसैगरी लुम्बिनीमा १२ मिलिमिटर र भैरहवा विमानस्थलमा १० मिलिमिटर वर्षा रेकर्ड भएको छ । यो मध्यम वर्षा हो ।
जल तथा मौसम विज्ञान विभागको भैरहवा कार्यालय प्रमुख एवम् वरिष्ठ मौसमविद् वरुण पौडेल प्रि–मनसुन अवधिमा कुनै एक ठाउँमा बढी पानी पर्ने र नजिकैको अर्को ठाउँमा कम पानी पर्ने बताउँछन् ।
‘रूपन्देहीमा पनि त्यस्तै भयो,’ मौसमविद् पौडेल भन्छन्, ‘तिलोत्तमामा ह्वार्र पानी पर्यो तर निकास नपाउँदा भल बस्तीमा पस्यो ।’ डुबान नै हुने गरी रूपन्देहीमा पानी नपरेको तर परेको पानीले निकास नपाउँदा डुबान भएको उनको भनाइ थियो ।
बुटवल उपमहानगरपालिकाका इन्जिनियर गौतम रौनियार र इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी विजयराज पण्डित पनि नाली र कुलो थुनिंदा डुबानको समस्या आएको बताउँछन् ।
‘बेवास्ताको परिणाम’
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हरेक दिन तीन दिनसम्मको मौसम पूर्वानुमान बुलेटिन जारी गर्छ । त्यसमा कुन प्रदेशमा कस्तो खालको पानी पर्छ भन्ने उल्लेख हुन्छ । ठूलो मौसमी घटना हुने संकेत पाउनासाथ पूर्वसतर्कता अपनाउन महाशाखाले भनेको हुन्छ । तर त्यसलाई बेवास्ता गरिंदा जनधनको क्षति हुने गरेको छ ।

महाशाखाले यसअघि नै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने प्रक्षेपण सार्वजनिक गरेको थियो ।
वर्षा र बाढी जतिबेला पनि हुन सक्ने भएकाले नाला सफा राख्ने लगायतका पूर्वतयारी गर्नुपर्ने मौसमविद्हरू बताउँछन् । पूर्वतयारी नगरिदिंदा बुटवल डुबानमा परेको र बजारबासीले सास्ती पाएको देखिन्छ । महाशाखाले जनजीवन प्रभावित हुनसक्छ भनेर पहिले नै चेतावनीयुक्त सूचना जारी गरेको थियो । तर त्यसलाई सम्बन्धित निकायले बेवास्ता गर्नुको परिणाम अहिले बुटवलबासीले भोगिरहेका छन् ।
सप्तरीमा सबैभन्दा बढी वर्षा
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनीदेखि पूर्वको भूभागमा बढी वर्षा भएको छ । महाशाखाका मौसमविद् सञ्जिव अधिकारीका अनुसार गए रातिदेखि नै कोशी, मधेश, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा वर्षा भइरहेको छ ।
सुदूरपश्चिम र कर्णाली प्रदेशमा पनि वर्षा भएको छ तर ती क्षेत्रका एक–दुई स्थानमा हल्का खालको पानी परेको छ ।
मौसम विज्ञान विभागका अनुसार गत २४ घण्टामा सप्तरीको बरमझियामा सबैभन्दा बढी १०५ मिलिमिटर वर्षा भएको छ । यसैगरी नवलपरासीको देउरालीमा ९६.२, पाल्पाको बल्डेङगढीमा ८६.४, पर्साको मुदैलीमा ८२.२, सर्लाहीको पथरकोटमा ७७.८, ओखढुंगाको मानेभञ्ज्याङमा ६६.८ र बाराको अमलेखगञ्जमा ५० मिलिमिटर वर्षा भएको छ ।
आज दिउँसो पनि वर्षाको सम्भावना रहेको मौसमविद् अधिकारी बताउँछन् । ‘आज दिनभर राम्रै पानी पर्ने देखिन्छ । भोलि (सोमबार) र पर्सि (मंगलबार) भने अलि कम पानी पर्ने पूर्वानुमान छ,’ उनले भने ।
उनका अनुसार भोलि र पर्सि तराईमा पनि कम पानी पर्ने पूर्वानुमान छ ।
प्रतिक्रिया 4