
३० वैशाख, काठमाडौं । यातायात व्यवस्था कार्यालय बाराले स्थापना भएको ४ महिनामै झन्डै सवा दुई करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।
गत २५ मंसिरदेखि बाराको सदरमुकाम कलैयामा कार्यालय स्थापना गरेर सेवा सुरु गरेको यातायात व्यवस्था कार्यालयले विभिन्न शीर्षकमा २ करोड १४ लाख २३ हजार ७६६ रुपैयाँ राजस्व संकलन गरेको हो ।
कार्यालयले सबैभन्दा बढी राजस्व सवारी कर तथा नवीकरण शीर्षकमा उठाएको छ । यो शीर्षकमा १ करोड ७५ लाख ४५ हजार रुपैयाँ संकलन भएको कार्यालय प्रमुख नवाज हुसैनले जानकारी दिए ।
हुसैनका अनुसार पटके दस्तुरबाट १० लाख ९५ हजार, सवारी चालक अनुमति पत्र नवीकरणबाट ६ लाख ५२ हजार, नयाँ सवारी अनुमति पत्र शुल्कबाट ५ लाख ८ हजार, नयाँ सवारी अनुमति पत्र इन्ट्री शुल्क बापत १३ लाख ८१ हजार रुपैयाँ संकलन गरेको छ ।
यसैगरी वर्ग थप इन्ट्री शुल्क बापत २ लाख १७ हजार र सवारी अनुमति पत्र वर्ग थपको शुल्क बापत २३ हजार रुपैयाँ संकलन गरेको छ ।
मधेस प्रदेश सरकारले ४ महिना अघि मात्रै सञ्चालनमा ल्याएको यस कार्यालयले सवारी चालक अनुमति पत्र वितरण, नवीकरणका साथै सवारी दर्ता, सरुवा, नामसारी, बाटो इजाजत, जाँचपास तथा प्रदूषण परीक्षण जस्ता कार्य गर्ने जिम्मेवारी समेत पाएको छ ।
यसअघि यस क्षेत्रका नागरिक सवारी चालक अनुमतिपत्र बनाउन वीरगञ्ज र हेटौंडा धाउनु पर्ने बाध्यता थियो ।
प्रतिक्रिया 4