+
+

मनसरा : ऐना पुछिरहें, धुलो आफ्नै अनुहारमा थियो

डा. बालकृष्ण साह डा. बालकृष्ण साह
२०८१ वैशाख ३० गते १८:०९

प्रेम, विवाह, घरगृहस्थी अनि बालबच्चा । पारिवारिक चक्र यसरी नै घुमिरहेको छ सदियौंदेखि । यस्तो पृष्ठभूमिमा विवाह गरेपछि सन्तानको रहर र योजना हुने नै भयो । यस्तो रहर एउटी महिलामा अरु बढी हुनसक्छ । किनभने आमा हुनुको अनुभूति आफैंमा विशेष हो । जब विवाह गरेको लामो समयसम्म पनि गर्भ रहँदैन, यस्तोमा माइती पक्षले समेत चिन्ता व्यक्त गरेको पाइन्छ । यो हाम्रो सामाजिक मनोविज्ञानको कारणले हो ।

विवाह गरेपछि गर्भवती हुनु, बच्चा जन्माउनु, आमा बन्नु रहर र बाध्यता दुवै हो, महिलाको लागि । तर सन्तानको चाह राख्नुमा श्रीमतीको रहर मात्र होइन रहेछ । श्रीमान् अर्थात् पुरुषमा पनि यो चाह तीव्र हुने रहेछ । यद्यपि यसको पछाडि उनको पुरुषत्वले बढी दबाब पैदा गरेको हुँदोरहेछ । हाल प्रदर्शनरत फिल्म ‘मनसरा’ले यस्तै पुरुषत्वको कथा भन्छ ।

फिल्मको सन्दर्भलाई जोड्दै म यहाँ निःसन्तानपन र यसमा पुरुषको भूमिकाबारे केही कुरा उल्लेख गर्छु ।

निःसन्तानपन के हो ? कुन अवस्थामा दम्पतीले आफूलाई निःसन्तान भन्न सक्छन् ? यसको जवाफका लागि उनीहरुले विवाह गरेको एक वर्षसम्म पर्खनुपर्ने हुन्छ । अर्थात् विवाह गरेपछिको एक वर्ष उनीहरुले शारीरिक सम्बन्ध राखेका छन्, परिवार नियोजनको कुनै अस्थायी साधन प्रयोग गरेका छैनन्, तैपनि गर्भ रहेन । यो स्थितिमा उनीहरुमा बाँझोपन रहेको संकेत गर्न सकिन्छ ।

हालसम्मको तथ्यांकले देखाउँछ, लगभग ८५ प्रतिशत दम्पतीले विवाहको पहिलो वर्षमै गर्भधान गर्न सक्छन् । १५ प्रतिशतमध्ये कतिपयले दोस्रो वर्ष गर्भधान गर्न सक्छन् । त्यसबाट बाँकी रहेका लगभग तीन प्रतिशतमा भने बाँझोपनको समस्या रहनसक्छ । यो दम्पतीको साझा समस्या हो, महिला वा पुरुषको सराबारी ।

म प्रसूति तथा स्त्रीरोग विशेषज्ञको रुपमा काम गरिरहेको छु विगत लामो समयदेखि । हामीले यही कुरालाई बुझाउन कठिन भइरहेको हुन्छ । जबकि फिल्म ‘मनसरा’ले कति सजिलो ढंगले यही कुरा अभिव्यक्त गरिदिएको छ । अर्थात् पुरुषमा बाँझोपनको कुरा ।

हाम्रो समाजले सन्तान जन्माउने, हुर्काउने ठेक्का महिलालाई सुम्पिएका छन् । पुरुषलाई आर्थिक जिम्मेवारी भएपनि सन्तानका लागि श्रीमतीसँग शारीरिक सम्पर्क राख्नुबाहेक अन्य दायित्व छैन भन्ने धारणा स्थापित गरिदिएको छ । त्यसैले हुनसक्छ, विवाह भएपछि यदि गर्भ नरहेमा श्रीमती नै परिवर्तन गर्ने प्रवृत्ति छ । समस्या आफैंसँग छ, समाधान अन्यत्र खोजिरहेका छन् । मिर्जा गालिबको सायरीमा भने झैं- ‘ऐना पुछिरहें, धुलो आफ्नै अनुहारमा थियो ।’

निःसन्तान हुनुमा पुरुष पनि उत्तिकै जिम्मेवार हुनसक्छ । यसलाई त्रुटि वा दोष भनेर म व्याख्या गर्न चाहन्न । किनभने यो कसैले चाहेर वा गल्ती भएर हुने होइन । त्यसैले यसलाई त्रुटि होइन समस्या भन्नुपर्ने हुन्छ ।

हामीकहाँ यसलाई त्रुटि वा दोष भन्ने गरिन्छ । अतः यस्तो त्रुटि वा दोष आफूमा भएको स्वीकार्न चाहँदैनन् खासगरी पुरुषहरु । त्यसैले सन्तानको योजना हुँदाहुँदै पनि गर्भधान भएन भने उनीहरु आफ्नी श्रीमतीमाथि औंला उठाउन थाल्छन् । वंश परम्पराका लागि बच्चा जन्माउनैपर्छ भन्ने धारणाले गर्दा पनि यस कुरामा बढी नै टाउको दुखाउँछन् । अन्ततः सन्तानकै लागि अर्को श्रीमती खोज्ने चक्करमा लाग्छन् ।

अहिले विज्ञान र प्रविधिले निःसन्तान दम्पतीका लागि थुप्रै विकल्प दिएको छ । विभिन्न विधि र प्रविधिबाट उनीहरुले सन्तानलाभ गर्न चाहन्छन् । जस्तो पुरुषको समस्याले गर्दा गर्भधान भएन भने उनीहरुले शुक्रकीट दान लिन सक्छन् । कुनै स्वस्थ शुक्रकीट लिएर त्यसलाई आफ्नी श्रीमतीको डिम्बसँग निषेचन गराएर, श्रीमतीकै पाठेघरमा राखेर बच्चा जन्माउन सकिन्छ । तर यहाँ तगारो बन्छ उही पुरुषको अहंकार ।

पुरुषहरु यस्तो विकल्प अपनाउन यसकारण चाहँदैनन् कि यसले उनीहरुको पुरुषत्वमा धक्का पुग्छ । यही कारण उनीहरु शुक्रकीट दान लिन हच्किन्छन् । बरु श्रीमती परिवर्तन गर्न तत्पर रहन्छन् । फिल्म मनसराले बाँझोपनसँग जोडिएको यो मनोवैज्ञनिक पक्षलाई साह्रै मजाले उदांगो बनाइदिएको छ ।

फिल्मको तेस्रो पक्षले पनि दर्शकको मन छोएको छ । स्वार्थमा प्रेम हुँदैन र बाध्यताले जन्माएको समस्याको समाधान प्रेम होइन । वंशको लागि अन्तरजातीय प्रेम विवाह रोजेको बाहुन श्रीमानले दोस्री श्रीमतीबाट पनि सन्तान नहुने बुझे । आफूमा नै दोष भएको थाहा भएपछि साँचो प्रेमले अविवाहित आमा भएकी लिम्बूनीप्रति आकर्षित भए । त्यो प्रेम भनेको सन्तानका लागि थियो । प्रेम देखाउन बाहुनको छोरोले रक्सी बेच्ने मात्रै गरेनन्, फाक्सा (सुँगुरको मासु) पनि खाए । तर प्रेममा जीवन हुन्छ, समर्पण हुन्छ र अमर हुन्छन् भन्ने तथ्यलाई अविवाहित आमाले देखाउन सफल भएकी छन् ।

समय र कथाको मर्मले प्रष्ट्याउन नसकेको एउटा पक्ष उपचारको रहेको मैले पाएँ । फिल्ममा भनिएजस्तो नि:सन्तानपनको उपचारमा सधैं लाखौं खर्च गर्नुपर्छ भन्ने छैन । धेरै दम्पतीले सामान्य उपचारले नै सन्तान प्राप्त गर्न सक्छन् । थोरै दम्पतीहरुले मात्रै आईभीएफ (टेस्टट्युब बेबी) बनाउनुपर्ने र सोका लागि पनि अस्पताल अनुसार फरक-फरक शुल्क रहेपनि सरकारी अस्पताल (परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल)  कम खर्चिलो रहेको चाहिं फिल्ममा उतार्न सकेनन् ।

फिल्म हेरिरहँदा उठाउनैपर्ने केही मुद्दालाई सतहमा ल्याएको जस्तो भान भयो । यद्यपि हामीकहाँ फिल्म बनाइरहँदा त्यसलाई विभिन्न पाटोबाट राम्ररी विश्लेषण गरिंदैन, गहिराइसम्म पुगेर अध्ययन गरिंदैन । त्यसैले कतिपय कुरा भन्न खोजेर पनि त्यो के कता नमिलेको जस्तो हुनसक्छ । यसर्थ फिल्मले दिन खोजेको सन्देश सही रुपमा प्रक्षेपण नहुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?