+
+

टीकापुरको ३० बिघा जग्गा प्रकरण : सीआईबीले सुरू गर्‍यो कीर्तेमा अनुसन्धान

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३० गते १८:४९

३० वैशाख, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले कैलालीको टीकापुरस्थित ३० बिघा सरकारी जग्गा हिनामिना प्रकरणको कीर्तेतर्फ  अनुसन्धान सुरू गरेको छ ।

टीकापुर क्षेत्रको विकास गर्न भनेर स्थापित टीकापुर विकास समिति र पहुँचवालाको मिलेमतोमा उक्त क्षेत्रमा ठूलो मात्रामा सरकारी जग्गा हिनामिना भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसअघि नै २४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ । अख्तियारको पत्राचारपछि ब्यूरोले कीर्तेतर्फ पनि अनुसन्धान थालेको हो ।

‘अख्तियारको पत्राचारपछि कीर्तेतर्फ पनि अनुसन्धान थालेका हौं । सरकारी कागज कीर्ते गरेर जग्गा हिनामिना गरिएको भन्ने छ । ब्यूरोबाट अनुसन्धान टोली तत्काल कैलाली पठाउँदै छा’ ब्यूरो प्रमुख श्यामलाल ज्ञवालीले जानकारी दिए ।

यसअघि अख्तियारले दायर गरेको मुद्दामा ‘टीकापुर नगरपालिका–१ स्थित टीकापुर बजार क्षेत्रको करिब ६ सय रोपनी जग्गा नगर विकास समितिका तत्कालीन अध्यक्ष लगायतको मिलोमतोमा नक्कली रसिद बनाई अध्यक्ष, पदाधिकारी एवं कर्मचारीको संलग्नतामा प्लटिङ गरेर बदनियतपूर्ण रुपमा रकम उठाइ बेचबिखन गरेको’ उल्लेख छ ।

समितिको स्वामित्वमा रहेको जग्गा व्यक्ति विशेष तथा संघ–संस्थाहरुलाई वितरण गरी हक हस्तान्तरण गर्दा नगर विकास ऐन, २०४५ तथा नगर विकास निर्देशिका, २०६१ मा भएको व्यवस्थाबमोजिम उपलब्ध गराउनु पर्नेमा त्यसविपरीत नक्कली कागजात खडा गरी व्यक्तिका नाममा हस्तान्तरण भएको अख्तियारको अभियोग पत्रमा उल्लेख छ ।

राजनीतिक पहुँच र मिलेमतोमा जग्गा हिनामिना भएको आरोप लाग्दै आएको छ । सो जग्गा हिनामिना प्रकरणमा कांग्रेस नेतृ डा. आरजु राणादेखि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीसम्म संलग्न रहेको दाबी गरिएको थियो । तर, अख्तियारले उनीहरुलाई भने प्रतिवादी बनाएको थिएन ।

जग्गा हिनामिनाको क्रममा थुप्रै सरकारी कागजपत्र कीर्ते बनाइएको खुलेपछि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गराइसकेको अख्तियारकै आग्रहमा प्रहरीले कीर्तेतर्फ पनि अनुसन्धान थालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?