+
+

मोदीको ग्यारेन्टीको काउन्टरमा आम आदमीले अघि सार्‍यो केजरीवाल ग्यारेन्टी

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३० गते १९:४४

३० वैशाख, काठमाडौं । आम आदमी पार्टीका अध्यक्ष तथा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले लोकसभा निर्वाचनका लागि १० ग्यारेन्टी अघि सारेका छन् । जेलबाट निस्किएसँगै चुनावी अभियानमा आक्रामक बनेका केजरीवालले प्रतिपक्षी गठबन्धन सत्तामा आएको अवस्थामा १० ग्यारेन्टी पूरा गर्ने प्रतिवद्धता जनाएका इन्डियन एक्सप्रेसमा समाचार छ ।

आम आदमीले लोकसभाको २२ सिटमा प्रतिस्पर्धा गरेको छ । तीमध्ये दिल्लीका ४, पञ्जाबका १३ र हरियाणाको एक चुनाव क्षेत्रमा मतदान हुनै बाँकी छ । यी निर्वाचन क्षेत्रलाई केन्द्रित गर्दै अभियान सार्वजनिक गर्ने क्रममा केजरीवालले मोदीको ग्यारेन्टीलाई काउन्टर दिएका हुन् ।

दिल्लीमा आइतबार पत्रकार सम्मेलनमा सम्बोधन गर्दै केजरीवालले भनेका छन्, ‘भाजपाले आफ्ना प्रतिवद्धता पूरा गर्न सकेको छैन । मैले अघि सारेका एजेण्डा पूरा भएको दृष्टान्त तपाईहरुसमक्ष नै छ । अब मतदातासँग केजरीवाल र मोदीको ग्यारेन्टीमध्ये एक चुन्ने अवसर छ’ उनको भनाइ उद्दृत गर्दै भारतीय सञ्चार माध्यमहरुले लेखेका छन् ।

केजरीवालले विद्युत, शिक्षा, विश्वस्तरीय स्वास्थ्य, चिनियाँ अतिक्रमणमा रोक, अग्निपथ, किसानका मुद्दामा ग्यारेन्टी अघि सारेका हुन् । उनको ग्यारेन्टीमा दिल्लीलाई राज्यको दर्जा, रोजगारीमा सुधार, भ्रष्टाचारविरुद्ध सशक्त कारबाही आदि छन् ।

विद्युत

प्रतिपक्षी गठबन्धनको सरकार बनेमा मुलुकभर २४ घण्टा विजुली उपलब्ध गराउने ग्यारेन्टी उनले अघि सारेका छन् । ‘हामीसँग ३ लाख मेगावाट विद्युत उत्पादनको क्षमता छ । गर्मीयाममा २ लाख मेगावाटको माग छ । हामी यो मागलाई पूरा गर्न सक्षम छौँ ।

तथापि व्यवस्थापन कमजोर हुँदा अझै पनि विद्युत कटौती हुनेगरेको छ । हामीले दिल्ली, पञ्जाबमा समस्या समाधान गरेको अनुभव छ । यो अनुभवका आधारमा पूरा मुलुकमा विद्युत व्यवस्थापन गर्न सक्छौँ भन्ने विश्वास छ’, उनले भनेका छन् ।

शिक्षा

शिक्षानै मुलुक विकासको मेरुदण्ड भन्दै केजरीवालले मुलुकभर गुणस्तरीय उच्च शिक्षा निशुल्क गर्ने ग्यारेन्टी पेश गरेका छन् । ‘सबै बालबालिकाले गुणस्तरीय शिक्षा पाएमात्रै मुलुकको विकास हुन्छ । अहिले विद्यालय शिक्षा निकै नाजुक छ । मुलुकभरका १० लाख विद्यालयमा १८ करोड बालबालिका पढ्छन् । उनीहरूले गुणस्तरीय शिक्षा पाउन सकेका छैन । दिल्ली र पञ्जाबमा हामीले शैक्षिक संस्था सुधार गरेर प्रमाणित गरिसकेका छौँ । समग्र मुलुकमै हामी शिक्षा सुधार गर्न सक्छौँ’, केजरीवालले भनेका छन् ।

मुलुकभर शैक्षिक सुधारका लागि ५ अर्ब रूपैयाँ आवश्यक भएको उनले बताए । यो रकममध्ये आधा केन्द्रबाट र बाँकी राज्य सरकारबाट खर्च गरिने उनको ग्यारेन्टी छ ।

विश्वस्तरीय नि:शुल्क स्वास्थ्य सेवा

केजरीवालले मुलुकको स्वास्थ्य प्रणालीलाई विश्वस्तरीय बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । ‘मुलुकका जनता स्वस्थ भएमात्रै मुलुक प्रगतिपथमा अघि बढ्छ । घरगाउँ क्लिनिक सुरु गर्नुका साथै जिल्ला अस्पतालका सेवा विस्तार गरिनेछ । स्वास्थोपचार निशुल्क हुनेछ’, उनले भनेका छन् ।

प्रतिपक्षी गठबन्धनको सरकार बनेको खण्डमा स्वास्थ्य बीमा बीमा हटाइने उनले बताए । स्वास्थ्य बीमामा ठूलो घोटाला हुने भएकाले त्यसलाई हटाइने उनको भनाइ छ ।

चिनियाँ अतिक्रमणको समाधान

केजरीवालले चिनियाँ अतिक्रमणविरुद्ध दीर्घकालीन समाधान अघि सारिने बताएका छन् । मुलुक सबैभन्दा माथि रहेकाले भारतीय भूमिको अतिक्रमण सह्य नहुने उनको भनाइ छ ।

‘चिनियाँ अतिक्रमणबारे केन्द्र सरकारसँग प्रश्न गर्दा हाम्रो भूमिमा कोही पनि नछिरेको भन्दै झुट बोलिरहेको छ । हाम्रो सेना सक्षम छ उनीहरुलाई स्वतन्त्र रूपमा काम गर्न दिनुपर्छ । यस्तै कुटनीतिक पहल समेत गरेरका चिनियाँ अतिक्रमण रोकिनेछ’, उनले भनेका छन् ।

अग्निपथमा भर्ती भएकाहरूलाई स्थायी जागिर

केजरिवारले अग्निपथ योजना अर्न्तगत भर्ती भएकाहरूलाई स्थायी जागिरको ग्यारेन्टी अघि सारेका छन् । अग्निपथ योजनाले सेनालाइ कमजोर बनाउने भन्दै उनले भनेका छन्, ‘केन्द्रले रक्षामा खर्च बढेको भन्दै यो योजना ल्याएको हो । मुलुकको सुरक्षाका लागि खर्च गर्न डराउनुहुँदैन । अग्रमोर्चामा खट्नेहरुलाइ हतोत्साही गर्न मिल्दैन ।’

किसानका लागि प्रतिवद्धता

केजरिवालले इन्डिया गठबन्धनको सरकार बनेमा किसानहरूल माग गरेबमोजिम उत्पादनको न्युनतम खरिद मुल्य तोकिने बताएका छन् ।

‘कृषकहरुलाई मारेर कसैको वृद्धि हुनेछैन । उनीहरु अहिले आत्महत्यासम्मको स्थितिमा पुगेका छन् । यो निकै दु:खद हो । आफ्ना अधिकारका लागि आवाज उठाउँदा उनीहरुमाथि ज्यादती भएको जगजाहेर छ । कृषि उत्पादनको उचित मूल्य तोक्ने ग्यारेन्टी गर्छौँ,’ उनले भनेका छन् ।

दिल्लीलाई राज्यको दर्जा

तीनपटक दिल्लीको मुख्य मन्त्री बनेका केजरिवालले दिल्लीलाई राज्यको दर्जा दिने ग्यारेन्टी अघि सारेका छन् ।

रोजगारी

केजरिवालले २ करोड जनसंख्यालाई रोजगारी सुनिश्चित गर्ने ग्यारेन्टी अघि सारेका छन् । एक वर्षभित्र २ करोडलाई रोजगारी दिने उनको योजना छ ।

भ्रष्टाचारविरुद्ध सशक्त

केजरीवालले भ्रष्टाचारविरुद्ध सशक्त हुने ग्यारेन्टी अघि सारेका छन् । ‘वर्तमान राज्य प्रणालीमा सोझा र निर्दोष जेल जाने र त्यसका लागि राज्यका संयन्त्रले नै सरकारी प्रभावमा सहयोग गर्ने प्रचलन बढेको छ । यो अवस्थाको अन्त्यका साथै भ्रष्टाचारविरुद्ध सशक्त अभियान सञ्चालन हुनेछ’, उनले भनेका छन् ।

पञ्जाबमा माथिदेखि तलसम्मका भ्रष्टाचारमा कमी ल्याएको अनुभवका आधारमा पूरा मुलुकमा त्यसैगरी काम गर्ने उनले बताए ।

जीएसटी नीतिमा सुधार :

केजरीवालले जीएसटी नीतिमा सुधार गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । वस्तु तथा सेवामा लगाइएको कडा कर प्रणालीले १२ लाख ठूला व्यापारीले व्यापार छोडेकाले त्यसलाई व्यवहारिक बनाइने उनको ग्यारेन्टी छ ।

‘व्यापारमा चीनलाई पछि पार्ने हाम्रो इजनामा जीएसटीको अव्यवहारिक नीतिले अप्ठ्यारो बनाएको छ । उच्च आम्दानी गरेका १२ लाख व्यापारी एकदशक यता व्यापार छोडेर पलायन भएको तथ्यांक सुखद होइन’, उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?