+

उसुको विश्वकपका लागि चिनमा प्रशिक्षण गर्ने

२०८१ वैशाख  ३० गते २२:५७ २०८१ वैशाख ३० गते २२:५७
उसुको विश्वकपका लागि चिनमा प्रशिक्षण गर्ने

३० बैशाख, काठमाडौं । बैशाखको दोस्रो साता चीनमा सम्पन्न अन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई नेपालले उसु महासंघ नगदसहित सम्मान गर्ने भएको छ ।

महासंघले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा पदक जित्ने ६ जना खेलाडीलाई नगदसहित सम्मान गर्ने जनाएको छ ।

अन्तर्राष्ट्रिय उसु महासंघको आयोजनामा जियाङ्सु प्रान्तको जियानझिङमा बैशाखको दोस्रो साता सम्पन्न भएको प्रतियोगितामा नेपालले २ रजत र ४ काँस्य पदकसहित कुल ६ वटा पदक जितेको हो ।

महासंघले रजत विजेता खेलाडीलाई १० हजार र काँस्य पदक विजेता खेलाडीलाई ७ हजार नगदसहित आगामी शनिबार बौद्धमा सम्मान गर्ने महासंघका महासचिव ल्हाक्पा छिरी लामाले जानकारी दिए ।

नेपालले सान्सौं विधातर्फ एकलमा २ रजत र २ बटै काँस्य पदक जितेको थियो । यस्तै थाउलो विधाको एकल र टिम इभेन्टमा पनि समान १–१ कास्य पदक नेपालले आफ्नो पोल्टामा पारेको थियो ।

सान्सौं विधाको पुरुष ८० केजी तौल समूहमा संजिव महर्जन र सोहि विधाको महिला ५६ केजी तौल समूहमा विद्या गुरुले रजत पदक जितेका थिए ।

संजिव इरानी खेलाडीसँग र विद्या टर्कीकी खेलाडीसँग फाइनलमा पराजित भएका हुन् । स्वर्ण पदक ल्याउन नसके पनि संजिव र विद्या दुबै आगामी नोभेम्बरमा अस्ट्रेलियामा हुने उसुको सान्सौ विश्वकपमा छनौट हुन सफल भएका छन्।

फाइनल पुग्नु अघि विद्याले बंगलादेशी खेलाडी मोष्ट शिखा खातुनलाई सेमिफाइनलमा ११–३, ७–३, १२–१, १०–५ र ४–१ ले हराएकी थिइन्।  संजिवले भने सेमिफाइनलमा सेनेगलका खेलाडीलाई स्तब्ध पारेका थिए।

रजत पदक विजेता विद्याले विश्वकपमा छनौट हुन पाउँदा खुसी लागेको बताईन् ‘हामीले अझै राम्रो गर्नुछ, विश्वकपमा पुग्दा चुनौती उत्तिकै छ,’ उनले भनिन्र्, ‘अझै हाम्रो तयारी र प्रशिक्षणमा अझै कमि छ , ती कमीलाई सुधारेर अगाडी बढ्नुपर्छ ।’

अन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगितामा नेपालका तर्फबाट सर्वाधिक ९ दशमलब ६६३ स्कोर प्राप्त गरी दिपक हमालले कांस्य पदक जितेका थिए ।

१८ राष्ट्र सहभागी थाउलोको नानछ्वान इभेन्टमा दिपकले काँस्य पदक जितेका हुन् । उनी आगामी अक्टोबरमा जापानमा हुने थाउलोको विश्वकपका लागि पनि छनौट भएका छन् । ‘एशियन गेम पछिको ठूलो र स्तरीय प्रतियोगिता थियो,’ दिपकले भने,  ‘विश्वकपका लागी अहिलेको प्रशिक्षण र तयारीले पुग्दैन थप मेहेनत गर्नुपर्छ । उनले नेपाली खेलाडीलाई खेल्ने हलदेखी न्युट्रेसनको समस्या छ ।’

महासंघका अध्यक्ष वीर बहादुर तामाङले विजेता खेलाडीलाई बधाई तथा शुभकामना दिएका छन् । उनले उसुको सान्सौ र थाउलो विश्वकपको तयारीका लागि सक्दो प्रयास गरिरहेको बताए । उनका अनुसार चाइना उसु एसोसियसनसँग करिब ३ महिने प्रशिक्षणका लागि महासंघले प्रयास गरिरहेको छ ।

महासंघका सचिव एवं प्रशिक्षक निकेश श्रेष्ठले चीनमा भएको सो प्रतियोगिताले अन्र्तराष्ट्रिय जगतमा नेपालको पहिँचान थपिएको बताए ।

प्रतियोगितामा राम्रो प्रर्दशन गरेका विजय सिंजालीले अझै राम्रो स्थानमा प्रशिक्षण गर्न सके एशियाली खेलकुदमै स्वर्ण जित्न सकिने विश्वास दिलाए । ‘खेलाडी आफैले खर्च गरेर विदेशमा ट्रेनिङ या प्रतियोगिता खेल्न जानुपर्ने बाध्यता छ,’ उनले भने,  ‘राम्रो ठाउँमा ट्रेनिङ गर्न पाए र खेलेर आउँदा सम्मान पाए अझ राम्रो गर्न सकिन्छ , एशियन गेममा गोल्ड मेडल पनि हामी दिन सक्छौ ।’

आफूले खेलेर मात्रै ५० लाख सक्काएपनि आफ्नो खेलप्रतिको लगाव उत्तिकै रहेको  २३ वर्षीय सिंजालीले बताए । अन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगिताको थाउलोको छानछवान इभेन्टमा सहभागी २९ वटा देशको भिडन्तमा विजय छैटौँ स्थानमा आएका थिए ।

महिलाको नानछवान इभेन्टमा निमा घर्तिमगर ९ दशमलब ४७६ स्कोर गर्दै चौथो भएकी थिईन् ।

प्रशिक्षक जुनी राईले प्रतियोगितामा सोचेजस्तो नतिजा आएको बताईन् । उनले यो नतिजाले विश्वकपका लागि पनि राम्रो अवसर खडा गरेको बताईन् ।

प्रतियोगितामा सान्सौंतर्फ लुमन्ती श्रेष्ठले महिला ६५ केजी र किरण सिंह साउदले ९० केजी तौल समूहमा कास्य पदक जितेका थिए।  उनीहरु दुबै जना टर्किका खेलाडीसँग सेमिफाइनलमा पराजित भएका थिए।

त्यस्तै थाउलोतर्फकै तुईलिन विधाको टिम इभेन्टमा नेपालका पुरुष खेलाडीहरु विजय सिन्जाली, दिपक हमाल र राजिव गुरुङ्गले कास्य पदक जितेका थिए ।

नेपाली टोलीका टिम ब्यवस्थापक समेत रहेका लामाले नेपाली खेलाडीले चीनमा ऐतिहासिक नतिजा निकालेको बताउँदै अब आगामी दिनमा अझ खेलाडीको प्रर्दशन सुधार्न थप प्रयास गर्ने बताए ।

उसु
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय