+
+

बर्खा नलाग्दै फेवातालको जलकुम्भी फाल्ने अभियानमा पोखरा

४० जना जलारी समुदायलाई २ हप्ता रोजगारी

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३१ गते ६:४९

३१ वैशाख, पोखरा । वर्षातको समयमा बर्सेनि पोखराको फेवातालमा थुप्रिने जलकुम्भी पोखरा महानगरको टाउको दुखाइ बन्दै आइरहेको छ । बर्खा नलाग्दै ताल नै कुरुप बनाउने जलकुम्भीले पर्यटक र डुंगा व्यवसायीले समेत दुख पाउँदै आएका छन् ।

फेवातालको जलकुम्भी व्यवस्थापन गर्न नसकेको भन्दै हरेक वर्ष महानगरको आलोचना हुँदै आएको छ । लाखौं खर्च गर्दा पनि ताल जलकुम्भीमय हुन नछाडेपछि केही वर्षयता महानगर, संरक्षणकर्मीलगायतले बर्खा नलाग्दै सरसफाइ अभियान चलाउँदै आएका छन् । तर, नतिजा भने शून्य छ ।

पोखरा महानगरपालिकाले यस वर्ष पनि मनसुन सुरु नहुँदै फेवातालको माथिल्लो तटीय क्षेत्रबाट बगेर आउने जलकुम्भी झार नियन्त्रण गर्न आइतबारदेखि अभियान सुरु गरेको छ । नागरिक समाज कास्की तथा वातावरण संरक्षणका लागि महाअभियानसँगको सहकार्यमा पहिलो दिन भकुन्डे क्षेत्रको जलकुम्भी झार निकालिएको छ ।

महानगरपालिकाले माथिल्लो तटीय क्षेत्रमै जलकुम्भी नियन्त्रण गर्न सोमबारदेखि स्थानीय जलारी समुदायका ४० जनालाई दैनिक ज्यालादारीमा खटाउने भएको छ । ‘फेवातालमा बगेर आउने जलकुम्भीको नियन्त्रणका लागि नियमित काम गर्ने गरी पहिलो चरणमा ४० जना जलारी समुदायका युवा तथा महिलाहरूलाई काममा खटाइनेछ’, मेयर धनराज आचार्यले भने, ‘यसपछि यो तालको संरक्षण तथा सौन्दर्यीकरण सहित स्थानीय रोजगारीसँग पनि जोडिनेछ ।’

माथिल्लो क्षेत्रबाट बगेर आउने जलकुम्भी झारका कारण फेवाताल बर्सातको समयमा कुरूप देखिने भएकाले यस पटक समयमा नै यसको स्रोत मै व्यवस्थापन थालिएको महानगरको भनाइ छ । पहिलो दिन १५ टिपर जलकुम्भी निकालिएको थियो ।

पोखरा महानगरपालिकाको सहयोगमा एक जलारी घर एक रोजगारी कार्यक्रम अन्तर्गत यो अभियान सञ्चालन गरिएको हो । दुई हप्ता बिहान ८ देखि दिउँसो ३ बजेसम्म दैनिक ४० जना सफाइ कार्यमा खट्ने छन् ।

बर्खामासमा फेवातालै ढाक्ने गरी आइपुग्ने जलकुम्भी झार फाल्न वार्षिक २० लाख रुपैयाँभन्दा बढी खर्च हुँदै आएको थियो । बर्सेनि जलकुम्भीले दु:ख दिँदै आएपछि जलकुम्भी झार निकाल्न २०७४ सालमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको ५० लाख र पोखरा महानगरपालिकाको ७५ लाख गरी एक करोड २५ लाख रुपैयाँ लागतमा मेसिन ल्याइएको थियो ।

क्यानडाबाट एक्वाइटिक प्लान्ट हार्भेस्टिङ मेसिन झार निकाल्न ल्याइए फेवातालले जलकुम्भीबाट छुट्कारा भने पाउन सकेको छैन । ठूलो लगानीमा विदेशबाटै फेवातालको झार निकाल्ने मेसिन ल्याइएको भए पनि प्रभावकारी भने हुन सकेको छैन ।

मेसिनले समेत तालको जलकुम्भी पूर्णरुपान हटाउन नसकेपछि महानगरले अघिल्लो वर्षबाट स्थानीय जलारी समुदायलाई नै सरिक बनाएर जलकुम्भी फाल्ने काम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?