+
+

ढुङ्गामुढा होइन होला हाम्रो पनि मन

मलाई थाहा छैन, अझै पनि मानिसहरू आफ्नो मनको कुरा बोल्न खोज्ने/सक्ने र अन्याय सहेर बस्न नसक्ने छोरीलाई ‘छोरा जस्तो’ मात्रै किन सोच्छन् ? ‘व्यक्ति’को रूपमा किन सोच्तैनन् ?

अमृता लम्साल अमृता लम्साल
२०८१ वैशाख ३१ गते ९:०६

चाबहिलस्थित, पशुपति मित्र माविको कक्षा १० मा पढ्ने तीन छात्राहरू– मन्जु मिश्र, सरिता अधिकारी र अमृता लम्साल खुबै मिल्थे! अनि, झगडा पनि खुबै गर्थे! उनीहरू बीचमा कथा, कविता लेखेर एक–अर्कालाई देखाउने होड थियो। वाह्‌वाही लुट्ने रहर थियो। मनभित्र लुकेको बालसुलभ आरिसेपन पनि थियो।

एकपटक, सरिताले लेखेको कविता धरधरी च्यातिदिएर, उसैको मुखमा कोच्याइदिएको घटना कोच्याउने अमृताले अझै बिर्सेकी छैन; सरिताले सम्झिन्न। उसले भनी, ‘हो र मोरी ? मैले त बिर्सिसकें!’

सायद, त्यही खुद्राखाद्री लेख्ने भएरै होला, हामीलाई नेपाली पढाउने गुरु फणीन्द्रराज ‘खेताला’ (जो आफैं पनि कवि हुनुहुन्थ्यो) ले भन्नुभएको थियो, ‘तिमीहरू नेपालीमा फेल भयौ भने पिडौंलाको मासु झार्छु।’ त्यो विशेषगरी मन्जु र मलाई भनिएको थियो।

स्कूल छुटेको त आधा शताब्दी नै हुनलाग्यो। तर, मन छुटेको छैन र माया पनि छुटेको छैन। अझै पनि उनीहरू समय–समयमा भेट्छन्; विचार मिल्दैन। तर, मन मिलाउँछन्। समयको वहावले, तीनैवटीलाई तीनतिर पुऱ्यायो।

मञ्जुलाई रुसको शिक्षा केन्द्रबाट नेपालमा पत्रकारिता क्षेत्रमा पहिलो कलेज खोल्ने डा. मञ्जु मिश्रको रूपमा स्थापित गरायो। सरितालाई नेपाल राष्ट्र बैंकको उच्च पदस्थ कर्मचारी मात्रै होइन, कवि बनायो र रिटायरमेन्ट दियो। उसले, जागिरको रिटायरमेन्ट मात्रै लिइन, लेखनबाटै रिटायरमेन्ट लिइदिई; म, उसको निर्णयबाट कदापि खुसी छैन। उसलाई लेख्नको लागि पटक–पटक घच्घच्याउँछु तर, कानमा तेल हालेर बसिदिन्छे।

जीवनको एउटा समयमा अमृताको लेखनको हुटहुटीमाथि पहिरो गयो। कुनै नदीमा निर्दिष्ट बाटो रोजेर बगिरहेको डुंगालाई भुमरीले पूरै डुबाइदिए झैं भयो। अँध्यारो जीवन, कहालीलाग्दो यात्रा !

*** *** 

एकदिन, डुबेको डुंगा पार लगाउन कान्छी बहिनी माध्यम बनेर आई। मानिसहरू पटक–पटक सोध्छन्, पत्रकार बन्ने प्रेरणा कहाँबाट मिल्यो ? उही कान्छी बहिनी बबिता लम्सालले नै हो मलाई डोहोऱ्याउँदै डोहोऱ्याउँदै नेपाल प्रेस इन्स्टिट्युट लिएर गएकी।

यहाँहरू यो पढेर हाँस्नुहोला, कस्तो उल्टो कुरा गरेको ? दिदीले पो बहिनीलाई डोहोऱ्याउँछन् त ! तर, सत्य त्यही हो, उल्टो होस् या सुल्टो।

अमृताको, मनभित्रको लेखनको ढुकढुकी मरेको रहेनछ। सुरु भयो, निरन्तरको लेखन यात्रा। फेरि जीवनमा ठूलै तुफान आयो। सबै कुरा उलटपुलट भयो। पहाडले थिच्यो; नदीले डुबायो। लेखनयात्रामा पूर्णविराम लाग्यो। केही वर्ष यसै बित्यो। पत्रिकाका साथीहरू लेख्न अनुरोध गर्नुहुन्थ्यो; मनले कलम समाउन र शब्दसँग खेल्नै मान्दैनथ्यो।

*** ***

सात समुद्रपारि, घर र छिमेकमै एक्लै थिएँ; साँझ नौ बजेतिर काठमाडौंमा बुवा बितेको खबर आयो। असहाय; दुर्बल म टुहुरी भएँ।

रातभर, उत्तानो परेर बिछ्यौनामा पल्टिएर नदीसरी आँखा बगिरहँदा, टाउकोमा ‘खौं’ हानी–हानी, बाबुले पढाएको सम्झिएँ। एकैपटक आठ कक्षामा भर्ना गरिदिंदा, त्यहाँसम्मको पढाइमा जे–जति सिकें, उहाँबाटै सिकें। मेरो लेख पढेर खुशीहुँदै प्रतिक्रिया दिएको याद गरें। कतै जाँदा, ‘ए, छोरा जस्तै छोरी हुनुहुँदोरहेछ, अनि किन छोरा चाहियो त !’ भने भन्दै सुनाएको सम्झिएँ।

मलाई थाहा छैन, अझै पनि मानिसहरू आफ्नो मनको कुरा बोल्न खोज्ने/सक्ने र अन्याय सहेर बस्न नसक्ने छोरीलाई ‘छोरा जस्तो’ मात्रै किन सोच्छन् ? ‘व्यक्ति’ को रूपमा किन सोच्तैनन् ? छोरा हुनेहरूले आफ्ना आमाबाबुलाई गरेको अन्याय, अपमान र दिएका पीडाहरूको लेखाजोखा किन गर्दैनन् ?

सोच त रोकिंदैन तर, अब त जीवनसँग गुनासो पनि छैन। आफ्नाले दिएको चोट, अर्काले दिएको माया सबै बराबर भैसक्यो। सामाजिक मुद्दा र अन्यायको विरुद्ध कलम चलाउँदा ‘तँलाई क्यान्सरले लगिहालोस्’ भनेर पराइले लेखेको पढेको मात्रै होइन, आफ्नैले गरेको अपमान पनि मनभित्र राखेकी छु।

बुबाको देहावसानपश्चात् फेरि लेखनलाई मर्न दिन्न भन्ने निर्णय गरें। उहाँले संसार छाड्नुभएको भोलिपल्ट बिहान बिछ्यौनाबाट उठ्दै निर्णय गरें– म अब लेखनलाई निरन्तरता दिन्छु।

मेसेन्जरमा साँघु साप्ताहिकका सम्पादक गोपाल बुढाथोकीलाई मेसेज पठाएँ, ‘म नियमित लेख्छु; पहिलो लेख, मेरो बुवाप्रति श्रद्धाञ्जली हुनेछ।’ बुवाको १३ दिनपश्चात्, त्यो लेख छापियो। त्यसपछि फेरि कलम रोकिएको छैन।

*** ***

पहिले लेखेका फोटोकपीका ढड्डाहरू धेरै छन्; पछिका अनलाइनतिर पनि होलान्। किताब लेख्ने जाँगर र सपना कहिल्यै थिएन। कतिपटक, लेखनकै क्रममा निकटस्थ हुनुभएका लेखक तथा प्रकाशक मित्रहरूले नघच्घच्याउनुभएको पनि होइन। तर ती अनुरोधलाई यत्तिकै टारिदिन्थें। त्यसरी घच्घच्याउनेमध्येकी एक लेखक तथा प्रकाशक, डाक्टर अर्चना थापा पनि हुनुहुन्थ्यो; उहाँको कुरा पनि टारेरै बस्थें। अहिले त उहाँकै प्रकाशन संस्था ‘अक्षर क्रिएसन’बाट दुइटा किताब पनि प्रकाशित भइसके, ‘हजुरआमाका कथा’ र ‘मिडिया, महिला र म’; त्यसलाई जीवनको उपलब्धि नै मान्नुपर्छ।

व्यक्तिगत जीवनमा होस् या आफू संलग्न पेशामा होस्, हात समातेर सहारा दिनेभन्दा खाल्टोमा जिउँदै पुरेर माथि निस्किएको टाउकोलाई टेकेर हिंड्न खोज्नेको वर्चस्व छ। कहिलेकाहीं अचम्म लाग्छ, यति हुँदा पनि कसरी जीवन्त हुनसकिरहेकी छु ?

दु:ख, पीडा र अपमानित हुने पलहरू अझै सिद्धिएका थिएनन्। जीवनका पाइलाहरू घिसार्दै गरेका बेलामा स्तन क्यान्सर पिरती गाँस्न आइपुग्यो। क्यान्सरको कारणले किमो दिएकै समय थियो, ३ पुस २०७९ आइतबार साँझ ४ बजेर ५ मिनेटमा नेपाल पत्रकार महासंघको एक पदाधिकारीबाट मेसेन्जरमा फोन आयो। फोन उठाउन सक्ने अवस्थामा थिइनँ, उठाइनँ। फोन नउठाएपछि, मेरो नम्बर मागियो। मैले लेखें– ‘म किमो दिएर बसेकी छु। आज गाह्रो भएको छ, रातिदेखि नै। बोल्ने, खाने, आँखा हेर्न मन छैन।’

फेरि भोलिपल्ट साँझ ८ बजे मेसेन्जरमा फोन आयो। फोन उठाउन सक्ने तागत नै थिएन। फोन गर्नेले अलि ठिक भयो ? भनेर सोध्नुभो। किमोपछिको ‘न्युकेन’ इन्जेक्शन दिएर हलचल गर्न नसकेर सुतेको बिरामीको पीडा बुझ्न नसकेको देखेर रिस पनि उठ्यो। लेखें— ‘…म अहिले घरको मान्छेसँग पनि बोल्न नसक्ने अवस्थामा छु। क्यान्सरको किमो दिएको! बिरामी!’

त्यसको पाँच दिनपछि फोन गर्ने व्यक्तिले नै लेख्नुभो– ‘दिदी नमस्कार अनि नेपाल पत्रकार महासंघले हजुरलाई प्रेस स्वतन्त्रता सेनानी सम्मान गरेको छ। हजुरलाई हार्दिक बधाई छ।’ मैले अचम्म पर्दै सोधें, ‘हो र ? कता ? के ? मलाई त थाहै छैन।’

अचम्म यो कारणले पनि लाग्यो कि, संचारकर्मीको नाताले समाजका विविध समस्यामा कलम चलाएको ३० वर्षभन्दा बढी भइसक्दा पनि, न त पत्रकार महासंघका पदाधिकारी, न त सहकर्मीले नै मलाई पत्रकार मानेका छन्। किनकि, म उनीहरूको राजनैतिक दल, समूह, गुट, पत्रकारको नाममा चलाइने एनजिओ… कसैसँग पनि आबद्ध छैन। यस्तोमा अत्तो न पत्तोसँग त्यस्तो खबर कसरी पत्यार लाग्नु ?

उहाँले जवाफमा लेख्नुभो– ‘मैले अस्ति हजुरलाई सम्पर्क गरेको कारण हजुरलाई भेट्न आउन थियो र यही विषयमा कुरा पनि गर्न खोजेकी थिएँ; तर हजुरको स्वास्थ्यको कारण हजुरसँग कुरा हुन पाएन। अब म सुर्खेतबाट फर्केपछि अध्यक्ष सहितको टोली आउँछौं।’

न त त्यो टोली नै आयो, न त प्रमाणपत्र; २०७९ चैत ९ गते बिहिवार मैले उहाँलाई लेखें, ‘… नमस्कार! सन्चै हुनुहोला भन्ने आशा छ। मेरो एउटा किताब निस्कने तयारीमा छ; त्यो किताबमा मैले, ‘प्रेस स्वतन्त्रता सेनानी सम्मान’ पाएको भनेर लेख्न मिल्छ ? मसँग केही पनि प्रमाण छैन, त्यही भएर सोधेकी !’

उहाँले लेख्न मिल्ने सुझाव दिंदै लेख्नुभो, ‘मिल्छ किन नमिल्नु म… बिजी भएर हो म प्रमाणपत्र ल्याइदिन्छु।’ तर, त्यो आएन; आउँदै आएन।

मेरो मनले त्यो सम्मानलाई अपमान मान्यो। मनले सोच्यो, ‘यदि त्यही सम्मान एक पुरुष वा टेलिभिजन र पत्रिकामा छाइरहने व्यक्ति वा राजनैतिक पार्टीका सदस्य वा पार्टीका झोले वा बेस्सरी फन्ड आउने एनजिओकर्मीले पाएका भए कति हूल भएर घरमा पुऱ्याउन जान्थे होलान् ?’

फेरि २०८० साल असार २१ गते बिहिवार उहाँलाई लेखें– ‘… मैले पाएको भनेको त्यो सम्मानको फोटो भए पनि यता (मेसेन्जरमा) हालिदिनुस्न प्लिज ! महासंघको कुन कुनामा धुलोले छोपिएर बसेको होला, मलाई त पाएको भन्न पनि अप्ठेरो लागिसक्यो ! मेरो किताब आउँदैछ, कम्तीमा आँखाले देख्न पाए किताबमा पनि उल्लेख गर्नुहुन्थ्यो !’

उहाँको जवाफ थियो, ‘हजुरले अहिलेसम्म त्यो सम्मान पत्र प्राप्त गर्नुभएको छैन भन्ने कुरा मलाई थाहा भएन सरी दिदी। म आज महासंघ जान्नँ भोलि खोजी गरेर हजुरको घरमै ल्याइदिन्छु।’

मैले लेखें– ‘तपाईं बाहेक, त्यो सम्मानको बारेमा मसँग महासंघको कसैले कुरै गरेको छैन। महासंघको यो झारातिराइ म बिर्सिने छैन। मैले मागेर पाएको कुरा पनि थिएन। आज, म (महिला) बाहेक अरू पुरुषहरूले पाएको भए वा पदमा रहेको मानिसले पाएको भए यस्तो झारा तिर्ने काम हुन्थ्यो त ?’

त्यतिबेला मैले फोन उठाएको भए र सोधेको भए म लिन्न भन्नेथिएँ होला, जसरी केही हप्ता अगाडि एउटा पुरस्कार दिइन लागेको आग्रहलाई धन्यवाद सहित अस्वीकार गरेकी थिएँ।

आजसम्म कतै कसैको सिफारिस वा भनसुन लगाएर त्यस्ता कुरा प्राप्त गर्ने आशा या लोभ पनि राखेकी थिइनँ/छैन। यो तपाईं र मेरो कुरा होइन। महासंघको कुरा हो।

यदि, कसैलाई सम्मान गर्नै चाहेको हो भने, सम्मानको मान राख्नुपर्छ। मैले त कहिल्यै पनि महासंघ या कुनै पनि संघसंस्थाको चाकडी गर्न गएर केही पनि हात थाप्न गएकी छैन।

जुनबेला यो सम्मानको खबर सुनियो, जीवन र मृत्युको दोसाँधमा थिएँ। लौ त भन्ने हो भने, साँच्चै मेरो कामलाई सम्मान गरेर दिइएको थियो भने, मलाई उतिबेलै घरमा ल्याएर दिनुपर्थ्यो। काठमाडौं त्यति धेरै ठूलो पनि थिएन/छैन। यो त सम्मान होइन, झारातिराइ नै थियो।

बल्ल सम्मानपत्रको फोटो मेसेन्जरसम्म आइपुग्यो त्यो पनि, मलाई चाहिंदैन भनेर लेख्छु भनेपछि। त्यसको केही समयपछि, सायद उहाँले नै होला मेरो ठेगानामा त्यो फ्रेम म बस्ने ठेगानामा ल्याएर छाडिदिनुभएछ। त्यतिबेला मेरो पुस्तक ‘मिडिया, महिला र म’ मा त्यसको सन्दर्भ अटाउन दिइनँ।

त्यसैबीचमा मैले पत्रकार महासंघलाई मेन्सन गरेर, ‘एक्स’मा मैले नपाएको सम्मानबारे एउटा पोस्ट गरेकी पनि थिएँ; तर, उनीहरूलाई के मतलब !

व्यक्तिगत जीवनमा होस् या आफू संलग्न पेशामा होस्, हात समातेर सहारा दिनेभन्दा खाल्टोमा जिउँदै पुरेर माथि निस्किएको टाउकोलाई टेकेर हिंड्न खोज्नेको वर्चस्व छ। कहिलेकाहीं अचम्म लाग्छ, यति हुँदा पनि कसरी जीवन्त हुनसकिरहेकी छु ? अनि सम्झना आउँछ, गोपाल योन्जनको शब्द र संगीतमा उदितनारायणले गाउनुभएको गीत–

कहिलेकाही मनका कुरा हामीलाई पनि भन

ढुङ्गामुढा होइन होला हाम्रो पनि मन

दर्पण छाया, हेरी हेरी नानी गयो जोवन

कति चोटि ढाँटिसक्यो दर्पणले तिमीलाई

अझ किन सोध्यौ नानी आफ्नो रूप उनलाई

हामीलाई पनि सोधी हेर के छौ तिमी हाम्रो लागि

दर्पण छाया हेरी हेरी नानी गयो जोवन

संसारले तिमीलाई हेर्‍यो र तिमीले संसार हेर

धेरै धेरै पाउनेछौ तिमीले त्यति खेर

व्यर्थै फाल्यौ जोवन किन घरको चारै भित्ता कुरी

दर्पण छायाँ हेरी हेरी नानी गयो जोवन

अनि त मनका कुरा भन्न औंलाहरू किबोर्डको अक्षरहरूमा सल्बलाउँछन् । यी कुराहरू, भारतको तामिलनाडुस्थित एक होटलबाट लेखिरहेकी छु।

मलाईभन्दा एक वर्ष अगाडि क्यान्सर भएको मलाई एकदम माया गर्ने साथीले २०८० साल वैशाखमा मेसेन्जरमा एउटा भिडियो पठाउनुभयो। त्यो भिडियोमा, उहाँ बसमा नाच्दै/गाउँदै कामरु कामाख्या मन्दिर जानुभएको थियो। मैले, उहाँलाई पटकपटक सोधें, तपाईंलाई क्यान्सर भएको कति भयो ? उहाँले भन्नुभयो, एक वर्ष। ओहो ! म पनि एक वर्षमा ठिक भएर हिंड्न सक्छु त ? उहाँले भन्नुभयो, ‘सक्नुहुन्छ साथी; हामीले हिम्मत हार्नुहुन्न।’

किमो दिएर थिलथिलो भएको शरीर, कतिपय रात ‘यही अन्तिम रात हो’ भन्ने सोच… पीडाका ती दिनहरू…. ! साथी, म आज तिरूपतिको दर्शन गरेर आएँ नि ! तपाईंप्रति सदा आभारी छु। दु:खमा हिम्मत बढाउने र साथ दिनेलाई जीवनभर बिर्सन सकिंदैन नि!

मेरा अरू साथी/बहिनीहरू जो अहिले औषधोपचार गराइरहनुभएको छ, नआत्तिनुहोला! हिम्मत नहार्नुहोला !

लेखकको बारेमा
अमृता लम्साल

लेखक सामाजिक अभियन्ता, लेखक एवं पत्रकार हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?