+
+

‘प्लानेट अफ द एप्स’को विश्वभर उछाल कमाइ, संकटग्रस्त मार्वललाई पुनर्जीवन

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३१ गते ११:५२

काठमाडौं । हलिउड स्टुडियो डिज्नी र ट्वेन्टिएथ सेन्चुरीको पछिल्लो फिल्म ‘किंगडम अफ द प्लानेट अफ द एप्स’ले विश्व बक्स अफिसमा उछाल ल्याएको छ । भेराइटी म्यागजिनका अनुसार फिल्मले पहिलो सप्ताहन्त विश्वभर १२९ मिलियन डलरको ओपनिङ गरेको छ ।

पहिलो सप्ताहन्त उत्तर अमेरिकी बक्स अफिसमा ५६.५ मिलियन डलर कमाएको यो फिल्मले सोही अवधिमा ओभरसिजमा भने ७२.५ मिलियन डलर कमाइ गर्‍यो । गत वर्ष निराशाजनक व्यापार गरेको मार्वल स्टुडियोलाई यो फिल्मले पुनर्जीवन दिएको विश्लेषण भइरहेको छ ।

मार्वलको फिल्म नचल्दा डिज्नीको आम्दानी गत वर्ष सुस्त थियो । तर अहिले यो ५८ वर्ष पुरानो फ्रेन्चाइज बाँदरको नयाँ शृंखलाले आगामी दिनको सम्भावना बलियो हुने देखिन्छ ।

यो फिल्मले रिलिजको पहिलो सप्ताहन्तमै अमेरिकाको घरेलु बक्स अफिसमा भन्दा विश्वका अन्य देशमा राम्रो व्यापार गरेको छ । अमेरिका बाहेक ओभरसिजमा पनि फिल्मको कमाइ उत्कृष्ट छ । फिल्मले विदेशमा सबैभन्दा धेरै कमाइ चीनमा गरेको छ, जहाँको ओपनिङ ११.४ मिलियन डलर छ ।

फ्रान्समा ७.१ मिलियन डलर, मेक्सिको ६.४ मिलियन डलर, बेलायत ४.८ मिलियन डलर, अस्ट्रेलिया २.७ मिलियन डलर, जर्मनी २.२ र स्पेनमा २.२ मिलियन डलर छ ।

आइम्याक्समा मात्र फिल्मले विश्वव्यापी १३.२ मिलियन डलर कमायो । विदेशमा अमेरिका बाहेकको हिस्सा ६.२ मिलियन डलर छ । मुख्यतः दर्शक र समीक्षकले यो फिल्मलाई उत्कृष्ट प्रतिक्रिया दिएका छन् ।

फिल्मले भारतमा राम्रो व्यापार गरेपनि अन्य देशको तुलनामा निकै कम छ । यसको मुख्य कारण फिल्मको प्रचारप्रसारका लागि बनाइएको रणनीति रहेको बताइएको छ । फिल्मको हिन्दी संस्करणलाई दर्शकले माया दिइरहेका छन् तर हलमा पुगेका अधिकांश दर्शकलाई यो फिल्म भारतमा हिन्दीमा पनि रिलिज भएको थाहा छैन ।

भारतमा यो फिल्मका आइम्याक्स संस्करण लगातार हाउसफुल भइरहेको जनाइएको छ । यो फ्रेन्चाइजको दशौं फिल्म हो । यो सिरिजको अहिलेसम्मकै सबैभन्दा सफल फिल्म ‘डन अफ द प्लानेट अफ द एप्स’ रहेको छ, जसले रिलिजको बखत विश्वभर ७१० मिलियन डलर कमायो ।

‘मेज रनर’ श्रृंखलाका चर्चित निर्देशक वेस बलद्वारा निर्देशित फिल्म ‘किंगडम अफ द प्लानेट अफ द एप्स’ यस फ्रेन्चाइजको नयाँ श्रृंखला हो, यसमा प्रस्तावित तीन फिल्मको पहिलो सिक्वेल हो ।

यो फिल्मको कथा एक राजकुमारको साहस प्रदर्शनबाट सुरु हुन्छ । राजकुमार चिललाई पाल्तु चरा बनाउने माहिर बाँदरको वंशको पात्र हो । राजकुमार र उसका दुई साथी चिलको अण्डाको खोजीमा भग्नावशेष भएको गगनचुम्बी भवनको माथिल्लो तलामा जान्छन् र लामो जम्प गरेर चिलको अण्डा पनि ल्याउँछन् ।

अर्को दिन उसले आफ्नो गर्भ र अण्डामा रहेको नयाँ जीवनसँग आफ्नो नयाँ सम्बन्धको थालनी गर्छ । त्यसको अघिल्लो रात, उसले एक मानवसँग भेट्छ । मानिस र जनावरबीचको सम्बन्धको नयाँ रहस्य त्यहाँबाट सुरु हुन्छ ।

यो फिल्मको एक महत्वपूर्ण कोरिनाको भूमिकामा डिचेन ल्याकम्यान पनि छिन्, जसको जन्म काठमाडौंमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?