
काठमाडौं । दोस्रो संस्करणको एएमएस इन्टरनेसनल अनर अवार्ड तथा सांस्कृतिक कार्यक्रम जापानमा सम्पन्न भएको छ । समारोहमा वरिष्ठ संगीतकार शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट सम्मान प्रदान गरिएको छ ।
राजधानी टोकियोमा आयोजित समारोहमा २६ विधामा अवार्ड समेत प्रदान गरिएको थियो । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, संगीतकार संघका अध्यक्ष चेतन सापकोटा लगायत समारोहमा सहभागी थिए ।
कार्यक्रममा संगीतकार बास्कोटालाई ७१ हजार १०१ रुपैयाँ राशिसहित दीर्घ साधना सम्मान प्रदान गरियो । कलाकारले सांगीतिक प्रस्तुति दिएका थिए ।
‘पर्यटन, कला र संस्कृतिको प्रवर्द्धन गर्ने अभियान समृद्ध नेपाल निर्माणमा हाम्रो योगदान’ भन्ने मूल नाराका साथ बृहत सांस्कृतिक कार्यक्रम आयोजना गरिएको जनाइएको छ । कार्यक्रममा नेपालबाट गएका र जापानमा रहेका स्थाानीय कलाकारले प्रस्तुति दिएको आयोजक संस्थाकी अध्यक्ष सत्यकला लामाले जानकारी दिइन् ।
समारोहमा गायक-गायिकाहरु अञ्जु पन्त, कमल खत्री, स्मिता दाहालसहित नृत्य निर्देशक गजित विष्टलाई अवार्ड प्रदान गरियो । नेपाली संस्कृतिलाई विश्वव्यापी बनाउन र जापानमा लामो समय रहेर पेशा-व्यवसाय गर्दै आएका नेपाली समुदायलाई आफ्नो भाषा, साहित्य, कला संस्कृतिसँग जोड्न यो कार्यक्रम आयोजना गरेको आयोजक सनराइज कम्पनी अध्यक्ष कर्साङ तामाङले बताए ।
उक्त अवसरमा नेपाली फिल्मलाई कसरी विश्वव्यापी बनाउन सकिन्छ भन्ने विषयमा छलफल समेत गरिएको थियो ।
प्रतिक्रिया 4