+
+
ब्लग :

विद्यार्थी महोत्सव : विद्यार्थी आन्दोलनको रचनात्मक ‘डिपार्चर’

आमबुझाइमा एकपटक अलग्गै छाप बनाउनुपर्ने समयमा विद्यार्थी आन्दोलन अडिएको छ । यसको पुनर्जागरण र पुनर्संरचनाको पानीढलो कस्तो हुने आजको सरोकारको विषय हो ।

समिक बडाल समिक बडाल
२०८१ वैशाख ३१ गते १४:३४

विद्यार्थी संगठन भन्नासाथ आमजनमानसमा केही बिम्वहरू आउँछन्, जस्तो-तेलको भाउ बढ्दाका आन्दोलन, राजनैतिक मागसहित आन्दोलन यस्तै उस्तै ! र विद्यार्थी संगठनका नेताको छवि सधैं आन्दोलन गर्ने पेशाकर्मी जस्तो बन्दै आएको छ । यी विम्बहरूको पाटोबाट हेर्दा वस्तुनिष्ठ नै देखिन्छन् । किनकि नेपालको विद्यार्थी आन्दोलनले आफ्ना दर्जनौं वर्ष सडक आन्दोलनमा व्यतीत गरेको इतिहास छ ।

यसले आर्जन गरेको विरासत र उपलब्धि अत्यन्तै महत्वपूर्ण छन् । जस्तो राजनैतिक स्वतन्त्रताको आन्दोलन, सार्वजनिक यातायातमा विद्यार्थी सहुलियत र आमजनताका दिनानुदिनका समस्या विरुद्धका आन्दोलनहरू । विद्यार्थी आन्दोलनका आफ्नै सीमा, बाध्यता, चुनौती र कमजोरीहरू नभएका होइनन् । यसलाई समयसापेक्ष परिवर्तन गर्नुपर्ने, आन्दोलनका एजेन्डालाई पुनर्परिभाषित गर्नुपर्ने र आन्दोलनमा देखिएका विसंगतिहरूलाई निर्मूल पार्दै इमान सहितको राजनीतिलाई स्थापित गर्नुपर्ने चुनौती त छँदैछन् ।

तर आमबुझाइमा एकपटक अलग्गै छाप बनाउनुपर्ने समयमा विद्यार्थी आन्दोलन अडिएको छ । यसको पुनर्जागरण र पुनर्संरचनाको पानीढलो कस्तो हुने आजको सरोकारको विषय हो । मूल प्रश्न अहिलेको विद्यार्थी आन्दोलनको समग्र चित्रमा एक अलग क्यानभास भर्नु नै हो । जुन क्यानभासमा विद्यार्थी नेताहरूको चित्र एक रचनात्मक, परिवर्तनकामी, जुझारु, देशभक्त र इमानका रंगहरूले भरिएको हुनेछ । र, समग्र आन्दोलन देशका प्रत्येक नागरिकले मेरो आफ्नो आन्दोलन हो भनेर अपनत्व लिन सक्ने खालको हुनुपर्नेछ । हामीले त्यस दिशामा इमानदार पहलकदमी लिनु त छँदैछ ।

समिक बडाल

हरेक वर्ष जेठ १ गतेलाई विद्यार्थी दिवसको रूपमा मनाइन्छ । विद्यार्थी आन्दोलनको बलिदानसँग जोडिएको दिन हो, यो । जेठ १ लाई अनेरास्ववियुले आफ्नो स्थापना दिवसको रूपमा पनि मनाउँदै आएको छ । यही सन्दर्भमा अनेरास्ववियुले २०८१ जेठ १–३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपको खुल्ला डबलीमा तीन दिनसम्म विद्यार्थी महोत्सव मनाउँदैछ । यो के हो र यसले कसरी विद्यार्थी आन्दोलनलाई पुनर्जागरण गर्दछ भन्ने विषयमा यहाँ चर्चा गरिएको छ ।

जेठ १–३ गतेसम्म खुल्ला डबलीभित्र देशका हजारौं विद्यार्थी जम्मा हुनेछन् । लाइभ कन्सर्टमा नाँच्ने छन् । थिएटरमा रम्नेछन् । रोबोटिक वारमा भिड्नेछन् । ‘मक’ पार्लियामेन्टमा संसद्को अभ्यास गर्नेछन् । कानुनी फोरममा कौतूहलहरू मेट्नेछन् । विज्ञान, सूचनाप्रविधिका नवीनतम आयामबारे साक्षात्कार गर्नेछन् ।

नेपाली प्रतिभाहरूका आविष्कारहरू हेर्नेछन् । ई–गेमिङमा भिड्नेछन् र आफूलाई मन लागेका विषयहरूबारे, बुझ्न चाहेका शैक्षिक केन्द्रहरू बारे जानकारी लिनेछन् । यसरी एक उल्लासमय वातावरणमा विद्यार्थीहरू एकअर्कासँग घुलमिल हुँदै महोत्सव मनाउनेछन् ।

र, हामीले यसलाई विद्यार्थी आन्दोलनको रचनात्मक ‘डिपार्चर’को रूपमा एक इतिहासको पानीढलो बनाउने गरी तयारीलाई तीव्र पारेका छौं । यो महोत्सवसँग जोडिएका केही अन्य आयाम पनि हुनेछन् । जसले यसलाई विचार निर्माणको थलो बनाउनेछ ।

देशप्रतिको कर्तव्यबोधको झञ्कारहरू सिर्जना गर्नेछ । परिवर्तनप्रति विद्यार्थीमा बेजोडको ऊर्जा भर्नेछ । र, विद्यार्थीहरूलाई रचनात्मक र उद्यमी बन्न प्रेरित गर्नेछ । त्यो कसरी हुन्छ त ?

विद्यार्थी महोत्सवमा भर्खर एसईई दिएका सहभागी विद्यार्थीले आफूले के पढ्ने र आफ्नो देशमा के भविष्य हुन्छ भनेर मन्थन गर्नेछन् । राज्यले उच्च शिक्षामा उसलाई प्रदान गर्न सक्ने अवसरहरूबारे बुझ्नेछ र उसले प्रश्न गर्नेछ, उसको शिक्षामा राज्यको दायित्व के हो ? हामीले देशका शिक्षाका स्टेक होल्डरहरूसँग उसले प्रश्न सोध्ने प्लेटफर्म बनाउनेछौं ।

त्यहाँ लाइभ डिस्कोर्सहरू हुनेछन् । शिक्षाको गुणस्तरबारे विद्यार्थीले आफ्ना प्रश्नहरू राख्नेछन् । पढाइपछिको रोजगार, युवा पलायन, शिक्षामा अनियमितता, परीक्षामा लापरबाही, पाठ्यक्रममा रहेका जडता, शिक्षामा मौलिकता र दर्शन, जलवायु, वातावरण, उद्यमशीलता र यस्तै दर्जनौं मुद्दामा बहस हुनेछ । हामीले महोत्सवको ‘थिम’ तय गरेका छौं– शेपिङ अ माइण्ड, शेपिङ अ फ्युचर !

हिजो हामीले सडकमा ढुंगा र टायर बाल्ने आन्दोलनकर्मीहरूको उत्पादन गर्‍यौं । त्यो तत्कालीन परिस्थितिको उपज थियो । अहिले हामी मूलतः राजनैतिक स्थायित्व र देशको विकासको राष्ट्रिय एजेन्डामा आन्दोलनलाई गोलबद्ध गर्नुपर्ने अवस्थामा छौं । त्यसको मेरुदण्ड भनेको शिक्षामा आमूल सुधार र परिवर्तन नै हो । त्यसको लागि हामीलाई रचनात्मक जागरणको आवश्यकता पर्दछ । त्यो जागरणको नेतृत्व अब क्रिटिकल युवा र विद्यार्थीको पंक्तिले गर्नेछ । हामीले प्रश्न सोध्न सक्ने विद्यार्थीको मास निर्माण गर्नुछ ।

रचनात्मक रूपले आफ्ना आवाजहरूलाई दुनियाँसामु राख्न सक्ने जमात नै अहिलेको समयको परिवर्तनको वाहक हो । हामी निर्माण गर्न चाहन्छौं– त्रिभुवन विश्वविद्यालयको उपकुलपतिलाई प्रश्न गर्न सक्ने विद्यार्थी । परीक्षा नियन्त्रण कार्यालयले उत्तरपुस्तिका हरायो, त्यसमा संलग्नलाई कारबाही कहिले हुन्छ ? विद्यार्थीको ४ वर्षको पाठ्यक्रम ५ वर्षमा पनि किन सकिंदैन ? मेरो एक वर्ष गुम्छ, त्यसको जिम्मेवार को हो ?

हामी चाहन्छौं शिक्षा मन्त्रीलाई प्रश्न गर्न सक्ने विद्यार्थी– शिक्षामा प्रयोग कहिलेसम्म ? तपाईंको शिक्षाले कहिलेसम्म बेरोजगार उत्पादन गरिराख्ने ? शिक्षाको बजेट कहिले २० प्रतिशत पुर्‍याउने ? सार्वजनिक शिक्षाको गुणस्तर कहिले उकास्ने ? कहिलेसम्म दुई खालको शिक्षा प्रणाली कायम राख्ने ? शिक्षाको विभेद कहिले अन्त्य गर्ने ?

(बडाल अनेरास्ववियुका केन्द्रीय अध्यक्ष हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?