+
+

सेफ सन्तोष साहले ललितपुरमा खोले ‘मिथिला थाली’

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३१ गते १५:४२

३१ वैशाख, काठमाडौं । परिकार र संस्कृति प्रवर्द्धन गर्न मास्टर सेफ सन्तोष साहले ललितपुर झम्सिखेलमा नयाँ रेस्टुरेन्ट ‘मिथिला थाली’ सञ्चालनमा ल्याएका छन् ।

करिब ५० लाख रुपैयाँ लगानीमा आफ्ना दाइ दीलिप र सेफ लक्ष्मणसँगको सहकार्यमा उनले मिथिला थाली सञ्चालनमा ल्याएका हुन् । ६ जेठ २०८० मा जनकपुरबाट सुरु भएको मिथिला थालीलाई काठमाडौं उपत्यकामा एक वर्षपछि सुरु गरिएको सेफ साहले बताए ।

‘मिथिला खाना तथा कला संस्कृति प्रवर्द्धन गर्न मिथिला थाली सञ्चालनमा ल्याइएको हो,’ आफूले बाल्यकालदेखि नै मिथिला संस्कृति र खानपानमा रमाएको सम्झिँदै साहले भने ।

जनकपुरमा आवासीय सुविधासहित करिब ३ करोड रुपैयाँ लगानीमा मिथिला थाली रेस्टुरेन्ट सञ्चालनमा छ । त्यही मिथिला थालीलाई झम्सीखेलमा सञ्चालनमा ल्याइएको हो ।

बिहान १० देखि राति १० बजेसम्म मिथिला थालीमा रमाउन सकिन्छ । केही समयमै ब्रेकफास्ट मेनुसहित बिहानैदखि रेस्टुरेन्ट सञ्चालनमा ल्याइने सेफ साह बताउँछन् ।

साहले ‘डेली डाइट’ शीर्षकको थालीमा तीनवटा ननभेज करी, जनकपुरको लस्सी र रसमलाइ लगायत परिकार राखेका छन् । साथै, मिथिला थाली ५ सय ५० रुपैयाँ अन्तर्गत चोखा, भात, घिउ रोटी, तरुवा, तिलौरी, सलादको संयोजन गरेका छन् । उनका अनुसार झम्सिखेलको यो रेस्टुरेन्टमा जनकपुरको तावा माछा पनि पाइन्छ ।

रेस्टुरेन्टलाई विभिन्न प्रकारका मिथिला आर्टले सजाइएको छ । ‘हामीले मिथिला कलाकारका कलाकृतिलाई यहाँ राखेका छौं, ग्राहकले यी कला खरिद गरेर उहाँहरूलाई आर्थिक रूपमा सहयोग गर्न सक्नु हुनेछ,’ उनले भने ।

मिथिला थालीमा ग्राहकले खर्च गर्ने केही प्रतिशत रकम गरिब, अनाथ, असहाय, एकल महिला र छोरीहरूका लागि खर्च गरिने उनले बताए । यसअघि पनि उनले विभिन्न सामाजिक काममा आर्थिक सहयोग गर्दै आइरहेका छन् ।

जनकपुरमा मिथिला थाली प्रतिथाली ३ सय रुपैयाँ पर्छ । जसमा साढे एक दर्जन भेराइटीको मजा लिन सकिने सञ्चालक दीलिप बताउँछन् । उनले अहिले झम्सिखेलमा पनि धेरैभन्दा धेरै मिथिला परिकार खुवाउने बताए ।

उनले मिथिला थालीमा मिथिला र तराईको मेनु सेटअप गरिएकाले धेरैले रुचाउने विश्वास रहेको बताए । ‘केही समयपछि हामीले केराका परिकार समेत राख्ने छौं । क्रिएटिभ तरिकाले सेटअप गरिने थालीलाई ग्राहकले मन पराउनुहुने छ,’ उनले भने ।

आफूलाई भान्छे भनेर चिनाउने सेफ लक्ष्मणले नेपाली खानाको ब्रान्डिङ गर्न पछाडि परिरहेको अवस्थामा मिथिला खाना प्रवर्द्धनले विदेशीलाई समेत यसप्रति आकर्षित गर्न सकिने बताए । उनले अब मिथिला खाना पनि नेपाली खाना नै हो भन्ने बनाउनुपर्नेमा जोड दिए ।

मिथिला थालीलाई मुलुकभित्र र बाहिर समेत विस्तार गर्ने उनीहरूको योजना छ । केही समयमै काठमाडौं गौशाला, विराटनगर र वीरगञ्जमा मिथिला थाली विस्तार हुनेछ ।

त्यसपछि केही समयमा भारत र कतारको राजधानी दोहामा समेत मिथिला थाली विस्तार गरिने दीलिप बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?