+
+

कान्स फिल्म फेस्टिभलमा सहभागी हुँदै मेयर बालेन

विष्णु शर्मा विष्णु शर्मा
२०८१ वैशाख ३१ गते १९:४५
फाइल तस्वीर

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा सहभागी हुने भएका छन् । उनी आज (सोमबार) राति दुईजना सल्लाहकारसहित फ्रान्सतर्फ प्रस्थान गर्दैछन् ।

मेयर बालेनसँग उनका व्यवस्थापन सल्लाहकार कुमार व्यञ्जनकार र पूर्वाधार सल्लाहकार सुनिल लम्साल पनि जाँदैछन् । कान्सका मेयर डेभिड लिसनार्डको निम्तोमा त्यता जान लागेका बालेनले फेस्टिभलमा तीन दिन बिताउनेछन् ।

त्यस क्रममा आयोजना हुने विविध कार्यक्रममा पनि उनको सहभागिता हुनेछ । मेयर लिसनार्ड र फेस्टिभल निर्देशकसँग उनको भेटवार्ता तय भएको छ । यसबाहेक फेस्टिभलको रेडकार्पेट र प्रिमियरमा पनि उनी सहभागी हुनेछन् ।

बालेनको सम्मानमा कान्सको मल्टिमिडिया लाइब्रेरीमा रिसेप्सनको आयोजना गरिएको छ । मेयर र फेस्टिभल निर्देशकसँग द्विपक्षीय भेटवार्ता हुने भएपनि एजेन्डा भने तय भइसकेको छैन ।

बालेनले कान्स बसाइमा त्यहाँको अडियो–भिजुअल कन्टेन्ट क्रिएसन चेनको अवलोकन समेत गर्नेछन् । राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को)ले नेपालको राजधानी सहर काठमाडौंलाई ‘फिल्मको रचनात्मक सहर’को रुपमा २०८० सालको कात्तिकमै सूचीकृत गरेको छ ।

फ्रान्सको कान्स सहर पनि फिल्मको ‘क्रिएटिभ सिटी’को एक सदस्य हो । कान्सका मेयरले बालेनलाई पठाएको निम्तो पत्रमा फेस्टिभल फिल्मको क्रिएटिभ सहरलाई एकठाउँमा ल्याउने अवसरको रुपमा उल्लेख गरेका छन् । यो भेटमा अन–एयर भनिने अडियो भिजुअल कन्टेन्ट चेनबारे जान्न सजिलो हुने कान्सका मेयरले पत्रमा उल्लेख गरेका छन् ।

फिल्मको रचनात्मक सिटीको रुपमा सूचीकृत भएपछि यतिबेला महानगरपालिका कार्यविधि निर्माणमा जुटिरहेको छ । २०८१ सालदेखि नै फिल्म फेस्टिभलसहितका कार्यक्रम आयोजना गर्ने तयारी छ ।

७७ औं कान्स फेस्टिभल १४ देखि २५ मेसम्म आयोजना हुँदैछ । यस वर्ष नेपालबाट कुनै फिल्म छनोट नभएपनि नेपालमा छायांकन भएको ‘द सेमलेस’ अन रिगार्ड विधा र नेपाली भाषाको फिल्म ‘तारा : अ लस्ट स्टार’ मार्केट स्क्रिनिङ विधामा छनोट भएका छन् । यी दुवै फिल्ममा नेपाली कलाकार र प्राविधिकको संलग्नता छ ।

लेखकको बारेमा
विष्णु शर्मा

शर्मा अनलाइनखबर डटकमका उपसम्पादक हुन् । उनी कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?