
३१ वैशाख, काठमाडौं । कल्याण उपकार बचत तथा ऋण सहकारी संस्थाका तत्कालीन अध्यक्ष लिलाबहादुर गुरुङ जेल चलान भएका छन् ।
ललितपुर जिल्ला अदालतका न्यायाधीश धनिश्वर पौडेलको सोमबारको इजलासले गुरुङलाई पुर्पक्षका लागि जेल चलान आदेश दिएको हो ।
अदालतको आदेशसँगै अब गुरुङलाई कारागार पठाउने तयारी जिल्ला प्रहरी परिसर ललितपुरले गरेको छ ।
यसअघि हाम्रो नयाँ कृषि सहकारी ठगी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गर्दा गुरुङ २ करोड ६० लाख बुझाएर छुटेका थिए ।
पीडितको २ करोड ६० लाख रुपैयाँ फिर्ता गरेपछि गुरुङसहित तीन जनालाई सीआईबीले ५ वैशाखमा रिहा गरेको थियो ।
लगत्तै गुरुङलाई ललितपुर प्रहरीले पक्राउ गरेको थियो । उनीसहित १४ जनालाई प्रतिवादी बनाएर ललितपुर जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।
गुरुङ पक्राउ परे पनि बाँकी १३ जना भने फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको थियो ।
५८ करोड ७९ लाख ४९ हजार १ सय ६८ रुपैयाँ ठगी गरिएको भन्दै २ सय ९९ पीडितबाट १ सय १८ वटा जाहेरी जिल्ला प्रहरी परिसर ललितपुरमा परेको थियो ।
१ अर्ब रुपैयाँभन्दा बढी रकम अपचलन गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको थियो । तर, पक्राउ परेको मितिले २५ दिनभित्र अदालतमा मुद्दा दर्ता गरिसक्नुपर्ने प्रावधान रहेकाले अदालतमा मुद्दा दर्ता गरिएको थियो ।
पीडित अझै आउने क्रम जारी रहेकाले पूरक अभियोजन लगाएर पुन मुद्दा लैजाने तयारी प्रहरीको छ । जेल चलान भएका गुरुङको खातामा ७५ लाख रुपैयाँ समेत भेटिएको थियो ।
गुरुङले आफ्नो खातामा रहेको ७५ लाख रुपैयाँ श्रीमती नन्दाकुमारी बम्जनको खातामा ट्रान्सफर गरेको भेटिएको थियो । नन्दाकुमारी गुरुङकी श्रीमतीका साथै कल्याण उपकार सहकारी जावलाखेल केन्द्रकी शाखा प्रमुख तथा पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत हुन् । उनीसहित १३ प्रतिवादी अझै फरार छन् ।
प्रतिक्रिया 4