
३१ वैशाख, काठमाडौं । तेस्रो लगानी सम्मेलनका दौरान सरकारले कार्यान्वयनमा ल्याएको स्वचालित मार्ग (अटोमेटिक रुट) बाट वैशाख महिनाभर सवा २ अर्ब रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) स्वीकृति भएको छ ।
उद्योग विभागको तथ्यांक अनुसार अटोमेटिक रुटमार्फत कुल २१ वटा एफडीआई स्वीकृत भएका छन् । जसमार्फत २ अर्ब १५ करोड ८९ लाख ८० हजार रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत भएको हो ।
उद्योग विभागका अनुसार अटोमेटिक रुटमार्फत कुल ५० करोडसम्म शतप्रतिशत सेयर स्वामित्व वा संयुक्त लगानीमा नयाँ कम्पनी स्थापना वा विदेशी लगानीमा स्थापना भई सञ्चालनमा रहेका विदेशी लगानीकर्ताले त्यस्तो कम्पनीमा पूँजीवृद्धि गर्न स्वचालित मार्गमार्फत निवेदन दिन सकिन्छ ।
विदेशी लगानी स्वीकृति गरिएको पत्र इमेलमार्फत आवेदन दिने बित्तिकै प्राप्त गर्न सकिने र सोही आधारमा कम्पनी दर्ता गर्न सकिने प्रणाली नै स्वचालित रुट हो ।
सूचना प्रविधिमा आधारित उद्योगको हकमा स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत गर्दा लगानीको न्यूनतम सीमा तोकिएको छैन ।
अटोमेटिक रुटबाट विदेशी लगानी स्वीकृति लिन चाहने विदेशी लगानीकर्ताले विभागले सञ्चालन गरेको विद्युतीय प्रणालीमा लगइन गरी प्रणालीले माग गरे अनुसारका विवरण तथा कागजात यस प्रणालीमा प्रविष्ट गरेसँगै एफडीआई स्वीकृतिको प्रक्रियामा जान्छ ।
सरकारले स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृति गर्ने व्यवस्थाका लागि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली २०७७ संशोधन गरेको थियो । यो नियमावली राजपत्रमा प्रकाशित भइसकेको छ । नियमावलीले लगानीको सीमा ५० करोडसम्म तोकेको छ ।
प्रतिक्रिया 4