+
+

प्रत्यक्ष वैदेशिक लगानीमा उत्साह, ४१ अर्बमाथि स्वीकृत

उद्योग विभागका अनुसार वैशाख मसान्तसम्म ४१ अर्ब २ करोड रुपैयाँबराबर एफडीआई स्वीकृत भएको छ । यो अघिल्लो आव २०७९/८० को सोही अवधिको तुलनामा सवा ११ अर्ब बढी हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३१ गते १९:५६
प्रतीकात्मक तस्वीर

३१ वैशाख, काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को १० महिनामा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मा व्यापक सुधार भएको छ ।

उद्योग विभागका अनुसार वैशाख मसान्तसम्म ४१ अर्ब २ करोड रुपैयाँबराबर एफडीआई स्वीकृत भएको छ । यो अघिल्लो आव २०७९/८० को सोही अवधिको तुलनामा सवा ११ अर्ब बढी हो ।

गत आव वैशाख मसान्तसम्म २९ अर्ब ७४ करोड रुपैयाँ बराबर एफडीआई आएको थियो । यो वर्ष कुल ३ सय ७ उद्योग दर्ता भएको तथ्यांकमा छ ।

गत वर्ष २ सय १९ मात्र उद्योग दर्ता भएका थिए । यस वर्ष वैशाखमा मात्र ३८ उद्योग दर्ता भएका छन् । जसमार्फत ११ अर्ब २८ करोड ५७ लाख रुपैयाँबराबर वैदेशिक लगानी स्वीकृत भएको छ ।

तथ्यांक अनुसार सरकारले गरेको लगानी सम्मेलनको प्रभाव एफडीआईमा समेत देखिएको छ । पछिल्लो तथ्यांक अनुसार नेपालमा कुल स्वीकृत एफडीआई ४ खर्ब ७९ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ ।

साना उद्योगमा लगानी आकर्षित

तथ्यांक अनुसार यस वर्ष १० महिनामा साना उद्योगमा बढी लगानी केन्द्रित भएको देखिएको छ । वैशाखसम्म २ सय ९० साना उद्योगमा लगानी आएको छ । १३ मध्यम खालका उद्योगमा लगानी स्वीकृत भएको विभागले जनाएको छ । ठूला चार उद्योगमा मात्र एफडीआई स्वीकृत भएको छ । वैशाखमा मात्र स्वीकृत एफडीआईमध्ये साना उद्योगमा ३७ र एक ठूलो उद्योगमा लगानी स्वीकृत भएको तथ्यांकमा छ ।

कस्ता उद्योगमा आयो एफडीआई ?

यस वर्ष वैशाखसम्म आएको एफडीआईको ठूलो हिस्सा पर्यटनमा केन्द्रित देखिन्छ । पर्यटनमा १ सय ४४ एफडीआई स्वीकृत भएको छ । जुन कुल उद्योगमा ४७ प्रतिशत हो ।

सेवा क्षेत्रमा १ सय ३ उद्योग दर्ता छन् । जसको हिस्सा ३४ प्रतिशत छ । उत्पादनमा ३४ उद्योग दर्ता छन् । जसको हिस्सा ११ प्रतिशत छ । सूचना प्रविधिमा ९ उद्योग दर्ता छन् । यो ३ प्रतिशत हिस्सा हो ।

यसबाहेक कृषिमा ७, पूर्वाधारमा ७, खानीमा २ र ऊर्जामा एक उद्योगले एफडीआई स्वीकृत गराएको विभागको तथ्यांक छ । यस वर्ष वैशाखसम्म झन्डै २ हजार विदेशी नागरिकले नेपालमा लगानीकर्ताका रूपमा बिजनेस भिसा पाएका छन् । तथ्यांक अनुसार वैशाखसम्म १ हजार ८ सय ९६ लगानीकर्ताले बिजनेस भिसा पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?