+
+

यूएन फोरममा सोबिताको सम्बोधन: नेपालीले भोगै नगरेको विलासिताको मूल्य चुकाउनुपरेको छ

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३१ गते १६:०६

काठमाडौं, ३१ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले नेपालीहरूले आफूले कहिल्यै भोग नगरेको विलासिताको मूल्य चुकाउनुपरेको बताएकी छन् ।

राष्ट्रसंघीय एसिया प्यासिफिक आर्थिक र सामाजिक आयोग (यूएनइस्केप) ले बैंककमा आयोजना गरेको दुई दिने फेमिनिष्ट फोरममा सहभागिता जनाउँदै सांसद गौतमले जलवायु परिवर्तनबाट नेपालमा परेको असर र पाउनुपर्ने क्षतिपूर्तिबारे आवाज उठाएकी हुन् ।

नेपालले धेरै पहिलेदिख जलवायु परिवर्तनको असर भोगिरहेको स्मरण गराउँदै सांसद गौतमले विकसित राष्ट्रले हामीजस्तो जलवायु संकट सामना गरिरहेको राष्ट्रलाई हेर्न ढिला भएको धारणा राखिन् ।

‘विकसित राष्ट्रले औद्योगिक क्रान्ति, प्रविधिको विकास गरुन, तर हामीजस्तो देशलाई पनि ख्याल गर्नुपर्‍यो’ उनले भनिन्, ‘नेपालीहरुले कहिल्यै भोग नगरेको विलासीताको मूल्य चुकाउनुपरेको छ । हामी बाढीपहिरो, हिमपहिरो, हिमाल पग्लिने लगातार मारमा छौं ।’

संयुक्त राष्ट्रसंघीय फोरममा सांसद गौतमले जलवायु परिवर्तनबाट नेपाली महिलाले भोग्नेपरेको असर र वित्तीय अनुदानको पहुँचको विषयमा धारणा राखिन् ।

फोरममा दुबईमा कोप-२८ मा विकसित देशहरुले जलवायु परिवर्तनबाट प्रभावित देशहरुलाई क्षतिपूर्तिका लागि स्थापना गरिएको ‘लस एण्ड ड्यामेज फण्ड’ लाई कसरी व्यवहारिक कार्यान्वयन गर्न सकिन्छ भन्ने बारे छलफल भएको उनले जानकारी दिइन् ।

विभिन्न देशका चार सय प्रतिनिधि सहभागी फोरममा सांसद गौतमलले राष्ट्रसंघका महासचिव एन्टिनियो गुटरेसले नेपाल भ्रमण गरेर नेपालका हिमालको कहालीलाग्दो अवस्थाबारे दिएको अभिव्यक्ति स्मरण गराएकी थिइन् । ‘हामीले यहाँ लस एण्ड ड्यामेजको चर्चा गर्नुभन्दा पहिला नेपालमा जलवायु संकट कति छ भन्ने बुझ्न जरुरी छ,’ उनले भनिन्, ‘युएनको महासचिवले नेपालको जलवायु परिवर्तनबारे हाम्रै संसदमा आएर सम्बोधन गर्नुभएको हो । पछि कोप २८ मा पनि उहाँले नेपालको हिमाल रोइरहेको छ भन्नुभयो ।’

सांसद गौतमले जलवायु परिवर्तनको मारमा परेको मेलम्ची खानेपानी आयोजनाको उदाहरण पनि प्रस्तुत गरिन् । ‘९५ प्रतिशत काम सकिसक्यो । ३० वर्षको सपना आयो आयो भनिरहेका छौं । २०२१ मा ठूलो बाढी गयो, सबै भत्काएर सिद्धियो,’ उनले भनिन् ।

उनले संसारको एउटा कुनामा विकसित राष्ट्रहरुले औद्योगिक क्रान्ति गर्दा त्यसको असर अर्को कुनामा कति धेरै परिरहेको छ भन्नेमा जोड दिइन् । उनले भनिन्,  ‘काठमाडौंमा खानेपानी खान पाएका छैनौं । मेलम्चीबासीको घरबार गयो । काठमाडौंबासीको सपना गयो ।’

विकसित राष्ट्रले अब जलवायुमैत्री दिगो विकास गरिदिनुपर्ने उनको भनाइ थियो । ‘र लस एण्ड ड्यामेज फण्ड क्रियट हुनपर्‍यो, त्यसमा योगदान पनि हुनपर्‍यो, त्यो योगदान हामीलाई ऋणको रुपमा दिने होइन, निशर्त अनुदान दिनुपर्छ,’ सांसद गौतमले भनिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?