+
+

बाजुरा कारागारमा राम्ररी सुत्न पनि पाउँदैनन् कैदीबन्दी

२५ जना क्षमता भएको कारागारमा ७२ जना राख्दा समस्या

प्रकाश सिंह प्रकाश सिंह
२०८१ जेठ १ गते १४:३५

१ जेठ, बाजुरा । २५ जना अटाउने क्षमता भएको जिल्ला कारागार बाजुरामा हाल कैदी र थुनुवा गरी ७२ राखिएको छ । क्षमता भन्दा तेब्बर बढी मानिस राखिँदा खान, सुत्न र शौचालय जानसमेत समस्या भोग्नुपरेको कैदी विशाल बिकले बताए ।

पानीको अभाव भएको र सुत्ने ठाउँ नपुगेर राम्ररी निदाउन पनि नसकिएको कैदीबन्दीहरु बताउँछन् । क्षमता भन्दाबढी कैदी र थुनुवा राख्दा सुत्न त के सजिलोसँग बस्न पनि नमिल्ने अवस्था छ ।

जेलर अनिलकुमार तिवारीका अनुसार एउटा खाटमा पाँच÷छ जना सुत्नुपर्ने अवस्था छ । त्यस्तै खाटमाथि खाट राखेर पनि कैदीबन्दी सुताइएको छ ।

कारागारको प्रशासन भवन भाडामा लिएको घरमा राखिएको छ भने प्रहरी बस्ने भवन पनि जीर्ण छ । छाना चुहिने भएका कारण वर्षायाममा त्रिपालले ढाक्नुपर्छ । क्षमता भन्दा धेरै कैदीबन्दी हुँदा सरुवा रोग फैलिने जोखिम रहेको छ ।

२०३७ सालमा बनेको बाजुरा कारागार जीर्ण भइसक्दा पनि मर्मत वा नयाँ निर्माणका लागि पहल हुन नसकेको जेलर तिवारीले बताए ।

कारागारको भवन निर्माणका लागि जग्गा भए पनि सरकारले कुनै चासो नदेखाएकाले दुःख पाएको कैदीबन्दीले गुनासो गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?