
काठमाडौं । मंगलबार दिउँसो मण्डला थिएटरमा पुग्दा दयाहाङ राई फुर्सदमा भेटिए । अघिपछि फिल्मको सुटिङ र प्रवर्धनमा दौडधुप गर्ने उनी पछिल्ला केही दिनयता धपेडीबाट पर छन् ।
आगामी फिल्म ‘गाउँ आएको बाटो’को अन्तर्वार्ता पनि मण्डलाबाटै दिइरहेका छन् । उनको लाइनअप २०८१ सालभर प्याक छ । असार र साउनसम्म पनि फिल्मको काममा ब्यस्त नहुनेतर्फ संकेत उनले गरे ।
घरेलु फिल्मका ब्यस्त सुपरस्टारको दैनिकीमा आएको यो अकस्मातको धिमा गति पछाडि केही कारण छन् । हात्तीछाप, डिग्री माईला र मनसराको बक्सअफिस नतिजाको पृष्ठभूमिमा दयाहाङले लिएको यो निर्णय अर्थपूर्ण पनि छ ।
उनले निर्णय लिएका छन्- स्क्रिप्टले पूर्णता नपाएसम्म सुटिङमा नजाने ।
यो निर्णयपछि दयाहाङको ब्यस्तता घटेको छ । उनले फिल्म निर्मातालाई दुई कुराको आह्वान पनि गरे । पहिलो- स्क्रिप्ट लक्ड नभईकन सुटिङमा जान हतार नगरौं । दोस्रो- छायांकन नसकिञ्जेल प्रदर्शन मिति घोषणा नगरौं ।
तत्कालै कुन फिल्म छायांकनमा जान्छ भन्ने कुराको निधो समेत नभएको उनले बताए ।
उनले भने, ‘मेकरलाई फिल्म खिच्न र रिलिज डेट घोषणा गर्न हतार भैराख्या छ । यति गते रिलिज गर्ने, यति गते सुटिङमा जाने भन्ने हतार छ । यसकारण, अहिले मेरो सुटिङ भैराखेको छैन ।’
आफूले अभिनय गरेका फिल्मको स्क्रिप्टमा कमजोरी देखिएको र एउटै मितिमा समेत फिल्म जुधेको भन्ने भनाईहरुबीच दयाहाङले यस्तो निर्णय लिएको अनुमान छ । उनले अब फिल्मको संख्या घटाउने संकेत पनि गरे ।
‘काम चाहिँ म गर्ने हो । संख्या घटाउनुपर्छ भन्ने मेरो रणनीति होइन । वर्षमा कतिवटा फिल्ममा काम गर्छु भन्ने कुरा मेरो आफ्नो छ । वर्षमा ३ वटा झारौं भन्ने एउटा चीज हुनसक्छ’ उनले भने ।
निर्माताले हतार गरेकोतर्फ लक्षित गर्दै उनले भने, ‘यसअघि नै एउटा क्यालेन्डर बनिसक्या थियो । क्यालेन्डरले एउटा टार्गेट त पुग्ला तर, क्यालेन्डरले मान्छेलाई हतारो मात्र गर्छ ।’
पछिल्ला आफू अभिनित फिल्मको बक्सअफिस नतिजाबारे उनले भने, ‘दौडनुपर्यो । दौडँदा दुई चार ठाउँमा लडिएला । लडिए पनि पुग्न त पुगिएला । अलिकति घाइते त भइन्छ । त्यही चीज भैराखेको हो । सबैजनालाई आह्वान– बरु विस्तारै हिँडुम, पुग्ने ठाउँमा पुगौं । कमसे कम क्लियर बाटो चाहिँ बनाउनूस ।’
प्रतिक्रिया 4