+
+

रोमानियाको भिसा नेपालबाट नै दिन श्रममन्त्रीको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १ गते २०:२०

१ जेठ, काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल (डीपी) र नेपालका लागि रोमानियाकी राजदूत डेनिएला मारियाना सेजोनोभ टेने बीच भेटवार्ता भएको छ ।

छलफलमा श्रममन्त्री अर्यालले रोमानिया र नेपाल सरकारबीच श्रम सम्बन्धी समझदारी समेत भइसकेको र भिसाका लागि भारत जानु पर्दा नेपालीहरुलाई आर्थिक व्ययभार बढ्न जाने हुँदा नेपालबाट नै रोमानियाको भिसा प्रदान गर्ने व्यवस्था मिलाइ दिन आग्रह गरे ।

श्रम सचिव घनश्याम उपाध्यायले नेपाली सवारी चालक अनुमतिपत्रलाई रोमानिया सरकारले समेत मान्यता दिन अनुरोध गर्दै रोमानियामा माग हुने रोजगारका क्षेत्रहरु अनुकूल हुने गरी नेपाली श्रमिकको सीप विकासका लागि सहकार्य गर्न आग्रह गरे ।

राजदूत सेजोनोभले रोमानिया रोजगारदाताले नेपाली श्रमिकलाई रुचाएको र रोमानिया सरकारले पनि सहज र सरल प्रक्रियाबाट नेपाली श्रमिक भित्र्याउन चाहेको बताइन् । साथै रोमानिया नर्सिङ, निर्माण, हस्पिटालिटी लगायतका क्षेत्रमा नेपालीहरुको अत्याधिक माग रहेको कुरा समेत उनले बताइन् ।

राजदूत सेजोनोभका अनुसार रोमानियाले गत जनवरीदेखि हालसम्म नेपाली युवाको लागि ७ हजार ८०० भिसा जारी गरेको छ । गत वर्ष ११ हजार ५०० नेपाली श्रमिक रोमानिया पुगेको उनले बताइन् । आगामी दिनमा यो संख्या झनै बढ्ने उनले दाबी गरिन् ।

नेपाल र रोमानिया सरकार बीच सन् १९६८ को अप्रिल २० मा कुटनीति सम्बन्ध स्थापित भएको हो । नेपाल र रोमानिया सरकार बिच सन् २०२३ को अक्टोबर ६ मा श्रम सम्बन्धी समझदारी भएको हो । रोमानियामा करिब १० हजार नेपाली श्रमिक छन् ।

यस्तै श्रममन्त्री अर्याल र साइप्रसका हाइ कमिश्नर एवागोरस व्रियोनाइड्स बीच पनि शिष्टाचार भेटवार्ता भएको छ । भेटमा साइप्रस र नेपालबीच श्रम लगायत आपसी हितका विषयमा छलफल भएको थियो ।

छलफलमा श्रममन्त्री अर्यालले साइप्रस जाने नेपाली श्रमिकको सीप विकासको कार्यमा सहकार्य गर्न आग्रह गरे । साइप्रस सरकारले माग गरेअनुसारको सीप भएका श्रमिक पठाउनका लागि सीप तालिम सञ्चालन गर्न सहयोग गर्न आग्रह गरे ।

साइप्रसमा हाल २० हजार नेपाली श्रमिक छन् । सेवा क्षेत्र र घरेलु श्रमिकको रुपमा नेपाली श्रमिक साइप्रस पुगेका छन् । साइप्रस जाने सबै खालका श्रमिकलाई सीप सिकाउन नेपाल सरकार आतुर रहेको श्रममन्त्री अर्यालले बताए ।

भेटमा साइप्रसका हाइ कमिश्नर व्रियोनाइड्सले साइप्रसले आफनो विकास कोष मार्फत नेपाली श्रमिकको सीप विकास तालिममा सहयोग गर्न सक्ने बताए । त्यस्तै, नेपाल सरकारको सहभागीतामा नै नेपाली श्रमिक साइप्रस पठाउन सके राम्रो हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?