+
+

गर्मी सहने गहुँका नयाँ दुई जात विकास

गर्मी सहन सक्ने गहुँका नयाँ जातलाई रजिष्टर्ड गर्ने प्रक्रिया पूरा गरेर कृषि तथा वन विज्ञान विश्वविद्यालयको लोगोमा नै किसानहरु समक्ष लैजाने अनुसन्धान टोलीको नेतृत्व गरेका प्रा.डा. माधव पाण्डेले जानकारी दिए ।

सुवास पण्डित सुवास पण्डित
२०८१ जेठ २ गते ९:४८
प्राडा माधव पाण्डे ।

२ जेठ, चितवन । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले गर्मी सहन सक्ने गहुँका नयाँ दुई जात विकास गर्न सफल भएका छन् ।

विश्वविद्यालयको प्लान्ट ब्रिडिङ्ग विभागका प्रा.डा. माधव पाण्डे नेतृत्वको टोलीले झण्डै सात वर्ष लगाएर गहुँको उत्पादनसमेत बढ्ने र गर्मीसमेत सहनसक्ने ‘एएफयू डब्लु जिरो–१’ र ‘एएफयू डब्लु जिरो–२’ नामका गहुँका जात विकास गरेका हुन् ।

यो अनुसन्धानमा विश्वविद्यालयका बायोटेक्नोलोजी, प्याथोलोजी, एग्रोनोमी, इन्टोमोलोजी, गहुँबाली कार्यक्रम तथा पिएचडी गरिरहेका विद्यार्थीहरुले समेत सहयोग गरेका थिए ।

गहुँ चिसो समयमा पानीसमेत चाहिने बाली हो । एक हप्ता मात्रै तापक्रम तलमाथि हुँदा गहुँको उत्पादनमा नै असर गर्ने कृषि वैज्ञानिकहरू बताउँछन् ।

नेपालमा आकाशे पानीको भरमा धान रोप्नुपर्ने अवस्था भएका कारण समयमा पानी नपर्दा किसानहरूको धान रोपाइँ ढिलो हुने गर्दछ । त्यसको प्रत्यक्ष मार धान पछि लगाइने गहुँबालीमा पर्दछ । समयमा नै धान रोप्न पाए किसानले समयमा नै गहुँ लगाएर उत्पादन पनि राम्रो लिन सक्छन् ।

तर, ढिला हुँदा गहुँको फूल फूल्ने र फल लाग्ने समयमा गर्मी बढ्ने समयतिर धेकेलिँदा उत्पादनमा कमी आउँछ । किसानले भोग्दै आएको यस्तो समस्याको समाधान दिन अब आफूहरु सफल भएको प्राध्यापक डाक्टर पाण्डे बताउँछन् ।

अन्तर्राष्ट्रिय गहुँ तथा मकै अनुसन्धान संस्थानले पठाएका सामग्री र स्थानीय जातका आधारमा ५० वटा लाइन तयार गरी अनुसन्धान गरिएको प्रा.डा. पाण्डेले बताए ।

‘गेडा लाग्ने समयमा बढी तातो हावा भएमा दाना पुष्ट नहुने, चाउरिने र किसानहरुले उत्पादनबाट लाभ लिन नसक्ने समस्याको समाधानका लागि के गर्न सकिन्छ भनेर मूल रुपमा हाम्रो अनुसन्धान केन्द्रित थियो,’ प्रा.डा. पाण्डेले भने, ‘विदेशबाट आएका सोर्स बिउसँग यहाँका जातको क्रसिङ गराएर तापक्रम सहन सक्ने प्रजाति बनाउने जीन पत्ता लगाउने काम गरियो ।’

विश्वविद्यालयको अनुसन्धान तथा प्रसार निर्देशनालय तथा विभिन्न संघसंस्थाहरूको सहयोगमा गरिएको अनुसन्धान गहुँको जीनकै तहमा गरिएको पहिलो अनुसन्धान भएको उनले बताए । ‘यो तहको अनुसन्धान नेपालमा यसअघि भएको थिएन, हामीले गहुँको जीनकै लेभलमा अनुसन्धान गरिरहेका छौं,’ अनुसन्धानकर्ता पाण्डेले भने, ‘विगतका हाम्रो अनुभव तथा नयाँ प्रविधि समेतको प्रयोग गरेर अनुसन्धान गरिएको हो ।’

तयार भएको नयाँ जात एएफयू डब्लू जिरो–१ तराईका ६ सय मिटरभन्दा कम उचाइ भएका र सिंचाइ सुविधा भएको ठाउँमा किसानले राम्रो उत्पादन लिन सक्ने देखिएको प्रा.डा. पाण्डेले बताए । यसमा प्रोटिनसमेत १४ प्रतिशत छ । ‘चलेका धेरै जातहरुमा भन्दा १ प्रतिशत बढी प्रोटिनको मात्रा देखिएको छ, प्रोटिन राम्रो हुँदा रोटी पनि मिठो हुन्छ,’ उनी भन्छन् ।

तातो हावा सहन सक्ने र उत्पादन बढी दिनेमा एएफयू डब्लु जिरो–२ नयाँ जात हो । यो सात सय मिटर उचाइसम्मको भूभागमा लगाउन सकिन्छ । यसमा प्रोटिनको मात्रा पनि अरुमा जस्तै छ ।

‘फल लाग्ने समयमा फल भरिने प्रक्रिया अरुमा भन्दा यो जातमा लामो रहने गरी विकास गरेका छौं, पहिला १/२ दिन पहिला फूल्छ, तापक्रम बढे पनि विरुवा हरियो नै रहने भएकाले फलमा अरुमा जस्तो असर हुँदैन,’ प्रा.डा. पाण्डेले भने ।

तर किसानहरुले डब्लु जिरो–२ भन्दा डब्लु जिरो–१ बढी मन पराएको उनले जानकारी दिए । विश्वविद्यालयमै अनुसन्धानकर्ताहरूबीच गहुँको पिठोको सुख्खा रोटी बनाएर गरिएको अर्गानोलेप्टिक टेष्टमा पनि डब्लु जिरो–१ को स्वाद निकै मिठो रहेको र उनीहरुले सोही आधारमा अंकसमेत दिएको प्रा.डा. पाण्डेले बताए ।

कति उत्पादन हुन्छ ?

यो जातको गहुँ नेपालगञ्ज, भैरहवा जस्ता बढी गर्मी हुने ठाउँमा अन्य समयमा भन्दा एक महिना ढिलो लगाएर परीक्षण गर्दा पनि उत्पादन राम्रो दिएको उनले बताए । उनका अनुसार नयाँ जातको गहुँ उत्पादनको परीक्षण कपिलवस्तुको वाणगंगा लगायतका क्षेत्रमासमेत गरिएको थियो ।

गत वर्ष रुपन्देहीको सैनामैनाका किसानहरुका खेतमा पनि परीक्षण गरिएको थियो । त्यसको बिउ बचाएर किसानहरूले फेरि लगाउन सुरु पनि गरेको पाण्डे बताउँछन् ।

नयाँ जातको गहुँको बिउलाई विभिन्न चरणमा रोपेर बढी तापक्रम सहन सक्ने क्षमताको मूल्याङ्कन गरिएको प्रा.डा. पाण्डेले बताए । व्यवसायिक गहुँ उत्पादक किसानलाई खुद नाफा बढाउन सहयोग पुग्ने विश्वास आफूहरुले लिएको पाण्डेले बताए ।

‘मल र सिंचाइ मिलेको अवस्थामा प्रतिहेक्टर साढे ६ टन गहुँ उत्पादन भएको देखिन्छ, किसानले ४.५ टन प्रतिहेक्टर सजिलै उत्पादन गर्न सक्छन्, जबकी अहिले किसानले अन्य जात लगाउँदा प्रतिहेक्टर ३ टन उत्पादन गर्दै आएका छन्,’ प्रा.डा. पाण्डे भन्छन्, ‘किसानहरुले वेष्ट म्यानेजमेन्ट गर्न सके ५ टन वा सोभन्दा बढी सजिलै उत्पादन गर्न सक्छन् भन्ने विश्वास छ ।’

नयाँ जातका गहुँमा रष्ट जस्ता रोगहरु पनि कम लाग्ने दावी अनुसन्धानकर्ताहरुको छ । नयाँ जातका गहुँ पहाडी क्षेत्रमा खेती गर्दा रोग लाग्न सक्ने भएकाले त्यसतर्फ थप व्यवस्थापन आवश्यक हुने उनीहरुको भनाइ छ ।

३२ डिग्रीभन्दा बढी तापक्रम पुग्न थालेपछि गहुँमा गेडा लाग्ने बेला समस्या आउँछ । साधारणतया गहुँ नोभेम्बरदेखि डिसेम्बर १५ (कात्तिक–मंसिर महिना) भित्र लगाइसक्दा त्यसले उत्पादन राम्रो हुन्छ । मंसिर महिना पछाडि दुई दिन मात्रै ढिला हुँदा पनि उत्पादन कम हुने डा. पाण्डे बताउँछन् ।

दुबै नयाँ जातका बीउहरुको ठूलो मात्रामा उत्पादनका लागि केही कम्पनीहरुले चासो देखाएका छन् । ब्रिडर र न्यूक्लियर बीउ विश्वविद्यालयकै फार्ममा छ । मल्टिप्लाई बिउहरु भने कपिलवस्तु र रुपन्देहीको मर्चवारमा लुम्बिनी सिड कम्पनीको सहयोगमा किसानहरुले उत्पादन गरिरहेका छन् ।

गर्मी सहन सक्ने गहुँको जात विकास गर्न सफल भएकाले ती नयाँ जातलाई रजिष्टर्ड गर्ने प्रक्रिया अगाडि बढाइएको प्रा. डा. पाण्डेले जानकारी दिए । दुबै जातका गहुँलाई विश्वविद्यालयको लोगोमा नै किसानहरु समक्ष लैजाने योजना पनि उनले सुनाए ।

‘अब यो करिब–करिब किसानको तहमा पुग्ने चरणमा छ,’ प्रा.डा. पाण्डेले भने, ‘बिउ आधिकारिक रुपमा रजिष्टर्ड भएपछि विश्वविद्यालयको लोगो राखेर सप्लायर्स र किसानहरूको हातमा पुग्छ ।’

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?