+

यौन जीवनले कसरी मानसिक स्वास्थ्यमा प्रभाव पार्छ ?

२०८१ जेठ  २ गते १८:४८ २०८१ जेठ २ गते १८:४८
यौन जीवनले कसरी मानसिक स्वास्थ्यमा प्रभाव पार्छ ?

हिन्दुशास्त्रको पुरुषार्थको अवधारणामा जीवनको चारवटा मुख्य खम्बाबारे वर्णन गरेको पाइन्छ । पहिलो धर्म, जसमा दैनिक गर्ने कार्य, नैतिकता, आदर्शका कुराहरु पर्छन् । त्यसपछि आउँछ, अर्थ । अर्थ भनेको काम गरेर वा जीविकोपार्जन गर्ने परिवारलाई चाहिने गाँस, बास र कपासको जोहो गर्नु ।

त्यसपछि आउँछ, काम । काममा यौनको चर्चा गरिन्छ । यौन मात्र नभएर माया, प्रेम, इच्छा र सद्भाव पनि पर्छन् । र, चार नम्बरमा आउँछ, मोक्ष । मोक्ष भनेको समाधि वा आनन्दको प्राप्ति हो ।

यो अवधारणाले के भन्छ भने पहिला धर्म गर्नुपर्छ । त्यसपछि अर्थ र काम भोग गरेर मात्र मानिसलाई मोक्ष प्राप्ति हुन्छ । यो भन्नुको अर्थ के हो भने धर्मशास्त्रले पनि यौन जीवनको लागि अपरिहार्य भनेको छ ।

विज्ञानले पनि यौन सुखले मानिस स्वस्थ रहने कुरामा जोड दिन्छ । यौनले नै सिर्जना र आनन्द दुवै दिन्छ । शरीरको लागि खाना जति आवश्यक छ । त्यति नै यौन जीवन पनि आवश्यक मानिन्छ । कुनै कारणवश यौन जीवनमा समस्या आइरहेको छ भने विस्तारै मानसिक स्वास्थमा प्रभाव पार्न सक्छ ।

यौन उत्तेजना नहुनु, चरमोत्कर्षमा नपुग्नु, शीघ्रपतन वा लामो समयसम्म स्खलन नहुनु, महिलामा हार्मोनल परिवर्तनका कारण यौन चाहना घट्नु, यौन रोगका कारण यौन सम्बन्ध राख्न नसक्नु शारीरिक समस्या मात्र होइन । यसमा मानसिक कारण पनि जिम्मेवार हुनसक्छ ।

यसले के स्पष्ट पार्छ भने यौन जीवन र मानसिक स्वास्थ्यबीच निकट सम्बन्ध छ । यौन शिथिलताले जसरी मानसिक समस्या ल्याउँछ, उसैगरी मानसिक समस्याले यौन उदासीनता पनि ल्याउँछ ।

यदि दम्पतीबीचको सम्बन्ध प्रगाढ छैन, आपसी असमझदारी छ भने त्यसको प्रभाव उनीहरुको यौन जीवनमा पर्छ । ठीक यसैगरी यौन जीवन सुमधुर नहुँदा उनीहरुबीचको भावनात्मक सम्बन्धमा पनि खल्लोपन महसुस हुन्छ । अर्थात् यी एकअर्कासँग अभिन्न रुपले जोडिएका छन् ।

यस्ता यौन समस्याले कसरी मानसिक स्वास्थ्यमा असर गर्छ भन्ने जान्नु भन्दाअघि यौन र मस्तिष्कबीचको सम्बन्धबारे जान्नु आवश्यक हुन्छ ।

यौन र मस्तिष्कबीचको सम्बन्ध

हामीमध्ये धेरैजसोलाई लाग्न सक्छ- यौनक्रिया शरीरले गर्छ । तर यो सत्य होइन । यौनबारे सोच्नेबित्तिकै महिला र पुरुषको मस्तिष्कमा आउने भावना र विचारले उत्सुकता ल्याउँछ । र, यसले अवधि बढाउने, घटाउने, उत्तेजित पार्ने र शरीरलाई चलायमान राख्छ ।

मन र तनको तालमेलले यौन सन्तुष्ट दिन्छ । र, चरमसुख दिन्छ । यौन सम्बन्ध राम्रो छ भने यसले एकछिनको आनन्द मात्र होइन, मानसिक स्वास्थमा पनि योगदान दिइरहेको हुन्छ । यसले सकारात्मक प्रभाव दिमागमा पार्छ ।

कुनै कुराले दिमाग भारी भइरहेको छ वा मनमा अनेकौं विचारले चिन्ता भइरहेको छ भने यौन सम्बन्ध राखेको केही समयमै दिमागमा आनन्द र आराम दिने हार्मोन अक्सिटोसिन र इन्डोर्फिन निष्कासन गर्छ । जसकारण दिमाग शान्त हुँदै आफूलाई हल्का भएको अनुभव गर्छ । र, राहत अनुभव गर्छ ।

तर यसको मतलब यो होइन कि तनाव कम गर्न यौनक्रिया नै गर्नुपर्छ । यौनक्रिया गर्दा दिमागका यस्ता न्युरोट्रान्समिटरहरु सक्रिय हुन्छन् । र, दम्पतीबीच सामीप्य बढाउँछ ।

निद्रामा सुधार ल्याउँछ

यौन सम्बन्धले मांसपेशीलाई आराम दिन्छ । जसले गर्दा व्यक्तिलाई मीठो र गहिरो निद्रा पार्छ । यसरी निद्रा पर्नु पनि मानसिक स्वास्थ्यदेखि शरीरका लागि पनि फाइदाजनक हुन्छ ।

नकारात्मक असरहरु

यौन आकर्षणमा कमी, यौन विफलता वा सम्भोगमा समस्याले असमानता, निराशा र आत्मसम्मानको कमी गराउन सक्छ ।

जब यौनसम्पर्क राम्रोसँग हुँदैन । सन्तुष्टि मिल्दैन भने यसले दिमागमा तनाव सिर्जना गर्छ । यसरी धेरै तनाव लिने र नजिकको साथीसँग खुलेर कुरा गर्न निस्कँदा बिस्तारै चिन्ता, भय, डिप्रेसन हुने सम्भावना हुन्छ । आज धेरैजसो सम्बन्धविच्छेदको घटना पनि यौन समस्याकै कारण हुने गरेको देखिन्छ ।

दोस्रो, यौन समस्याले घरेलु झगडा पनि ल्याउँछ । यौन इच्छाको पूर्णता नहुने वा बिस्तारै यौन सम्बन्ध नहुने र बिस्तारै बोलचाल नहुने वा बोल्न मन नलाग्ने हुँदै सम्बन्ध चिसिन थाल्छन् । परिणामस्वरूप, दिमागमा कुरा खेल्ने, कुनै कुरामा केन्द्रित रहन कठिन हुने, मनमा एक किसिमको भय हुने र मनोबलको कमी हुनसक्छ ।

मानसिक समस्याले पनि यौन जीवन बिगार्न सक्छ

यौन जीवनमा समस्या हुँदा मानसिक स्वास्थ्य बिग्रिने मात्र होइन । कतिपय अवस्थामा मानसिक समस्याले पनि यौन जीवन बिगार्न सक्छ ।

आर्थिक भार, बेरोजगारी, काम र व्यक्तिगत जीवनको असन्तुलन, शिक्षा, समाजिक दबाबको कारण कतिपय व्यक्ति हरदिन तनावमा हुन्छन् । यस्ता समस्याबाट बाहिर आउन नस्कदा यौन जीवनमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा असर गरिरहेको हुन्छ ।

तनावले गर्दा व्यक्तिमा यौन चाहना नै कम गराउन सक्छ । यस्ता समस्याले यौन साथीसँग नजिकिन, बस्न र यौन आकर्षण कम हुन थाल्छ । यौन सम्बन्ध राखिहाले पनि त्यसबाट पूर्ण आनन्द प्राप्त नहुन सक्छ ।

साथै, यौनाङ्ग उत्तेजित नहुने, शिघ्रपतन हुने वा स्खलन ढिलो हुने र त्यही कुराले दैनिक जीवनमा प्रभाव पार्न सक्छ । जबसम्म मानसिक र भावनात्मक रुपमा व्यक्ति बलियो हुँदैन । तबसम्म यौन सन्तुष्टि मिल्न असम्भव हुन्छ ।

चिन्ताको समस्या हुनेहरुमा पनि शीघ्र स्खलन हुने सम्भावना बढी हुन्छ । अन्तर्राष्ट्रिय जनरल नेचर डटकमका अनुसार ३७ प्रतिशत चिन्ताको समस्या भएका पुरुषमा शीघ्र स्खलनको समस्या हुन्छ । उनीहरुले यौनक्रियामा पनि राम्रो प्रदर्शन गर्न कठिनाइ हुन्छ ।

के गर्न सकिन्छ ?

यदि कुनै स्वास्थ्य समस्याका कारण यौन जीवनमा बाधा भइरहेको छ भने तत्काल उपचारका साथै यौन जीवनमा परिरहेको नकारात्मक प्रभावको बारेमा मनोचिकित्सकसँग खुलेर कुरा गर्नुपर्छ । ताकि, मनोपरामर्श, स्वविवेक र औषधि उपचारले अवस्था सहज बन्न सकोस् ।

साथै, कुनै मानसिक वा अन्य समस्या भए वा यौनआसनकै बारेमा पनि आफ्नो यौनसाथीसँग कुनै पनि कुरा नलुकाई खुलेर कुरा गर्नुपर्छ । यसरी कुरा गर्दा पार्टनरले मानसिक अवस्थालाई राम्रोसँग बुझेर सहज पार्न मद्दत हुनसक्छ ।

यौन जीवनमा मानसिक रोगको नकारात्मक प्रभावको बारेमा सधैं सोच्नुको सट्टा आफ्नो भावनालाई आफ्नो पार्टनरसँग खुलेर व्यक्त गर्न, आफ्नो पार्टनरसँग हाँस्न र ठट्टा गर्न सिक्नुहोस् । र, आफ्नो जीवनशैलीमा पनि सुधार ल्याउनुहोस् । जस्तै- घुम्न जाने, उपहार आदानप्रदान गर्ने, आफ्नो ग्रुमिङमा ध्यान दिने,  यौनसाथीको काम वा सुन्दरताको तारिफ गर्ने समय धेरै बिताउने जस्ता क्रियाकलाप पनि समावेश गर्न सकिन्छ । यसले भावनात्मक बन्धनलाई बलियो बनाउँछ । र, सम्बन्ध घनिष्ठ रुपमा पनि सुधार हुन थाल्छ ।

डा. ऋत पौडेल मानसिक स्वास्थ्य यौन जीवन
डा. ऋत पौडेल
लेखक
डा. ऋत पौडेल
मनोचिकित्सक तथा यौनविद्

डा. पौडेल काठमाडौंस्थित वीरेन्द्र सैनिक अस्पताल र क्लिनिक नेपालमा कार्यरत छन्। उनले मनोचिकित्सामा एमडी र फेलोसिप साइको-सेक्सुअल मेडिसिन मा गरेका छन्। नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ९९२० हो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

अचानक चक्कर आउनु कस्तो स्वास्थ्य समस्याको संकेत हो ?

अचानक चक्कर आउनु कस्तो स्वास्थ्य समस्याको संकेत हो ?